Sunday 16th of June 2019

राष्ट्रिय बाणिज्य बैंकमा उच्च पदाधिकारीबाटै एक अर्बको घोटाला

[mashshare]

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका पदाधिकारीहरुले व्याजदरमा घोटाला गरेको खुलासा भएको छ ।

राष्ट्रिय वाणिज्यको वित्तीय स्थितिले पूर्णरुपमा असुल गरेको साँवा रकमको व्याज असुल्न बाँकी रहेको देखाएको छ । महालेखा परीक्षकको प्रतिवेदनले पदाधिकारीहरुबाटै बैंकमा घोटाला भएको जनाएको छ ।

साँवा पूर्णरुपमा असुलेर पनि व्याज असुल नगरेको रकम एक अर्ब १३ करोड ९८ लाख रुपैयाँ छ । साँवा रकम असुलेर व्याज बाँकी राखेर पदाधिकारीहरुलाई बैंकलाई नोक्सानी पुर्‍याएको प्रतिवेदनले उल्लेख गरेको छ ।

व्याज असुल्न बाँकी राखेर साँवा शून्य गराउने पदाधिकारीहरुलाई जिम्मेवार बनाई उक्त रकम असुल्न महालेखाले निर्देशन दिएको छ । वासलात बाहिरका कारोबारहरुलाई कतिपय शाखाले श्रेस्तामा र सफ्टवेयरमा राखेता पनि अद्यावधिक गरी लेखाङ्कन नगरिएको महालेखाले औंल्याएको छ । यस्ता कारोबारको लेखाङ्कन अद्यावधिक नहुँदा बैङ्कलाई उच्च जोखिम रहने छ ।

अपरिवत्र्य कर्जा प्रतिबद्धताको अनुमान गर्ने संयन्त्र नभएको स्थितिमा अपरिवत्र्य कर्जा प्रतिबद्धताअन्तर्गत संम्भावित दायित्व देखाएको ५ अर्ब ४५ करोड ५७ लाखको यथार्थता यकिन गर्न नसकिएको महालेखाले जनाएको छ ।

अन्य दायित्व हिसाबअन्तर्गत बैङ्कले नेपाल सरकारलाई भुक्तानी दिन बाँकी ऋणको ब्याज १५ करोड २५ लाख ३६ हजार विगत वर्षदेखि जिम्मेवारीमा सारिँदै आएको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयको पत्रानुसार बैङ्कले सरकारलाई ३३ करोड ४८ लाख ९६ हजार भुक्तानी गर्न बाँकी छ ।

यो रकम यकीन गरी अविलम्ब भुक्तानी गर्न महालेखाले भनेको छ । बैङ्कबाट स्वेच्छिक अवकाश योजनामा सहभागी हुने कर्मचारीलाई अर्थमन्त्रालयको सहमति भन्दा ९० लाख ३३ हजार वढी भुक्तानी गरेको देखिएको छ । बढी भुक्तानी गरेको रकम सम्बन्धित पदाधिकारीबाट असुल गर्न महालेखाले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्