Sunday 18th of August 2019

राजनीतिमा आफन्तवादको हालिमुहाली चरम रुपमा रहेको छः भुवन आचार्य

डेढ दशक भन्दा लामो समय अर्थात् विद्यार्थीकाल देखि राजनैतिक क्षेत्रमा होमिइ हाल समाज सेवाको क्षेत्रमा पनि क्रियाशील रहनु भएका हाल अनेरास्ववियू त्रिवी राष्ट्रिय कमिटिको सह–सचिवको रुपमा काम गर्दै गरेका युवा विद्यार्थी नेता भुवन आचार्यसँग सविता रोक्काको सहयोगमा प्रकाश न्यौपानेले कुराकानीको सप्पादित अंश) –सम्पादक

तपाईको पूरा परिचय दिनुहोस् ?

मेरो नाम भुवन आचार्य । रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नंं ५ साविक सुनारपानी गाविस मेरो स्थायी ठेगाना हो । बाबु भिष्मराज आचार्य र आमा अम्बिकादेवी आचार्यको तेस्रो सन्तान तथा दोस्रो छोराको रुपमा ४० को दशकमा मेरो जन्म भएको हो । मेरा एक दाजु एक भाइ र एक दिदी हुनुहुन्छ।

विद्यार्थी राजनीतिबाट अहिलेको देशको राजनैतिक परिवर्तन, नागरिकहरुका सुख, चैन र सुव्यवस्थाका लागि के कस्ता सपना देख्नु भएको छ ?

हाल म अनेरास्ववियू त्रिवी राष्ट्रिय कमिटिको सह–सचिवको रुपमा काम गरिरहेको छु । संवत् २०६० सालदेखि अनेरास्ववियूको विभिन्न कमिटिहरुमा आवद्धता भएर हाल सम्म पनि विद्यार्थी राजनीतिमा नै सक्रिय भएर काम गरिरहेको छु । यतिबेलाको राजनीतिमा आफन्तवादको हालिमुहाली चरम रुपमा रहेको छ । कुनै नेताको खुट्टा नढोगी राजनैतिक मूलधारमा आएर आफ्नो राजनैतिक भाव दर्शाउन नसकिने भन्ने खालको जुन मानसिकता व्यवप्त छ, सो मानसिकतालाई राजनैतिक प्रशिक्षण, विचार र सिद्धान्तको आधारमा आफ्नो क्षमताको आधारले पनि राजनैतिक मूल धारमा आउन सकिन्छ भन्ने विश्वसा मैले लिएको छु । हिजोदेखिका मेरा राजनैतिक यात्रा र संघर्षले हेर्दा मेरो युवा मानसिकतामा यो देशका नागरिकहरुको सुखद् भविश्य र अमन चैनका लागि सबै विद्यार्थी, मजदुर, किसान, समाजमा विविध वर्ग र समुदायका युवा सहकर्मीहरु एकै ठाउँमा उभिनु पर्छ । देशको आवश्यकता भनेको नै अब युवाहरुको क्रियाशीलता हो भन्ने मेरो बुझाइ हो । यसैका लागि विभिन्न तह र तप्काबाट सबै युवा साथीहरुलाई यस्तै खालको अपिल पनि मैले गर्दै आएको छु । जो जुनसुकै ठाउँबाट उठेको भएता पनि सबैको लक्ष्य भनेको नै नेपाली नागरिकहरुको मुहारमा खुशी र समृद्धि हो भन्ने मेरो सपना छ । यसैका लागि म अहोरात्र खटिरहेको छु ।

हाल देशको बागडोर सम्हालिरहेका नेतृत्व तथा विद्यार्थी नेताहरुको कार्यगत स्पिडमा कस्तो भिन्नता पाउनु हुन्छ ?

