Wednesday 16th of October 2019

लगातार दुई दिन एसईई परीक्षा रद्दभएपछि शिक्षा मन्त्रालयमा आकस्मिक सुरक्षा समितिको बैठक

काठमाडौ । प्रदेश २ मा लगातार दुई दिन एसईई परीक्षा स्थगित भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक डाकेको छ । परीक्षा पूर्व नै विहिबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि मन्त्रालयले बैठक डाकेको हो ।

यता, परिक्षा बोर्डले अमोदा श्रेष्ठको संयोजकत्वमा गठन गरेको छानविन समिति पनि आजै प्रदेश २ तर्फ जाने जनाइएको छ ।

परीक्षाको सुरक्षा व्यवस्थापनका लागि शिक्षा सचिवको अध्यक्षतामा सुरक्षा समिति रहने व्यवस्था छ । शिक्षामन्त्री गिरिाजमणि पोखरेलको निर्देशनमा दिउँसो १२ बजेका लागि बैठक डाकिएको मन्त्रालय स्रोतले जनाएको छ ।

समितिमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधि सदस्य रहनेछन् । शिक्षा सचिव खगराज बरालको अध्यक्षतामा बैठक बस्न लागेको हो । बिहान राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयमा केन्द्रीय परीक्षा समन्वय समितिको बैठक बसेको थियो ।

उक्त बैठकले प्रदेश २ को सामाजिक विषयको शुक्रबारको परीक्षा रद्द गर्ने निर्णय मात्र गरेको थियो । परिक्षा रद्द हुनासाथ आक्रोशित परीक्षार्थीहरुले विद्यालयमा तोडफोडदेखि राजमार्ग अवरुद्ध पार्ने काम गरेका थिए ।

सुरक्षा समितिको बैठकले अब परीक्षा कसरी सञ्चालन गर्ने, परीक्षाको समग्र सुरक्षा व्यवस्था कसरी मिलाउने र रद्द भएको परीक्षा कहिले गर्ने र छानविनलाई कसरी अघि बढाउने लगायत विषयमा बैठकमा निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्