Friday 6th of December 2019

नेपालमा लगानी गर्न चीनको चासो बढी

काठमाडौं । नेपालको प्रत्यक्ष वैदेशिक लगानीमा चिनियाँ हिस्सा बढी देखिएको छ । पछिल्लो पाँच वर्षमा भारतलाई पछि पार्दै चिनियाँ लगानीकर्ताले बढी प्रतिबद्धता जनाएका हुन् ।

नेपालमा चिनियाँ लगानी चार खर्ब नाघेको उद्योग मन्त्रालय र लगानी बोर्डको तथ्यांक छ ।

विश्वमै लगानी बढाइरहेको चीनले नेपालमा हालसम्म करिब चार खर्ब २० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाइसकेको छ । पछिल्लो केही वर्षयता नेपालमा चीनको प्रत्यक्ष वैदेशिक लगानी बढिरहेको छ ।

२०७२ मा भारतले लगाएको नाकाबन्दीका कारण नेपाल चीनसँग नजिकिन गएपछि चिनियाँ लगानीकर्ता उत्साहित भएका छन् । कुल गार्हस्थ उत्पादनका हिसाबले चीन विश्वको दोस्रो ठूलो देश हो । प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्ने चीन विश्वको तेस्रो ठूलो देश हो ।

भारतमै लगानीको प्रतिफल सुनिश्चितता बनेपछि भारतीय लगानीकर्ता स्वदेशमै केन्द्रित भएका छन् । नेपाल–भारत उद्योग वाणिज्य संघका कार्यकारी सदस्य शशिकान्त अग्रवालका अनुसार भारतले पछिल्लो १० वर्षमा स्वदेशमै लगानीका लागि सुविधा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्