राष्ट्रिय मूलधारका पार्टीहरुलाई सहि दिशा र उचित गन्तव्य पहिल्याउनका लागि सघाउ पु¥याउने प्रमुख सल्लाहकार भनेको नै विद्यार्थी हो । पुरानो पुस्ता र नयाँ पुस्तामा भिन्नता त जरुर हुन्छ नै । हिजो निरंकुश राज्यसत्ताको विरुद्धमा जेल र नेल भोगेका पुराना पुस्ताका नेताहरुमा हामी जस्तो नयाँ त्यो पनि विज्ञान र प्रविधिमा पोख्त पुस्ताको स्पीड एउटै हुन्छ भन्ने त होइन । तर पनि उहाँहरुको हिजोको त्याग र समर्पणलाई अनुभवका रुपमा सिक्दै आजका पुस्ताको क्षमतालाई राजनैतिक कार्यशैलीमा छिराउन सक्ने हो भने नेपाल कम्युनिष्ट पार्टीको सुखद् भविश्य छ । हामी जस्ता युवा विद्यार्थी नेताहरु सोही कार्यशैलीलाई अबलम्बन गराउन बेहद क्रियाशील भएर लागिपरेका छौं ।

तपाईं विद्यार्थी नेता हुनुको भावले पनि अहिले सम्म बुझ्नु भएको राजनीति के हो ? विश्व परिवेशमा नै नियाल्ने हो भने ?

संसारको सबैभन्दा कुशल नीति भनेको नै राजनीति हो । सेवा भाव पनि राजनीति नै हो । राजनीति यस्तो अस्त्र हो जसले जुनसुकै समस्याको पनि हल सजिलै निकाल्न सक्छ । राजनीतिमा कसैले कसैलाई निषेध गरेर जाने भन्ने हुँदैन । सबैसँग समदूरीको सम्बन्ध स्थापित गरेर नै राजनीतिमा राज गर्न सकिन्छ । नागरिकहरुको कोणबाट नियाल्ने हो भने पनि दैनिक जीवनको आवश्यकताहरुको सहज पहुँच नै राजनीतिको पहिलो सफलता हो । त्यसपछिका दीर्घकालिन उपलब्धी, जसले यो पुस्ता मात्रै होइन पछिल्लो पुस्तालाई समेत सहजता दिलाओस्, त्यो चाहिँ दोस्रो सफलता हो । यस्तै किसिमले नागरिकमैत्री भएर नागरिकलाई केन्द्रमा राखी गरिने क्रियाकलापहरु नै राजनीति हो भन्ने मेरो बुझाइ रहेको छ । अर्को कुरा, म विद्यार्थी तहबाट राजनीतिमा आएको हुँ । यसको अर्थ मैले विद्यार्थी हित र सद्भावका लागि केही सोचिँन भन्न मिल्दैन । नागरिकहरुका दैनिक आवश्यकताको सहज आपूर्तिमा नै विद्यार्थीका हितका कुराहरु पर्दछन् । जस्तो शिक्षा, स्वास्थ्य, खाद्यान्न, लत्ताकपडा, स्वतन्त्रता, अपनत्व सबै सबै नागरिक वृत्तमा पुग्दा विद्यार्थीको वृत्तमा पनि पुग्न सक्छन् । युवा विद्यार्थीहरुको विद्यालय तथा कलेजगत अधिकारका कुराहरु पनि कम चानचुने छन् भन्ने हुँदैन । तिनका लागि नै हामी जस्ता विद्यार्थी नेतृत्वहरु लडिरहेका छौं ।

विद्यार्थी राजनीतिको परिवेशलाई नियाल्दै जाँदा सुरुसुरुमा सबै जसो युवा विद्यार्थीहरु राजनीतिको क्रियाकलापमा सक्रिय रहने, योगदान दिने तथा क्रियाशीलता देखाउने गर्दछन् । पछि एकादुई अझ भन्दा औंलामा गन्न सकिने व्यक्ति मात्रै राजनीतिको मूलघारमा पुग्छन् नि ? किन यस्तो हुन्छ ?

