Monday 22nd of April 2019

चर्को अन्तरद्वन्द्वमा विप्लव समूह: बहिर्गमनको मूडमा प्रकाण्ड

काठमाण्डौं । विप्लव नेतृत्वको नेकपामाथि सरकारले प्रतिबन्ध लगाएपछि प्रहरीले उसका पाँच सय बढी नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेमा स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुदर्शन देखि किसान संगठनका केन्द्रीय अध्यक्ष राजु कार्कीसम्मका नेता रहेका छन ।
सुदर्शन पार्टीमा दोश्रो बरीयताका नेता हुन । उनलाई मध्य कमाण्डको जिम्मेवारी दिइएको थियो । प्रहरीले सुदर्शनलाई नौ जना कार्यकर्ता सहित २०७५ चैत ८ गते काभ्रेबाट पक्राउ गरेको थियो ।

फागुन २८ गते सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । प्रतिबन्धको निर्णयपछि प्रहरी प्रशासनले विप्लवका नेता तथा कार्यकर्ताको धडपकडलाई तीब्रता दिएको छ ।

प्रतिबन्ध यता दर्जनौ नेता तथा कार्यकर्ता पक्राउ परिसकेका छन । तर, विप्लव समूहले सरकारको एक्सनलाई काउन्टर दिने खालको कुनै रियाक्सन गर्न सकेको छैन । लगातार क्षतीमात्र बेहोरिरहेको अवस्था छ ।

सुरक्षा खतराका हिसावले विप्लव समूहका कार्यकर्ताहरुलाई सरकारले तीन तहमा बर्गीकरण गरेको छ । पहिलोमा पूर्णकालीन नेता तथा कार्यकर्ताहरु, जसमा केन्द्र देखि स्थानिय तहसम्मका नेताहरु, पूर्व जनमुक्ति सेनाका सदस्यहरु दोश्रोमा विद्यार्थी मजदुर तथा विभिन्न जनवर्गिय संगठनका नेता तथा कार्यकर्ताहरु र तेश्रो तहमा पत्रकार, लेखक, साहित्य, सांस्कृतीकर्मी र बुद्धिजीवी रहेको सुरक्षा श्रोतको भनाई छ ।

यसअघि पक्राउ परेका नेता तथा कार्यकर्ताहरु सर्वोच्च अदालतको आदेशबाट रिहा हुने गरेकोमा अव विप्लव समूहका नेता तथा कार्यकर्ताहरुकालागि अदालतको ढोका पनि बन्द हुने संकेत देखापरेको छ ।

प्रतिबन्ध अघि पक्राउ परेका किसान संगठनका केन्द्रीय अध्यक्ष राजु कार्की र अर्का नेता केदार खतिवडालाई गैरकानूनी थुनामा राखेकोले रिहा गरिपाउ भनि बन्दीप्रत्यक्षीकरण रिट दायर गरिएको थियो । तर, सर्वोच्चले उक्त रिट खारेज गरेसंगै विप्लव समूहलाई अदालतको कानूनी उपचारको बाटो पनि बन्द भएको रुपमा बुझिएको छ । रिट खारेजीलाई न्यायालयले देखाएको हरियो झण्डाका रुपमा सरकारले बुझेको छ ।

सरकारी सुरक्षा एजेन्सीको बर्गीकरणमा तेश्रो पंक्तिमा रहेका पत्रकार बुद्धिवीवीहरुबाट अधिक खतरा रहेको सरकारी बुझाई छ । प्रत्यक्ष रुपमा हिंसात्मक गतिबिधिमा संलग्न नभए पनि उनीहरुका गतिबिधिले ुमास एट्रयाक्सनु मा बढी नै मद्दत पुग्ने निष्कर्ष निकालेको सुरक्षा अधिकारीहरुको धारणा छ ।

सरकारी सुरक्षा निकायहरुले विप्लव समूह निकट पत्रकार र सञ्चारमाध्यमका गतिबिधिमाथि सूक्ष्मरुपमा निगरानी गरिरहको बताएको छ । नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा प्रशारणमन्त्री गोकुल बास्कोटाले पनि विप्लव समर्थित सञ्चार माध्यमहरुमाथि निगरानी बढाइएको सम्बन्धमा राजधानीमा आयोजित एक कार्यक्रममा बोलेका थिए । उनले ती संञ्चार माध्यमको नाम नलिए पनि संख्या भने ६ वटा रहेको बताएका थिए ।

विप्लव समूह निकट सञ्चारमाध्यमलाई खतरा

विप्लव समूहमाथि प्रतिबन्ध लगाए लगत्तै सरकार उक्त समूह निकट सञ्चारकर्मी तथा पत्रकाहरुप्रति निर्मम ढंगले प्रस्तुत हुन खोजिरहेको छ ।
उच्च प्रहरी स्रोतका अनुसार, सञ्चार मन्त्रीले पहिलो चरणमा निगरानीमा राखेका विप्लव निकट सञ्चार माध्यमहरुमा पार्टीको मुखपत्र ईरातो खबर डटकम छ । पुराना बामपंथी पत्रकार अशोक सुवेदी सम्पादक रहेको यो अनलाईन न्यूज पोर्टल पार्टीका नेता तथा बामपंथी लेखक गुणराज लोहनीको नेतृत्वमा सञ्चालित छ ।

