Sunday 8th of December 2019

बालकथा: प्रियाको झूठ

गायत्री ज्ञवाली
कक्षा तीनको परीक्षामा अनुतीर्ण भएकी प्रिया आज पहिलो दिन पुनः दोहोर्याएर उही स्कुल र त्यही कोठामा पढ्नको लागि हाजिर भएकी छ ।उही पुरानो च्यातिन थालिसकेको झोला, केरमेट गरिएको पुरानो किताब अनि लेख्दालेख्दै बाँकी रहेको कापी लिँदै नयाँ, नौंला साथिहरुसँग बसेर प्रिया कक्षा तीनको कोठाको भित्ता अनि सिलिङ नियाल्दैछे । सोच्दैछे ….हे भगवान यो पुरानो कोठा, पुरानै कापी अनि पुराना किताब देख्दा दिक्क लागिसक्यो। यो पुरानो झोलाको सट्टा अर्को नयाँ झोला बोक्न पाए हुन्थ्यो । नयाँ किताब पढ्न पाए हुन्थ्यो भन्दै मनमनै गुनगुनाउँदै प्रिया यताउता, चारैतिर हेर्छे । सबैको हातमा नयाानयाँ किताबकापी छन् । सबै नयाँ कक्षामा आफ्ना पुराना साथीसँग प्रशन्न अनि दङ्ग छन् । उनीहरु सबै कक्षा दुई पास भएर तीन कक्षामा पुगेको हुनाले होला, नयाँ नयाँ किताबकापी बोकेर स्कुल आएका नि, प्रिया मनमनै सोच्छे।

टिनीनी… गर्दै कानै बिथोल्ने आवाजमा स्कुलको घन्टी बज्छ । सबैजना हस्याङ फस्याङ गर्दै किताबकापी झोलामा थन्क्याउँदै घरतर्फ दौडिन्छन्। प्रिया पनी अबदेखि दिनदिनै स्कुल आउने र गृहकार्य पनि समयमै बुझाएर अर्को वर्ष जसरी भएपनि पास भएरै छाड्ने मनमनै प्रण गर्दै घरतर्फ लाग्छे।

शनिबारको दिन बिहानको आठ बजेको छ । चैत बैशाखको चर्को घामको किरण झ्यालको सिसाबाट छिरेर प्रियाको अनुहारमा टल्किन पुग्छ । प्रिया पूर्वपट्टीको झ्यालको पर्दा बन्द गर्छे र लेख्दालेख्दै बाँकी रहेको पुरानो कापी अनि पुरानै किताब झिक्दै गृहकार्य गर्न थाल्छे।
अ‍ोहो, भान्जी कस्सिएर पढ्दै छ्यौ त ? मामाको आवाजले प्रिया एकाएक झस्किन्छे।

ए मामा पो आउनुभएको ? नमस्कार मामा।
नमस्कार नमस्कार । घरमा कोही देख्दिन त ?
खोई त दिदी भिनाजु कता जानुभयो भान्जी ?
मामाले सोध्नुहुन्छ।

बुवा आमा भर्खरै बजारतिर जानु भएको छ एकछिनमा फर्किनु हुन्छ होला।
अनि तिमी मात्रै हो त घरमा ? मामा फेरि सोध्नुहुन्छ।

होइन, हजुरआमा पनि हुनुहुन्छ, शायद अहिले पूजा गर्दै हुनुहुन्छ होला।

ए, कसैसँग भेट नहुने बेला पो परेछ । म त अकस्मात् काठमाडौं जाने काम परेकोले हिंडेको, बिचमा बाटो काटेर जान मन लागेन र पसेको एकछिन भएपनि सबैलाई भेटौं भनेर । मामा एक्लै गुनगुनाउनु हुन्छ।
कहाँ जान लाग्नुभएको रे मामा ? प्रिया नबुझेजस्तो गरि फेरि सोध्छे।

काठमाडौं जान हिंडेको नि ? एकैछिनलाई भए पनि दिदिभिनाजु सबैलाई भेटौं भनेको तर कोही पनी नहुँहुँदोरहेछ।

