Friday 28th of February 2020

काठमाडौं महानगरपालिकाले बढायो २७ प्रतिशतले निजी विद्यालयको शुल्क

काठमाडौँ । काठमाडौं महानगरपालिकाले निजी विद्यालयको शुल्क करिब २७ प्रतिशतले बढाएको छ। दुई वर्षअघि तोकेको शुल्कलाई समायोजन गरेको दाबी गर्दै महानगरले अधिकतम शुल्क तोकेको हो।

महानगरको विद्यालय अनुगमन तथा शुल्क वर्गीकरण समितिले शुल्क बढाउने निर्णय गरेको विद्यालय व्यवस्थापन शाखा प्रमुख बुद्धि भट्टले बताए। महानगरले अघिल्लो व्यवस्थाअनुसार वर्गीकरण गरिएका ‘क’ देखि ‘घ’ वर्गका निजी विद्यालयको शुल्क तोकेको हो । यो शुल्क शैक्षिक सत्र २०७६ बाट लागू हुनेछ। उसले तोकिएको भन्दा बढी लिए कारबाही गर्ने भनेको छ। नयाँ शुल्कअनुसार ‘क’ वर्गका विद्यालयले कक्षा १ देखि ५ सम्म प्रतिविद्यार्थी मासिक अधिकतम २ हजार ८ सय १२ रुपैयाँ लिन पाउने छन्। ‘ख’ वर्गका लागि २ हजार ४ सय १८ रुपैयाँ, ‘ग’ वर्गकाले २ हजार २४ र ‘घ’ वर्गकाले १ हजार ६ सय ३० रुपैयाँ लिन सक्नेछन्।

कक्षा ६ देखि ८ सम्म ‘क’ वर्गका विद्यालयले ३ हजार २ सय १५ र ‘ख’ वर्गकाले २ हजार ८ सय १ रुपैयाँ लिन सक्ने उल्लेख छ। ‘ग’ वर्गकाले २ हजार ३ सय ५१ र ‘घ’ वर्गका विद्यालयले मासिक १ हजार ९ सय १ रुपैयाँभन्दा बढी लिन नपाइने महानगरले जनाएको छ। कक्षा ९ र १० मा ‘क’ वर्गका विद्यालयले ४ हजार ३ सय ७३ रुपैयाँसम्म लिन पाउने छन्। ‘ख’ वर्गका विद्यालयले ३ हजार ७ सय ६२, ‘ग’ ले ३ हजार ४९ र ‘घ’ को २ हजार ५ सय ३७ रुपैयाँ शुल्क तोकिएको छ।

आवास, परिवहन, विशेष प्रशिक्षणजस्ता शुल्क भने महानगरले अतिरिक्त मानेको छ। विशेष शुल्क भन्दै दुई तिहाइ अभिभावकले स्वीकृत गरे मात्र यी शीर्षकमा शुल्क लिन पाइने शाखा प्रमुख भट्टले जानकारी दिए। यसैगरी शैक्षिक सामग्रीबापत् विद्यालयले मासिक शुल्कको १० प्रतिशतमा नबढ्ने गरी वर्षमा एकपल्ट लिन पाउने छन्।

महानगरपालिका शिक्षा विभागका अनुसार महानगरभित्र ९१ सामुदायिक र ६ सय ४५ संस्थागत विद्यालय छन्। ‘भौतिक पूर्वाधार, शैक्षिक उपलब्धि, विद्यार्थीलाई सुविधाजस्ता विभिन्न सूचकका आधारमा वर्ग विभाजन गरिएको हो। अहिले विद्यालयहरूले आफ्ना सेवा–सुविधाबारे जानकारी गराउने क्रम चलिरहेकाले कुन वर्गमा कति छन्, तत्कालै भन्न सकिन्न,’ शिक्षा विभागका शाखा अधिकृत भट्टले भने।

उनले विद्यालय शिक्षा नियमावली २०५९, महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, शुल्क निर्धारण निर्देशिकालगायत कानुनमा टेकेर शुल्क समायोजन गरिएको बताएका छन्। सबैभन्दा बढी विद्यालय ‘ख’ वर्गका रहेको र अन्यको संख्या न्यून भएको महानगरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्