पहिलो कुरा त हाम्रो राजनीतिको वर्तमान् अवस्था पैसामुखी भएको छ । जो सँग धेरै पैसा छ, त्यो माथि पुग्ने र पैसा कम हुनेहरु माथि उक्लिनै नसक्ने अवस्था छ । त्यो मन्त्रीहुँदा खर्च गर्ने गरिएको पैसाको कुरा गर्न खोजको होइन । एउटा सामान्य क्याम्पस तहमा स्ववियू चुनावको बेलामा पनि पैसाको दब्दबा बहुल हुने गर्दछ । यस्तो अवस्थामा पैसा नभई निष्ठाको राजनीतिक भावले उदाएका साथीहरु पछि पर्नुभएको छ । कति धेरै सम्भावना बोकेका साथीहरु पनि यतिबेला मैले फर्केर हेर्दा राजनीतिबाट नै हराएको देखेको छु । यो परिपाटी नै गलत छ । सबै चुनावमा पैसाको मात्रै हालिमुहाली हुने भन्ने चाहिँ फेरि हुँदै होइन । धेरै स्ववियू चुनावहरुमा यस्तै अविगत छ । धेरै क्षेत्र वर्ग र समुदायबाट आएका सम्भावना बोकेमा विद्यार्थी साथीहरु यस्तै पैसामुखी परिपाटीका कारणले पछि परेर राजनैतिक मुलधारमा आउन सकेका छैनन् ।

के त्यसो भए तपाईं पनि पैसा खन्याएरै यो अवस्थामा आएको भनेर बुझे हुन्छ ?

त्यो पनि सहि बुझाई होइन । मैले अघि नै भनें सबै ठाउँमा पैसा नै सबैथोक हो भन्ने हुँदैन । मैले जति सफलता पाएँ राजनीतिमा त्यो मेरो त्याग, संघर्ष र समर्पणको कारणले भएको हो । म जहाँजहाँ राजनीतिका लागि चुनाव लडें, त्यहाँ त्यहाँ कुशल र देशको सपना छातीमा बोकेर हिँड्ने साथीहरुको साथ पाएँ । पैसाको खोलो बगाएर राजनैतिको सपना मैले कहिल्यै देख्नु परेन । पैसा लिएर भोट बेच्ने भन्दा पनि सही नेतृत्वका लागि मतदान गर्ने भन्ने भाव बुझ्ने विद्यार्थी साथीहरुको साथको कारणले नै मैले विद्यार्थी राजनीतिमा सफलता पाएको हुँ र यो सफलताको श्रेय पनि उनै विद्यार्थी साथीहरुलाई मैले दिनेगरेको छु ।

नेकपाको राजनैतिक इतिहास, जो स्थापना कालदेखि हालसम्म आइपुग्दा यो देशको कम्युनिष्ट राजनीति निष्ठामा आधारित छ कि व्यक्तिमा ?

हिजोदेखि यतिबेला सम्म आइपुग्दा राजनीति व्यक्तिको हो या निष्ठाको भनेर बहस गर्ने बेला यो होइन । बेलाबखत समयको चङ्गुलमा राजनीति फस्दाको ताका व्यक्तिवादी राजनीति पनि भएनन् त्यो म भन्दिन । तर सारमा हेर्ने हो भने अहिले सम्म नेपाल कम्युनिष्ट पार्टी राजनीति निष्ठा अर्थात् विचार र सिद्धान्तकै आधारमा भइराखेको छ । यदि निष्ठा यानेकी सिद्धान्त र विचारको आधारमा नहुँदो हो भने हाल यो आकार नेकपाको हुने थिएन । कुनैबेला एकछत्र राज गरिरहेको तत्कालिन माओवादीहरुले समेत एकै विचार र अवधारणा बोकेर फरक फरक कित्तामा उभिनु हुँदैन । नेपालका कम्युनिष्टहरु एक हुनुपर्छ भन्ने सोच तत्कालिन एमाले र माओवादी दुबैले बोकेको कारणले गर्दा पनि यतिबेला व्यक्ति होइन विचार नै प्रधान हुन्छ भन्ने कुरा जनवृत्तमा गइरहेको छ । राजनीति भनेकै विचारमा अडिने चिज हो । कुनै न कुनै व्यक्ति अगाडि आउनु त स्वभाविकै हो । जस्तो अहिले नेकपाको मूलधारमा प्रचण्ड र ओली हुनुुहुन्छ । उहाँहरु मूलधारमा आउनु भयो भन्दैमा नेकपा नै उहाँहरु हो र ? उहाँहरुलाई त्यो ठाउँमा पु¥याउने सिलसिलामा बलिदानी भएका तथा संघर्ष गरिरहेकाहरुको वास्तविकता पनि त कम चोटिलो छैन नि ।

यो देशका कुनै पनि पार्टीहरुलाई नै नियाल्दा पनि सबै वयोवृद्ध नेतामात्रै पार्टीको अध्यक्ष भएर रहेको अवस्था छ । त्यो अवस्थामा तपाईंजस्ता युवाहरु राजनीतिको मूलधारमा आएर राज्यको बागडोर सम्हाल्न किन सकिरहनु भएको छैन ? कि दिँदैनन बुढा नेताहरुले ?