बाबा आमा नभएर के भयो त मामा ? म छँदै छु नि ? बरु एकछिन बस्दै गर्नुस। म चिया बनाउँछु नी है ? भन्दै प्रिया जुरुक्क उठेर भान्सातर्फ दौडिन्छे।

होइन, होइन नबनाउ चिया, म पनि अब लाग्छु भन्दै मामा प्रियालाई पछ्याउँदै भान्सातर्फ लाग्नुहुन्छ।

किन र मामा ? चिया पनि नखाई जानुहुन्छ त ?
म फर्किदा पसुँला बरु । अहिलेलार्इ लागे है, भन्दै सर्टको पाकेटमा हात हाल्दै पचास रुपैयाँको नोट प्रियाको हातमा राखिदिंदै भन्नु हुन्छ, तिमीलाई जे मन लागेको छ त्यही किन्नु है त भान्जी ?

प्रिया पैसा समाउन अलि अनकनाउँदै भन्छे,
बाबाले कसै सँगपनि पैसा नलिनु भन्नुभएको छ, त्यसैले चाहिंदैन। फेरि मसँग रिसाउनु भयो भने ?
राख न राख खुरुक्क ? मामाले दिएको पैसा राख्न केही हुँदैन।

अब अरुले दिए भने नलिनु नि त ।मामाले दिएको लिन त भई हाल्छ नि १ मामाले जबरजस्ति गरेपछि प्रिया धक मान्दै पैसा समाउँछे।

प्रियालाई के खोज्छेस् कानो आँखो भनेजस्तै हुन्छ । मामा बाहीर निस्किनासाथ पचास रुपैयाँको नोट बोकेर पसल तर्फ लाग्छे।

साहुजी मलाई तिन कक्षाको नयाँ किताब, चार वटा मोटो नयाँ कापी, एउटा नयाँ पेन्सिील, नयाँ इरेजर अनि चित्र बनाउने कलर पेन्सिल र एउटा मसी राख्ने कलम अनि मसी पनि दिनुहोस न है ?

प्रिया श्वासै नफेरि भट्भटाउँछे।
हैन ? कस्तो नयाँ किताब ?, नयाँ कापी सबै नयाँ, नयाँ मात्र दिनुहोस् भन्छेउ ? पसलमा सबै नयाँ नै त हुन्छ नि ?

अनि नयाँ नभनेर के भनौं त ? पुरानो त छँदैछ नि घरमै । मलाई त नयाँ बोक्न मन लागेर हो नि ?

अनि कहाँबाट ल्याएको, यति धेरै पैसा ? आमाको झोलाबाट चोरेर ल्याएको त होइन नि ? साहुजी जिस्काउदै सोध्नुहुन्छ।

कहाँ चोर्नु नि, मेरो बाबाले भन्नुभएको चोर्नु त पाप कर्म हो रे । चोर्नु त परै जाओस् कसैले दिएको अथवा बाटोमा भेटेको पनि नलिनु भन्नु भएको छ मलाई त ।

अनि त्यसो भए कहाँबाट ल्यायौ त यति धेरै पैसा ? अघि भर्खरै पहाडबाट मामा आउनु भएको थियो । उहाँले नै दिनुभएको । जे मन लाग्छ, त्यही किनेर खानू भन्नुभएको छ । मामाले दिनुभएको भएर मात्र लिएको नि ? प्रिया अलि रिसाएको श्वरमा सफाई दिन्छे।

हातभरि नअट्ने गरि किताबकापी कलम किनेर बचेको पैसाले अलिकति चक्लेट पनि किन्छे अनि खुशी हुँदै प्रिया फर्किन्छे।

दिउँसो बाबा आमा घर फर्केपछि खुशीले फुर्किंदै आफूले किनेर ल्याएको सबै सामान देखाउन थाल्छे। मानौं उसले सारा संसारमै नयाँ बनाएर दंग परेकी छे।

बाबा अनौंठो मान्दै सोध्नुहुन्छ, यति धेरै कापी, अनि पेन्सिल कहाँबाट आयो ? किन, किनेको ? र यो सबै किन्ने पैसा कहाँबाट पायौ ?

