Sunday 15th of December 2019

दर्ता बिना नै महोत्सव, नियमक निकाय मौन

चितवन । कुनै पनि मेला, महोत्सव सञ्चालन गर्नुपुर्व स्थानीय प्रशासनसंँग अनुमति लिनुपर्ने हुन्छ भने, आन्तरिक राजर्श्व कार्यालयमा अनिवार्यरूपमा अस्थायी भ्याट दर्ता गनुपर्ने हुन्छ । तर, चितवनको भरतपुरस्थित केन्द्रीय बस टर्मिनल नजिक राष्ट्रिय सहकारी विकास बोर्डको खाली मैदानमा २०७५ चैत ३ गतेदेखि सुरू भएको पाँचौँ भरतपुर महोत्सवले आन्तरिक राजस्व कार्यालयमा दर्ता नै नगरी महोत्सव सञ्चालन गरिरहेको तथ्य फेला परेको छ ।

मूल्य अभिवृद्धि कर ऐन २०५२ को संशोधन २०७५ दफा १० (क) मा अस्थायी दर्तासम्बन्धी विशेष व्यवस्था गरिएको छ । विशेष व्यवस्थाको १ नम्बरमा ‘अस्थायी रुपमा आयोजना गर्ने कुनै पनि प्रदर्शनी, मेला तथा अन्य यस्तै कारोबारका हकमा कारोबार सुरू हुनुभन्दा अगावै आयोजक तथा त्यस्तो आयोजनामा कर लाग्ने वस्तु वा सेवाको कारोबार गर्ने मूल्य अभिवृद्धि करमा दर्ता नभएको व्यवसायी तोकिएबमोजिम मूल्य अभिवृद्धि करमा अस्थायी दर्ता हुनुपर्नेछ’ भनी उल्लेख गरिएको छ । तर, महोत्सवका आयोजक त्यस्को कुनै प्रवाह गर्दैनन् । यस अगाडि पनि चितवनमा हुने मेला महोत्सवमा आयोजक पक्षले राजर्श्व कार्यालयमा दर्ता नै नगरी मेला, महोत्सवको आयोजना गर्ने गरिएपनि राजर्श्व कार्यालयले कुनै एक्सन लिएको छैनन् ।

अस्थायीरुपमा आयोजना गरिने मेला, महोत्सवहरु आन्तरिक राजस्व कार्यालयबाट अस्थायी भ्याट नम्बर लिएर सञ्चालन गर्नुपर्ने भए पनि भरतपुर महोत्सवले राजस्व कार्यालयमा जानकारीसमेत नगराएको दाबी आन्तरिक राजस्व कार्यालय, भरतपुरका प्रमुख कर अधिकृत शुभप्रसाद रिजालले गरेका छन् । तर, उनले महोत्सव करको दायरामा नआएकाले करको दायरामा ल्याउने कोशिस भने गर्ने बताएका छन् । यसरी हेर्दा भरतपुर महोत्सवले सरासर कर छली गरेको पाइएको छ ।

धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई नाफाको २५ प्रतिशत बजेट सहयोग गर्ने उद्देश्यले सुरु गरिएको भनिएको महोत्सवका बिषयमा चितवनका प्रमुख जिल्ला अधिकारीसित महोत्सव सञ्चालन गर्नुपुर्व स्थानीय प्रशासनसंग अनुमती लिनु पर्दैनन् भन्ने प्रश्नमा उनले अनुमती लिनुपर्ने बताए । उनले महोत्सव आयोजनक पक्षहरूले भरतपुर महानगरसँग अनुमती लिएकोले महानगरको पत्राचार अनुसार आफुहरुले सुरक्षा उपलब्ध गराउन निर्देशन मात्रै दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्