यो एकदमै सही र गम्भिर प्रश्न हो । यो निकै पुरानो राजनैतिक अभ्यास हो नेपालको सन्दर्भमा । खासगरी कम्युनिष्टमा भन्दा पनि काँग्रेसमा लागु भइरहेको छ यतिबेला चैं । मेरो पनि के धारणा हो भने उमेरले ५० वर्ष काटेपछि त अनिवार्य राजनीतिबाट अबकास लिएर सल्लाहकारको भूमिकामा बस्नुपर्छ जो कोही नेता पनि । नेकपामा यो अभ्यास पनि हुँदैछ । उमेर, सोच, समकालिन विश्व तथा अन्य सान्दर्भिक परिवेशको कारणले पनि युवा भन्दा वृद्धहरु पछि नै हुन्छन् । समय दिन दुगुना रात चौगुनाको दरले परिवर्तन हुँदैछ । त्यो परिवर्तनलाई पाको सोचले छिचोल्न नै सक्दैन । युवाहरुमा दूरदर्शन हुन्छ, भिजन मिसन र गोल पनि युवाहरुले नै चुम्न सक्छन् । वृद्ध हरुले त युवाहरुलाई गलत बाटोमा गई दुर्घटना हुन लाग्यो भने सही बाटोमा ल्याउन सारथीको काम गर्न सक्नु पर्दछ । हामीमा अभ्यास हुँदैछ । मलाई लाग्छ, केही समयमा नेकपा भित्र यो युवा अगाडि आउने अभ्यास अबका केही वर्षभित्र पक्कै पुरा हुन्छ । बुढाहरुले युवाहरुलाई नदिएको भन्ने होइन । हामी युवाहरु अगाडि आउने प्रक्रियामा छौं नै ।

स्थानीय सरकारको गठन पछि सरकारको आजको दिनसम्म आइपुग्दाको अवस्थालाई तपाईं जस्ता युवाहरुको सोचले हेर्दा अहिलेको सरकार सफल हो कि असफल ?

अहिलेको सरकार त ‘हन्ड्रेड पर्सेन्ट’ सफल छ । कुनैपनि कामको रिजल्ट आउन समय त लागिहाल्छ । नेपालका ७७ वटै जिल्लामा विकास निर्माणका कामहरु द्रुत गतिमा भइरहेका छन् । सरकारको सँधै आलोचना तथा कुहिएका मानसिकता बोकेका आँखाले मात्रै केही नभएको देख्ने हो । प्रतिपक्षका आँखाले त सरकारको खोइरो खन्ने चलन नेपालको पुरानै हो । प्रतिपक्षको धर्म नै आलोचना गर्ने हो भनेर बुझ्ने मानसिकताका कारणले गर्दा सरकारको कार्यशैली नराम्रो देखिएको हो । यस्तो मानसिकता बोकेपछि राम्रो भएको देखिएता पनि नराम्रो भन्नु कतिपयको वाध्यता पनि भएको होला । तर समग्रमा भन्दा काम राम्रो हुँदैछ सरकारको । केही समयमा नै छिट्टै रिजल्ट आइ पनि हाल्छ । समय हो कुर्न सक्नु पर्दछ । अन्तर्राष्ट्रिय विमानस्थल देखि लिएर रेल र पानीजहाजका कामहरु पनि अगाडि बढिरहेका छन् । त्यसै पनि भूकम्प पुर्ननिर्माण समयको उत्तरार्ध भएकोले पनि त्यस्ता क्षेत्रमा पनि समय दिनु परिरहेको छ । त्यसैले सरकारको गति गतिवान छ । यसमा कसैले संशय लिनुपर्ने अवस्था छैन ।

सरकारको कार्यशैली र गति कमजोर छ भनेको पनि सुनिन्छ नि जनस्तरमा ? यो सत्य हो त ?