प्रियाले फेरि विनम्र हुँदै जवाफ फर्काउँछे।
आज बिहान मामा आउनु भएको थियो । उहाँले मलाई जे मन लाग्छ, त्यही किन्नु भनेर पचास रुपैयाँ दिनुभएको । त्यसैले किनेर ल्याएको नि ?

एकाबिहानै मामा कताबाट आइपुग्योँ ?
आएकै भएपनि पचास रुपैयाँ किन दिन्थ्यो नि तिमीलाई ? त्यो विद्यार्थी मान्छेले ? यसो पाँच दश रुपैयाँ दिनु त ठिकै हो, तर पचास रुपैयाँ ? कस्तो नचाहिंदो कुरा गर्दैछौ तिमी ? बाबाले प्रियाको कुरा पत्याउनु भएन ।

उहाले आमालार्इ बोलाउँदै सोध्नुहुन्छ, के तिमीलाई भाई आउने कुरा थाह थियो ? आमाले टाउको हल्लाउँदै भन्नुभयो, अहँ मलाई त त्यस्तो केही थाहा थिएन।

बाबा चिन्तित हुँदै हजुरआमालाई सोध्नुहुन्छ।आमा आज बिहान सालो केटो आएको थियो र ?

नाई । कोही आएको छैन । म त दिनभरि यहीं घरमै छुँ त ? हजुरआमाको जवाफले बाबा झन् अचम्मित देखिनुहुन्छ।

उहाँले फेरि सम्झाउँदै सोध्नुहुन्छ, नढाँटी भन त छोरी ? तिमीले यति धेरै पैसा कहाँबाट ल्यायौ ?
यसरी बाबा, आमा र हजुरआमा सबैले एउटै प्रश्न पालैपालो दोहोर्याउँदै सोध्नुहुन्छ, प्रिया पनि विनम्र हुँदै हरेकपटक एउटै उत्तर दोहोर्याउँछे ।

पत्याउनुहोस् न ? मामाले नै दिनुभएको हो।
तर अफसोच कोही पनि मामा आएर पैसा दिएको कुरामा विश्वास गर्न तयार नै हुँदैनन्।

पहाडमा बस्ने मामा कसैलाई पत्तै नभई कति बेला आउनुभयो ? अनि कति छिटो कसैलाई नभेटिकन किन जानुभयो ? घरमै भएकी हजुरआमालाई पनि नभेटी गएको कुराले सबैलाई पत्याउन गाह्रो हुन्छ।

आमा, बुवा, हजुरआमा सबैले साँचो कुरा थाहा पाउन लाख कोशिस गर्छन्, तर प्रिया भने केवल एउटै रट लगाएरकि हुन्छे । मामाले नै दिनुभएको हो । नभए मामालाई फोन लगाएर सोध्नु थाहा भई हाल्छ नि ? विडम्बना, गाउँघरमा फोनको सुविधा थिएन।

आमा बाबा खासखुस गर्दै भन्छन्, कतै प्रियाले चोरी त गरिन ? सही कुरा पत्ता नलगाई त भएन ? तर लगाउने कसरी ? अलि डर देखाए भनि पो हाल्छे कि ? भनेर आमाले अलि कडा श्वर गर्दै भन्नुहुन्छ, खुरुक्क साँचो कुरा बताउने भए बताउ, नभए तिमीलाई अँधेरो कोठामा रातभरि थुनिदिन्छु ।
यस्तो झुठ् बोल्ने पनि मेरो छोरी हुन्छ ?

अँधेरोसँग एकदमै डराउने प्रिया आमाको कुरा सुनेर ठूलो श्वरमा रुन थाल्छे।

रोएको देख्दा बाबाआमालाई प्रियाले चोरी गरेको नै हो भन्ने लाग्छ । आज प्रियाले गल्ती गरेकै हुनुपर्छ, नभए यसरी डराएर किन रुन्थी ? स्कुलबाट भाग्ने त छंदै थियो अब त चोरी गर्न र झुठ् बोल्न पनि सिकिसकिछ।

आमाको कुरा सुनेर प्रिया झन डाँको छोडि रुन थाल्छे । उ त्यसरी रोएको देखेर आमाले प्रियालाई काखमा राख्दै सम्झाउँदै भन्नुहुन्छ, जे हो त्यही साँचो कुरा भन न त ? तिमीले साँच्चै चोरी गरेको भएपनि डराउनु पर्दैन । तिमीलाई केही गर्दिन । मैले त केवल तिमीलाई सम्झाउन मात्र खोजेको हो नि ? आमाले सान्तवना दिंदै भन्नुहुन्छ।

यसपालि भने प्रियाले सोच्छे,अब मैले साँचो बोल्नुको कुनै औचित्य नै छैन।
किनकी उहाँहरुलाई लागिरहेको छ कि, मैले चोरी गरेकै हो।

अनि उसले बुद्दि पुर्याएर जवाफ दिंदै भन्छे, मैले साँचो कुरा भने पनि केही भन्नुहुन्न त ?
अहँ भन्दिन ? ल भन त साँचो कुरा के हो ? आमाले आश्वासन दिंदै भन्नुहुन्छ।

हो, आमा मैले त्यो पचास रुपैयाँ चोरी गरेकी हुँ ।
अब त मलाई अँध्यारो कोठामा थुन्नुहुँदैन नि ?

ए हो ? हुनत मलाई अघि नै शंङ्का लागिसकेको थियो तर तिमी भने अघिदेखि ढाटिरह्यौ ।आमा भन्नुहुन्छ।

बाबाको डर लागेको थियो नि त। त्यही भएर नभनेको । तर अहिले त सबै साँचो कुरा भनि हाँले नि ?

अब त मलाई अँध्यारो कोठामा थुन्नुहुँदैन नि ?
आमाले पनि प्रियाले साँचो बोलेकोमा खुशी हुँदै मिजासिलो श्वरमा हाँस्दै भन्नुहुन्छ, थुन्दिन, थुन्दिन । अघि नै भनेको भए त यति धेरै रुने कराउने पनि गर्नुपर्ने थिएन नि ?

अनि अब फेरि नढाटी भन त छोरी कहाँबाट झिक्यौ त्यो पैसा ?
प्रियापनि यताउता नजर घुमाउँछे अनि आमाको व्यागलाई देखाउँदै भन्छे, उ त्यो ब्यागबाट झिकेको आमा ।

आमाले पनि प्रियाको कपाल मुसार्दै भन्नुहुन्छ ।अब आइन्दा यस्तो बदमासी कहिले नगर्नु है छोरी । केही चाहियो भने हामिलाई भन्नु हामि किनिदिन्छौ नि है ? अनि झुठ् कुरा कहिल्यै नबोल्नु है त ?

अब आफै हेर त, तिमीले सुरुमै साँचो बोलेको भए यो सब रडाको हुने नै थिएन ।
प्रियापनि आमालाई हेर्दै मुस्कुराउँदै भन्छे, हस आमा । अबदेखि कहिले पनि चोरी गर्दिन।अनि झुठ् पनि बोल्दिन्।

प्रिया मनमनै अचम्म मान्दै सोच्न थाल्छे । जबसम्म म साँचो बोलिराखेको थिएँ कोही पनि विश्वास गर्न तयार हुनुभएन । नानाथरि डर र त्रास देखाएर उल्टै अँध्यारो कोठामा थुनिदिने धम्की दिनुभयो तर जब म झुठ् बोलें, एकैपटकमा खुरुक्क विश्वास गर्नुभयो । काखमा राखेर माया पनि गर्नुभयो । कस्तो अचम्म ?

झुठो बोल्न हुँदैन समस्यामा परिन्छ भन्ने कुरा कण्ठ पारेकी प्रिया आफुले बोलेको झुठ र मामाले दिनुभएको पचास रुपैयाँ सम्झेर आफैमा अलमल्ल पर्दै मुसुक्क मुस्कुराउँछे।
janatasamachar

प्रतिक्रिया दिनुहोस्