यसैगरी खुम्बु चन्दको व्यवस्थापनामा राजधानीको अनामनगरमा कार्यालय रहेको रेडियो मिर्मिरे ९४ थोप्लो ४ लाई पनि सुरक्षा निकायले निगरानीको सूचीमा राखेको छ ।

सुदर्शन मंगोल अध्यक्ष रहेको न्यूज पोर्टल जनपाटी डट नेट, पत्रकार महासंघका पूर्व सचिव रहिसकेका प्रभात चलाउने प्रधानसम्पादक रहेको ननस्टप खबर डटकम, इमान्दार मिडिया प्रालिद्वारा पत्रकार कमल बुढाको व्यवस्थापनमा सञ्चालित संचार केन्द्र डटकम र धनन्जय बुढा सम्पादक रहेको अनलाइन डबली डटकमलाई पनि सरकारले निगरानीमा राखेको सरकारी सुरक्षा स्रोतको दाबी छ ।

उसो त विप्लव निकट रहेर सञ्चारकर्म गरिरहेका दर्जर्नौ सञ्चारमाध्यमहरु देशभरी सञ्चालनमा छन । तर, हाललाई यी ६ सञ्चार माध्यमलार्ई कडा निगरानीमा राख्ने निर्देशन सरकारले दिएको उच्च सुरक्षा अधिकारीको भनाई छ ।

पार्टी प्रतिबन्धको करीब दुई साता यता विप्लव निकट पत्रकारहरुलाई काठमाण्डौंमा सुरक्षा निकायले धरपकड नगरेपनि कर्णाली प्रदेशको कालिकोटमा सञ्चारकर्मी कर्ण बिकलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ ।

सदरमुकाम मान्ममा रहेको रेडियो कर्णालीको स्टुडियोभित्र हतियारधारी प्रहरी प्रवेश गरी सञ्चारकर्मी बिकलाई पक्राउ गरेको घटनाले विप्लव निकट पत्रकार तथा सञ्चारकर्मीहरुलाई पक्राउ गरी मुद्दा चलाउन सक्ने संदेश सरकारले पत्रकारपंक्तिमा दिएको छ ।

प्रकाण्ड बहिर्गमनको मूडमा

महासचिव नेत्र विक्रम चन्दसंग सम्बन्ध नसुध्रिएमा पार्टीबार्ट बहिर्गमन हुने मुडमा खडग बहादुर विश्वकर्मा ुप्रकाण्डु रहेको खबर बाहिरिएको छ । विप्लव र प्रकाण्डबीचको सम्बन्ध अझै सुध्रिन नसकेको अवस्थामा सरकारले विप्लव समूहमाथिको धडपकडलाई तीब्रता दिइरहेका बेला प्रकाण्डले पार्टी छाडने मनस्थिति बनाउनुले विप्लव आन्दोलनलाई क्षती पुग्ने नेता तथा कार्यकर्ताको विश्लेषण छ ।

मध्यकमाण्ड इन्चार्ज समेत रहेका हेमन्त प्रकाश ओली सुदर्शन पक्राउ पर्नु, प्रकाण्डसंगको सम्बन्धमा सुधार नआउनु र पार्टी र जनबर्गीय संगठनहरुमा पैदा भएका आन्तरिक विवाद समाधान भइनसकेको हु“दा महासचिव नेत्र विक्रम चन्द विप्लवलाई मोर्चामा कठिनाई भएको अनुमान गरिएको छ ।

२०७५ साउन २२ गते पक्राउ परेर असोज ९ गते सर्वोच्चको आदेशबाट रिहा भएका प्रकाण्डमाथि पार्टीभित्र दर्जनौ आरोप रहेका छन ।

विभिन्न व्यवसायी तथा उद्योगपतिहरुबाट उठाएको करोडौ रुपैया“ चन्दाको विवरण पार्टीमा नबुझाएको, पार्टीमा गुटबन्दी गरेको र जनबर्गीय संगठनका समानान्तर कमिटी निमार्ण गरेको लगायतका आरोपका कारण प्रकाण्ड जेलमक्त भएयता पार्टीमा एक्लिएको विप्लव समूहका नेताहरुको भनाई छ ।

महासचिव विप्लवसंग सम्बन्ध सुधार नभए सत्ताधारी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा प्रकाण्ड समूह प्रवेश गर्ने तयारी भइरहेको श्रोतको दाबी छ ।

प्रचण्ड र ओली नेतृत्वको नेकपासंग प्रकाण्डले स्थायी कमिटी सदस्यको हैसियत माग गरेको बताइन्छ । यसैगरी नेकपाले रेस्पोन्स नगरेमा नयाँ शक्ति पार्टीमा पनि प्रवेश गर्नसक्ने संभावना रहेको श्रोतको भनाई छ ।

प्रकाण्ड पक्राउ पर्दा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई उनलाई भेट्न प्रहरी हिरासत नै पुगेका थिए । जेलमुक्त भएयता प्रकाण्ड र डा. भट्टराईबीच भेटघाट बाक्लिएको पनि श्रोतले दाबी गरेको छ ।
साँघु

प्रतिक्रिया दिनुहोस्