Tuesday 25th of February 2020

विप्लव समूहको सैन्य सूचना खोज्दै प्रहरी

काठमाडौं । काभ्रेबाट पक्राउ परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ९ जनाको समूहमा पूर्वसांसद् उमा भुजेलका श्रीमान् पनि रहेको खुलेको छ ।

भुजेलका पति वसन्तकुमार उर्फ विजय श्रेष्ठ पनि पक्राउ पर्ने व्यक्तिहरुको सूचीमा रहेको भेटिएको हो । भुजेल हाल विप्लव समूहमा पोलिटब्युरो सदस्य छिन् ।

श्रेष्ठले भने आफूलाई पार्टीको पूर्वी ताम्सालिङको इञ्चार्ज भएको बताउने गरेका छन् । सुरक्षा संयन्त्रलाई प्राप्त सूचनाअनुसार उनी पहिले समूहको सैन्य फाँटमा थिए । त्यसेले उनीबाट विप्लव समूहको सैन्य गतिविधि, क्षमता र तयारीबारे सूचना लिने कोशिशमा प्रहरी छ । तर, उनी त्यो विषयमा खुल्दैनन् ।

उनले आफू सैन्य विभागमा नभएको दाबी गर्दै राजनीति फाँटमा कार्यरत् रहेको बताउने गरेका छन् ।

मध्यकमाण्डका इञ्चार्ज वलीले भने सोधिएको अधिकांश प्रश्नमा इन्कारी जवाफ दिने गरेका छन् । राजनीति मुछिएको विषय, त्यसमा पनि उच्च तहको नेता भएकाले पनि प्रहरीले उनीविरुद्ध कडा रुपमा प्रस्तुत हुन सकेको छैन । ‘भदौ १ गतेदेखि मुलुकी अपराध संहिता लागू भएपछि प्रहरी झनै बाँधिएको छ’, अनुसन्धान अधिकारी भन्छन्, ‘सुदर्शनलाई सोधिएको जवाफमा उनले ठाडै जवाफ फर्काउँछन्, ‘सांगठनिक कुरा मैले किन भन्ने ?’

वली, श्रेष्ठ लगायतविरुद्ध प्रहरीले विष्फोटक पदार्थ, हतियार तथा खरखजना, राज्यविरुद्धको कसुर लगायतको मुद्दामा ८ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्ने खानेपानी मन्त्री विना मगरको पूर्वपति शंकर अधिकारी पनि छन् । हाल उनी विप्लव समूहको रौतहट इन्चार्ज छन् ।

पक्राउ पर्नेहरुमा नेता रामकृष्ण खतिवडा, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे, लोकेन्द्र खड्का र बा १७ च ४८९३ नम्बरको स्कर्पिओ चालक धर्मराज राजबाहक छन् ।

प्रतिक्रिया दिनुहोस्