Tuesday 31st of March 2020

बरामद सुनको पेशी एकतीस पटक सर्‍याे: पत्तो नलागेको सुनको पेशी भटाभट !

काठमाडौं । सर्वोच्च अदालतले २०७४ माघमा सनम शाक्यको हत्यापछि खुलेको तर बरामदै नभएको ३३ किलो सुनका बारेमा महत्वका साथ पेशी राखी सुनुवाइ गरिरहेको छ । तर अढाइ बर्षअघि त्रिभुवन विमानस्थल भन्सार कार्यालयको हाताबाट पास भइसकेपछि बरामद भएको ३३ किलो सुनको मुद्दाको पेशी भने ३१ पटक सर्दैआएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले २०७३ पुस २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिसकेको ३३ किलो ५ सय ७७ दशमलब ४० ग्राम सुन बरामद गरेको थियो ।

बरामद भएको सुनको बारेमा ३१ पटक पेशी सरिसकेको छ । पछिल्लो पटक २०७५ चैत २९ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको इजलासमा परेको थियो । तर हेर्न नभ्याइनेमा परेको छ । ३१ पटक पेशी राख्दा पनि फैसला नभएको ३३ किलो सुनको मुद्दामा एसएसपी श्याम खत्री, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठ, तथ्यांक अधिकृत श्रीनारायण यादवलगायत विपक्षी छन् ।

उनीहरुले यो मुद्दामा फैसला नभएका कारण तस्करीको सुनबाट आर्जित रकम लुकाउने वा प्रमाण नष्ट गर्ने मौका पाएका छन् । विमानस्थल भन्सार कार्यालयका रेडियो अप्रेटर श्यामकृष्ण श्रेष्ठ र तथ्यांक अधिकृत यादव लामो समयदेखि एयरपोर्टमा कार्यरत रहेको र उनीहरुको मिलेमतोमा सुन तस्करी हु“दैआएको प्रहरी अनुसन्धानमा खुलेको थियो । श्यामकृष्ण श्रेष्ठको १४ करोडभन्दा बढी अवैध सम्पत्ति भेटिएको थियो ।

बरामदै नभएको सुनको पेशी तारन्तार राखिनु र बरामद भएको सुनको मुद्दाको पेशी ३१ पटक सर्नुले न्याय सम्पादन के कसरी हुन्छ भन्ने पाटो उजागर गरेको छ । बरामद नभएको ३३ किलो सुनको बारेमा भने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नै इजलासमा राखी चासोका साथ सुनुवाई गरिरहेका छन् । बरामद नभएको ३३ किलो सुनको मुद्दामा सनम शाक्यको हत्याबाहेक अरु प्रमाण जुटाउन निकै गाह्रो रहेको कानुनविद्हरु बताउ“छन् ।

बरामदै नभएको सुनमा कसरी प्रमाण जुटाउने भन्ने चुनौती छ । तर २०७३ पुस २१ मा बरामद भएको सुन प्रकरणमा मुछिएका रोशन भूसाल र हरिशरण खड्कालाई प्रहरीले इन्टरपोलमार्फत् रेडकर्नर नोटिस जारी गरेको थियो । तर खड्का त्यही नोटिसका आधारमा पक्राउ परिसकेका छन् । भुसाल जिल्ला, उच्च अदालत पाटन हु“दै सर्वोच्च अदालतबाट पनि उन्मुक्ति पाउन बिचौलियामार्फत् चलखेलमा छन् । भूसालको मुद्दा जिल्ला अदालत काठमाडौं, उच्च अदालत पाटन हु“दै सर्वोच्च अदालतमा विचाराधीन छ । उनको मुद्दाको पेशी पनि २०७५ चैत २९ मा थियो । उनको मुद्दा पनि नभ्याइनेमा राखिएको छ ।

यी न्यायाधीशमाथि कारबाही हुने कि नहुने ?

बरामद नभएको ३३ किलो सुन प्रकरणमा जिल्ला अदालत मोरङले थुनछेक आदेश दिएका आरोपी प्रहरी अधिकृत र सुन तस्कर विमल पोद्दार, राजु दारुकाहरुलाई छाड्न आदेश दिने उच्च अदालत बिराटनगरका मुख्य न्यायाधीश कुलरत्न भूर्तेलसहित ८ न्यायाधीशलाई न्यायपरिषदमा छानबिनका लागि तानियो । मुख्य न्यायाधीश भुर्तेलले एकै लगाउको मुद्दा छरेर आरोपीहरुलाई छाडेर न्यायसम्पादनमा त्रुटीपूर्ण काम गरेको आरोप लगाइएको थियो । तर उच्च अदालत पाटनका तत्कालीन मुख्य न्यायाधीश सर्वोच्च अदालतमा न्यायाधीश छन् ।

सुन तस्करीमा संलग्न भएको प्रमाणसहित मुद्दा दायर गरिएका एसएसपी श्याम खत्री, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका रेडियो अप्रेटर श्यामकृष्ण श्रेष्ठ र भन्सारका तथ्यांक अधिकृत श्रीनारायण यादवलाई कसुरमा इन्कार गरेको भनेर २०७४ साउन १२ गते सामान्य धरौटीमा छाड्न आदेश दिने न्यायाधीशद्वय भीमराज ओझा र बलभद्र बा“स्तोलामाथि केही कारबाही भएको छैन ।

