Thursday 12th of December 2019

भीषण हावाहुरीमा ज्यान जोगिएकालाई भोकले सताउन थाल्यो, सुरक्षाकर्मी घाइतेको उद्धारसँगै चिया–बिस्कुट बाँड्दै

काठमाडौं । असिना र पानीसँगै आएको हावाहुरीका कारण बारा र पर्सा जिल्लामा गरी मृत्यु हुनेको संख्या हालसम्म २७ पुगेको छ । अचानक आएको हुरीका कारण बारा र आसपासका जिल्लामा गरी सयौंको संख्यामा मानिसहरु घाइते भएका छन् । घाइतेहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। घरमाथिको विद्युतको पोल, रुख ढलेर र चल्दै गरेको बस दुर्घटना भएर उनीहरुको मृत्यु भएको सुरक्षा अधिकारीहरुले बताएका छन्।

अधिकांश घाइतेहरु भोकै छन्। खाना खाने समयमा नै हावाहुरी चलेकोले अधिकांशले केही खान पाएका छैनन्। नेपाली सेना र प्रहरीले अस्पतालमा घाइतेहरुलाई चिया र बिस्कुट बाँडको छ।

उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार हालसम्म कलैया अस्पतालमा मात्रै १५ वटा शव रहेका छन् भने ४ वटा शव गाउँबाट अस्पतालमा ल्याइँदै छ। यस्तै वीरगन्जको नारायणी अस्पतालमा ३, नेशनल मेडिकल कलेजमा ४ र हेल्थ केयर अस्पतालमा १ जनाको शव रहेको छ।

बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय गरी उद्धार गर्ने काम भइरहेको छ। प्रतिनिधि सभामा सांसद रामबाबु यादव, प्रदेश सांसद पारस साह र मोहम्मद समिर तथा कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादव कार्यकर्ताहरु साथमा लिइ उद्धारका लागि अति प्रभावित गाउँमा पुगेका छन्।

लगभग आधी घण्टामात्रै चलेको भिषण हावाहुरीका कारण भारतसँग सीमाना जोडिएका गाउँहरु मात्रै धेरै प्रभावित भएका छन्। जसमध्ये हालसम्म प्राप्त सूचनाका आधारमा बाराको फेटा गाउँपालिका–३, गछिया टोल ५ जनाको, सोही गाउँपालिकाको ६ मा पुरैनिया गाउँमा ९ जनाको र भरवलीया–५ मा ५ जनाको मृत्यु भएको खबर छ। यस्तै कलैया उपमहानगरपालिकाको धरमनगरमा एकजनाको, सुवर्ण गाउँपालिका हर्दियामा एकजनाको मृत्यु भएको खबर छ। साथै पर्शुरामपुरामा पनि मृतकको संख्या धेरै रहेको बताइएको छ।

माटोले बनेका घरहरु नजिकैको विद्युतको पोल तथा रुख लड्दा त्यसले च्यापिएर धेरैजना हताहत भएका हुन्। अस्पताल आइपुगेका घाइते तथा प्रत्यक्षदर्शीका अनुसार बाटो भरी पोलहरु लडेको तथा रुखहरु भाँचिएका कारण घाइतेको उद्धारमा कठिनाइ भइरहेको छ।

जिल्लाको कलैया अस्पतलामा मात्रै घाइतेको संख्या २०० को हाराहारी रहेको छ भने चिकित्सकहरुको ४/५ जना मात्रै रहेका छन्। कलैया अस्पतालमा उपचार गर्न असम्भव भएका घाइतेहरुलाई वीरगन्जको नारायणी अस्पताल र नेशनल मेडिकल कलेजमा रिफर गरिएको छ। अस्पतालमा घाइतेहरुको संख्या धेरै रहेकाले रगतको अभावसमेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस्