Monday 22nd of April 2019

पाठ्यपुस्तक छापाईमा ढिलाई, समयमै विद्यालयमा नपुग्ने निश्चित

काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु हुन एक साता बाँकी रहँदा अधिकांश विद्यालयमा समयमै पाठ्यपुस्तक नपुग्ने देखिएको छ । स्थानीय तह, विद्यालय र पाठ्यपुस्तक वितरकहरूबीच प्रभावकारी रूपमा समन्वय नहुँदा समयमै पाठ्यपुस्तक नपुग्ने देखिएको हो ।

नयाँ शैक्षिक सत्र सुरु हुन केही दिन बाँकी रहँदा पनि अझै देशभरका अधिकांश सरकारी विद्यालयमा पाठ्यपुस्तक पु¥याउने प्रक्रियामा अलमल देखिएको छ । स्थानीय तह र वितरकहरूबीच प्रभावकारी समन्वय हुन नसक्दा अधिकांश सरकारी विद्यालयमा पाठ्यपुस्तक पुग्न सकेको छैन ।

घोराही उपमहानगरपालिकाका प्रवक्ता भरत अर्यालले भने, ‘यस उपमहानगरपालिकाभित्र रहेका सबै सरकारी विद्यालयमा पाठ्यपुस्तक खरिद शीर्षकमा बजेट निकासा भइसकेको छ । अझै पाठ्यपुस्तक खरिद गरिएको छैन । विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक जिम्मेवार बन्नुपर्छ ।’
कतिपय स्थानीय तहले विद्यालयलाई बजेट विनियोजन गरेका छन् । देशभरका सरकारी विद्यालयका लागि २ करोड ५० लाख थान पुस्तक छापिसकिएको छ । जसअन्तर्गत जनक शिक्षा सामग्रीले २ करोड ५ लाख र पाठ्यक्रम विकास केन्द्रले ५० लाख थान पाठ्यपुस्तक छापेको थियो । छापिएका २ करोड ५ लाख थान पाठ्यपुस्तक जनक शिक्षा सामग्रीको प्रदेश मुकामको कार्यालयमा पठाइसकेको प्रवक्ता चित्र आचार्यले बताए ।

उनले भने, ‘हाम्रो लक्ष्य २ करोड १५ लाख थान पाठ्यपुस्तक छाप्ने थियो । अहिले दैनिक १ लाखको दरले छाप्ने काम भइरहेको छ ।’ जनक शिक्षा सामग्रीले कक्षा ५ देखि १० सम्मका पाठ्यपुस्तक छापेको थियो ।

केन्द्रका प्रवक्ता आचार्यले पाठ्यपुस्तक वितरण कार्यलाई प्रभावकारी बनाउन १ हजार १ सय विक्रेताहरू खटिएको बताए । यस्तै, कक्षा १ देखि ४ सम्म आवश्यक पर्ने पाठ्यपुस्तक छपाइको काम सकिएको विभागका महानिर्देशक डा। लेखनाथ पौडेलले बताए । छपाइका लागि केन्द्रले ११ वटा प्रेस सूचीकृत गरेको थियो ।

महानिर्देशक डा। पौडेलले भने, ‘वितरण गर्ने काम सुरु भएको छ । स्थानीय विक्रेताले समयमै पाठ्यपुस्तक उपलब्ध गराउनुपर्छ । स्थानीय तहमा पाठ्यपुस्तक खरिदका लागि बजेट पुगिसकेको छ ।’

कक्षा १ देखि १० सम्म नेपाली, सामाजिक, अंग्रेजी, नैतिक शिक्षा, पेसा, स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, गणित, विज्ञानलगायत १२५ वटा पाठ्यपुस्तक लागू भएका छन् ।
जनक शिक्षा सामग्रीले गत वर्ष १ करोड ९७ लाख पाठ्यपुस्तक छाप्ने लक्ष्य लिएकामा लक्ष्यभन्दा बढी २ करोड छापेको थियो । यस्तै, १ करोड ६२ लाख पाठ्यपुस्तक बिक्री भएको बताइएको छ ।
विद्यालय पाठ्यपुस्तक तथा पाठ्यसामग्री मुद्रण तथा वितरण निर्देशिका २०६७ मा विद्यार्थीलाई शैक्षिक सत्र सुरु भएको १५ दिनभित्र नयाँ पाठ्यपुस्तक सेटमा उपलब्ध गराउने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्