Sunday 23rd of February 2020

माधव अघि नसर्दा प्रचण्डलाई सकस, ओलीविरुद्धको क्याम्पमा छटपटी

काठमाडाैं । सरकारलाई सफल र कार्यमुखी बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीबाट अनेकौँ कसरत भइरहँदा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरू भने छटपटिन थालेका छन् । वामदेव गौतम त ओलीका विरुद्ध जुनसुकै बेला जस्तोसुकै कदम चाल्न तयार भएर बसेकै हुन्, अहिले पार्टीका अन्य नेताहरू पनि ओलीविरुद्धका गतिविधिमा सरिक हुन थालेका छन् ।

केपीको डरका कारण मौन रहन बाध्य भएका वरिष्ठ नेता माधवकुमार नेपाल र उपयुक्त मौकाको पर्खाइमा रहेका सहअध्यक्ष प्रचण्डबीच केपी ओलीको विषयलाई लिएर पटक–पटक छलफल हुन थालेको छ । प्रचण्ड अमेरिकाबाट फर्किएलगत्तै शुक्रबार (चैत १४ गते) देखि केपीविरोधी नेताहरूबीच पटक–पटक अनौपचारिक बैठक तथा छलफल चलिरहेका छन् । केपीले स्थायी समितिको निर्णय अवज्ञा गरेको, नियमतः कानुन तथा संविधानको समेत केपीबाट उपेक्षा हुन थालेको, सम्पूर्ण शक्ति आफूमा केन्द्रीकृत गरेको, बेग्लै ढङ्गले साङ्गठनिक हैसियत स्थापित गर्न खोजेको र पार्टीका कुनै पनि नेताहरूसँग छलफल तथा परामर्श गर्न नचाहेकोजस्ता आरोप प्रचण्डहरूको छ ।

केपीका विरुद्ध प्रचण्ड, माधव, झलनाथ र वामदेव गौतम मात्र होइन, प्रदीप ज्ञवालीलगायतका केही मन्त्रीहरूले समेत ठाउँ पाउँदा अभिव्यक्ति दिन थालेका छन् । प्रधानमन्त्रीको कार्यशैली र व्यवहारप्रति नेतृत्व तहका धेरैको असन्तुष्टि देखिएको छ, तर सबै केपीसँग डराउँछन्, त्यसैले ‘बाघको मुखपट्टि को उभिने’ भन्ने समस्या खडा भएको छ । केपीलाई अब धेरै लामो समय पर्खन मिल्दैन भन्नेमा प्रचण्ड र माधव नेपाललगायतका नेताहरू एकमत भएका छन्, तर प्रधानमन्त्री पदबाट केपीलाई हटाउने अभियानको अगुवाइ गर्न असन्तुष्ट नेताहरू डराउँदै छन् ।

‘जो अघि सर्छ उसैलाई केपीले सिध्याइदिन्छन्’ भन्ने त्रास नेताहरूमा रहेको पाइएको छ । अर्कोतिर माधव नेपाल प्रचण्डमाथि विश्वस्त हुन सकिरहेका छैनन् र प्रचण्ड पनि माधवप्रति भर गर्ने स्थितिमा नरहेको बताइन्छ । बीचैमा धोखाधडी हुने हो कि भन्ने आशङ्का र अविश्वासले पनि केपीरुद्ध प्रचण्डले गर्न खोजेको मोर्चाबन्दी अहिलेसम्म सफल हुन सकेको छैन । तथापि केपीलाई ‘तह’ लगाउन केही न केही गर्नुपर्छ भन्ने निचोडमा भने नेताहरू पुगेका छन् । तत्काल कुनै न कुनै कदम चालिएन भने पार्टी र आफूहरूको समेत ठूलो ‘बदनामी’ हुने भनी आपसी छलफलका क्रममा बताउने गरेका छन् ।

आन्तरिक बैठक र भेटघाटमा ओलीको जतिसुकै आलोचना गरे पनि माधव नेपाल केपीविरोधी अभियानको नेतृत्व नै लिने सोचमा देखिएका छैनन् । त्यसैले प्रचण्ड यतिबेला पार्टीभित्रको स्थितिका कारण ठूलो सकसमा परेका छन् ।

केपी ओलीले मदन भण्डारी फाउन्डेसनको नाममा पार्टीभित्रै ‘अर्को सशक्त पार्टी’ निर्माण गरिरहेको भन्ने बुझाइ पनि असन्तुष्ट नेताहरूको छ । मदन भण्डारी फाउन्डेसनलाई सुदृढ र विस्तार गरी देशव्यापी बनाउने योजनाअनुरूप काम सुरु भइसकेको छ । फाउन्डेसनमा ‘एमाले’बाहेक ‘माओवादी’का कोही पनि मानिस सामेल नहुने गरेकोले पनि पार्टीभित्र त्यो बेग्लै पार्टीका रूपमा खडा भएजस्तो महसुस सम्बद्ध पक्षले गरेको छ । तर, फाउन्डेसनलाई किन बलियो र व्यापक बनाएको भनी प्रश्न उठाउन सकिने अवस्था छैन । त्यस्तो प्रश्न उठाउनेहरू नै ‘गलत’ हुने र पार्टीभित्र विवादको विषय बन्ने भएकोले फाउन्डेसनबारे कसैले पनि खुलेर प्रश्न उठाइरहेका छैनन् ।

पार्टीको एकीकृत कमिटी निर्माणमा तत्परता नलिने, तर मदन भण्डारी फाउन्डेसनलाई सक्रिय र व्यापक बनाउन योजनाबद्ध ढङ्गले लागिपर्ने कुराले माओवादी कित्तालाई नराम्रोसँग झस्काएको छ । एकातिर केपीविरुद्ध बन्द कोठाभित्र आलोचनात्मक भूमिका निर्वाह गरे पनि एमाले कित्ताका वामदेव गौतमबाहेक कुनै पनि नेता प्रकट भएर देखापर्न नचाहने र केपी ओली आफ्नै लय र गतिमा हिँडिरहने स्थिति जुन बनेको छ, यसले प्रचण्डलाई सकसपूर्ण अवस्थामा पु¥याएको छ । केपीका विरुद्ध एमालेमध्येकै नेताहरूलाई अघि लगाएर साध्य प्राप्त गर्ने रणनीतिक योजनामा प्रचण्ड रहेका छन् । आफैँले त्यस्तो अग्रसरता लिँदा एमाले जति एकीकृत हुने र झनै अप्ठ्यारो परिस्थिति बन्ने बुझाइ प्रचण्डको छ । त्यसैले माधवकुमार नेपालले केपीविरुद्धको मोर्चाको अगुवाइ लिइदिए हुन्थ्यो भन्ने आकाङ्क्षा प्रचण्डले राखेको बुझिन्छ ।

तर, आन्तरिक बैठक र भेटघाटमा ओलीको जतिसुकै आलोचना गरे पनि माधव नेपाल केपीविरोधी अभियानको नेतृत्व नै लिने सोचमा देखिएका छैनन् । त्यसैले प्रचण्ड यतिबेला पार्टीभित्रको स्थितिका कारण ठूलो सकसमा परेका छन् । केपीको स्वास्थ्यस्थिति खराब हुने दिनको प्रतीक्षा गरेर बस्ने या ओलीलाई ‘तह लगाउन’ आफैँले कुनै कदम चाल्ने भन्ने दुई विकल्पको वरिपरि प्रचण्ड चक्कर लगाइरहेका छन् ।
(घटना र बिचार)

प्रतिक्रिया दिनुहोस्