२०७३ पुसको साढे ३३ किलो सुन तस्करी प्रकरणमा उच्च अदालत पाटनले एसएसपी श्याम खत्रीलाई ‘कसुरमा संलग्न रहेको नदेखिएको’ भन्दै सामान्य तारेखमा छाड्ने आदेश दिएको थियो । उच्च अदालत पाटनले खत्रीसहित पुर्पक्ष थुनामा परेका श्यामकृष्ण श्रेष्ठलाई दुई लाख रुपैया“ धरौटीमा छाडेको थियो । त्यतिबेला एसएसपी खत्री डीआईजी बढुवाको मुखमा थिए । न्यायाधीशहरू भीमकुमार ओझा र बलभद्र बा“स्तोलाको इजलासले २०७४ साउन १२ गते जारी गरेको आदेशका कारण उनलाई बढुवामा साथ पुग्थ्यो ।

नियमित काममा फर्कन फौजदारी आरोपमा परेको व्यक्ति सामान्य तारेखमा रिहा हुनुपर्छ । उच्च अदालतले सुनकाण्डका मुख्य आरोपित खत्रीलाई सामान्य तारेखमा छाड्ने आदेश दिनुका पछाडि मुख्य तीनवटा कारण उल्लेख गरेको छ । आदेशमा भनिएको छ, ‘प्रतिवादीमध्येका श्यामबहादुर खत्रीले अनुसन्धान अधिकारी तथा अदालतसमक्ष कसुरमा इन्कार रहेको, सहप्रतिवादी श्रीनारायण यादवसमेतले यी प्रतिवादी (खत्री) लाई पोल गरी अदालतमा बयान गर्न नसकेको र अन्य प्रतिवादीस“ग समेत यी प्रतिवादीको चिनजान रहेभएको मिसिल संलग्न कागजातबाट देखिन नआएको । श्यामबहादुर खत्रीलाई साधारण तारिखमा राखी मुद्दाको पुर्पक्ष गराउनुहोला ।’

२०७४ साउन १२ मै ओझा र बाँस्तोलाको आदेशले ३३ किलो सुनप्रकरणका आरोपी रामहरि कार्की, गोपालबहादुर शाही, राजकुमार ढकाल, रोजेश शाक्य, दिलबन्धु थापालगायत पनि छुटेका थिए ।

आदेशमा खत्रीले अनुसन्धान अधिकारी र अदालतमा कसुरमा इन्कार गरेको भन्ने व्यहोरा उल्लेख छ । तर आरोपपत्रको मिसिल हेर्ने हो भने एक दुईबाहेक सबै प्रतिवादीले इन्कारी बयान दिएका थिए । कसुर इन्कार गरेकै आधारमा आरोपितलाई साधारण तारिखमा छाड्ने न्यायाधीशद्वय बास्तोला र ओझालाई न्यायपरिषदले अहिलेसम्म पनि कुनै छानबिन गरेको छैन ।

उच्च अदालत पाटनले खत्रीलाई छाड्नुमा ‘अर्का प्रतिवादी श्रीनारायण यादवसमेतले खत्रीलाई पोल गरी अदालतमा बयान गर्न नसकेको’ भन्ने आधार देखाएको थियो । जब कि यादवले सुनकाण्डमा एसएसपी खत्रीको सहयोगमै सबै सेटिङ भएको र पटक पटक आफूले उनलाई रकम दिएको भनी दुई पटक अनुसन्धान अधिकारीसमक्ष बयान गरेका थिए । यदि त्यतिबेला एसएसपी श्याम खत्रीलाई मागदाबी अनुसार संजाय भएको भए ३३ किलो सुन र सनम शाक्य हत्याप्रकरण दोहोरिने पो थिएन कि भन्ने ठाउँ समेत दिएको छ ।

छानबिनका क्रममा बयान लिइएका रञ्जितकुमार गुप्ताले २०६८ देखि एसएसपी खत्री सुन व्यापारी कहाँ आउने–जाने गर्थे भनेका थिए । यसले पनि उनी लामो समयदेखि सुन तस्करीमा संलग्न रहेको पुष्टी गरेको छ ।

उच्च अदालत पाटनले सुन तस्करी भएका बेलामा श्रेष्ठ रेडियो अपरेटर कक्षमा नभएको कारण देखाउ“दै अदालतले उनलाई सामान्य तारेखमा छाड्न आदेश दिएको थियो । ‘प्रस्तुत वारदातका दिन श्रेष्ठ रेडियो अपरेटर कक्षमा थिए भनी मुद्दा लगाउने प्रहरी (वादी) ले दाबी लिन नसकेकाले’ आदेशमा भनिएको छ, ‘उनलाई धरौटी दुई लाख रुपैयाँ “ लिई तारेखमा राख्नु ।’

न्यायाधीशद्वय ओझा र बाँस्तोलाको इजलासले पहिले गरेको कारोबारमा संलग्न थियो भनेकै आधारमा श्रेष्ठलाई मुछ्न नहुने राय दिएको हो । तस्करी आरोपमा पक्राउ परेका दिलबन्धु थापाले श्यामकृष्णलाई नियमित रूपमा घुस खुवाउने गरेको भनी बयानमा स्वीकारेका थिए ।
साँघु

प्रतिक्रिया दिनुहोस्