नागरिकहरुको स्तरबाट आएका यस्ताखाले गुनासोको सम्मान गर्नु पर्छ । तर नागरिकहरुलाई कस्ता व्यक्तिहरुले यस्ता कुराहरु बुझाए भन्ने कुरा मुख्य हुन्छ । कुनै ठाउँमा बाटोमा एउटा खाल्डो देखियो भनेर सरकारलाई गाली गरेर हुन्छ ? ती भन्दा कत्राकत्रा खल्डा पुर्ने काममा सरकार लागेको छ । त्यो कामलाई देखिएन भने देख्ने भनेको नै यस्तै सानासाना खाल्डाखुल्डी त हो । नागरिकहरुले विस्तारै बुझ्ने छन् । जब बुझ्नेछन् तब मात्र यो सरकारको सफलताले अर्को एक उचाई पाउनेवाला छ । विरोधीहरुको विरोधको हुबहु पछि लाग्ने हो भने त उनीहरु केही भएकै छैन । सबकासब बसेर खाएका छन् भन्दिन्छन् । यस्तो कुरामा विश्वास गर्नु कति सम्म जायज हो आफैंले मूल्याङ्कन गर्नु पर्दछ ।

तपाईं त युवा हुुनुहुन्छ, के सही र के गलत हो सहजै छुट्याउन पनि सक्नु हुन्छ । त्यस्तो हुँदा आफ्नो पार्टीको राम्रोकुरा गर्ने मात्र नभई विपक्षी पार्टीका युवा नेताहरु पनि त क्रान्तिकारी सोचका नै होलान् नि ? राम्रा होलान् नि ? नेपाली काँग्रेसका क्रान्तिकारी सोच राख्ने नेताहरु चाहिँ कोको लाग्छन् नि तपाईंलाई ?

सही भन्नु भो । हामीले आफ्नो मात्रै राम्रो देख्ने र अरुको चाहिँ राम्रो पनि नराम्रो देख्ने आँखा कदापि बनाउनु हुँदैन । म पनि यो आँखाबाट टाढा छु भन्ने मलाई लाग्छ । विशेष गरी नेपाली काँग्रेसमा मलाई लाग्ने क्रान्तिकारी नेता मध्येमा विश्वप्रकाश शर्मालाई लिन सक्छु । उहाँले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो किटेर भनेको पाउँछु म ।

पछिल्लो समयमा नेकपाको एकता प्रकृया नै अधुरो भएको छ नि ? किन यस्तो भएको होला ?

मैले भनेँ नि समय भन्दा अगाडि कोही जानै सक्दैन । नेकपाको आकार निकै ठूलो र व्यापक छ । धेरै सन्तान भएको घरमा सानातिना विवाद र किचलो हुनु स्वभाविक हो । त्यस्ता विवाद र किचलोलाई सो घरका अविभावकहरुले निवारणगर्ने गर्दछन् । त्यस्तै हो नेकपामा पनि । पहिलो कुरा हामीले पदको लोलुपतालाई त्याग्न सक्नु पर्छ । फलाको तहको अध्यक्ष म नै हुनुपर्छ भन्ने भ्रम हामीले त्याग्न सक्नुपर्छ । नेकपाको जिल्ला तहदेखि नै यसको अभ्यास भइरहेको छ । मलाई लाग्छ, अध्यक्ष प्रचण्ड अमेरिकामा हुनुहुन्छ । उहाँ फर्किए लगत्तै पार्टी एकताको टुङ्गो लागिहाल्छ नै । तत्कालिन एमाले र एमाओवादीको एकता नभइदिए हुन्थ्यो, भाँडिए हुन्थ्यो र त्यसैमा राज गर्न पाइन्थ्यो भनेर सोच्ने दरिद्र मानसिकताले मात्रै यस्तो हल्ला फिँजाएका हुन् । पार्टी एकता हुन्छ । हुनेक्रम चलिरहेको छ । सतहमा नदेखिएको मात्रै हो । केही दिनमा त्यो पनि देखिन्छ । अनि पार्टी एकता नभइदिए हुन्थ्यो भन्नेको मुखमा पनि बिर्को लाग्छ ।

तपाईं सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्छ । विभिन्न समयमा भएका स्वास्थ्य सम्बन्धी कार्यक्रममा तपाईंको सक्रियता पूर्वक सहभागिता हुने गर्दछ । यति सानै उमेरमा समाजसेवाको भाव कसरी पैदा भयो ?

म हरेक प्रकारका दुःख र पिडाहरुलाई भोगेर राजनीतिमा आएको हुँ । मैले नागरिकहरुका दैनिदिन्द दुःखहरुलाई नजिकबाट नियालेको छु । नेपालको सबैजसो भूभागमा पुग्दा मैले एउटा सिटामोल पनि खान नपाएर मृत्युको मुखमा मान्छे पुगेको देखेर नै विशेषतः स्वास्थ्य क्षेत्रबाट समाजसेवाको बाटोमा आउनु पर्छ भन्ने मैले सोचेंं । त्यो भएर नै मैले आफूले चिनेका र मलाई सहयोग गर्न सक्ने विभिन्न औषधी क्षेत्रमा काम गर्ने साथीहरु तथा चिकित्सकहरुलाई अनुरोध गरेर विभिन्न हेल्थ क्याम्प पनि गरिरहेको छु । आउने वर्ष बैशाख महिनामा रामेछाप जिल्लाको पकरबासमा पनि हेल्थ क्याम्प गर्दैछु । राजनीतिलाई नै सेवाको आँखाले हेर्ने गरेको कारणले नै मैले स्वास्थ्य क्षेत्रमा सेवा गर्ने सोच बनाएको हुँ । अहिले पछिल्लो समयमा नै मैले १ करोड भन्दा माथिको औषधी र उपचारको डोनेशन मैले गरेको छु र गराएको छु । धेरै साथीभाइ तथा संघसंस्थाहरुले मलाई यस कार्यमा सहयोग गरिरहनु भएको छ । त्यसकै सिलसिलामा गोसाइकुण्ड, माउण्ट एभरेष्ट विद्यालय कपनमा पनि २ पटक हेल्थ क्याम्प संचालन गरेको छु । विगत भूकम्पको समयमा पनि गोरखा, सिन्धुपाल्चोक, सिन्धुली लगायतका जिल्लाहरुमा पनि धेरै मूल्य बराबरको औषधीहरु डोनेशन गराएको छु । सेवाको भावले नै अगाडि बढ्दा सर्वप्रिय बनिन्छ र यदि धर्म केही हो भने सेवा नै धर्म हो भन्ने सोचेर नै मैले यस्ताखाले कार्यहरु गर्ने गरेको हुँ ।

अबका सामाजसेवाका योजनाहरु के के छन् नि तपाईंका ?

मेरो अबको योजना भनेको देशका ७७ वटै जिल्लाहरुमा हेल्थ क्याम्प संचालन गर्ने हो । त्यसका लागि सो जिल्लाहरुका स्थानीय सरकारहरुको पनि साथ र सहयोग वान्छनीय रहन्छ । दुर्गम क्षेत्रका अझ भन्दा कर्णली पारीका जिल्लाहरुमा विभिन्न कारणले एउटा सुइ र सिटामोल समेत पुग्न सकिरहेको छैन । यस्तो अवस्थामा मैले केही औषधी र स्वास्थ्यकर्मी लिएर गाउँगाउँमा जान सकें भने पक्कै पनि थोरै भएपनि राज्यलाई सघाउ पुग्ने थियो भन्ने लागेको छ । लाखौं नेपाली नागरिकहरु आफूमा भएको रोगको बारेमा थाह समेत नपाएर मर्नु परेको आजको अवस्थामा कम्तिमा मलाई यस्तो रोग लागेको रहेछ । यो रोगको उपचार यस्तो हुँदो रहेछ भनेर उपाचार गराउन सकियो भने उसको आत्माले धन्यवाद् दिन्छ । गाउँगाउँका बुढा आमाबुबाको आर्शिवाद् पाइन्छ ।
हवस्, हुन्छ समय दिनुभो यो संवाद्का लागि तपाईंलाई धन्यवाद् ।
यहाँलाई पनि विशेष  धन्यवाद् । मेरा कुराहरु राख्ने समय दिनुभो ।

(वार्ताकार मालश्री राष्ट्रिय साप्ताहिक मन्थलीका सम्पादक हुन् ।)

प्रतिक्रिया दिनुहोस्