Sunday 22nd of September 2019

नेकपाको जिल्ला नेतृत्व चयनमा भद्रगोल : एकै व्यक्ति सांसद, मन्त्री, केन्द्रीय सदस्य र जिल्ला सचिव !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २०७६ बैशाख ८ गते बालुवाटारमा बसेकाे सचिवालय बैठकले टुंगो लगाएको ७७ वटै जिल्लाका अध्यक्ष र सचिवहरुको नामावली बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा सार्वजनिक गरिएको छ।

जिल्लाका अध्यक्ष र सचिवहरुको छनौट सन्तुलित नभएको, जातीय सन्तुलन पनि नमिलाइएको, चाकड़ीबाज, पदलोलुपलाई जिम्मेवारी दिईएको, कसैलाई दोहोरो जिम्मेवारी दिईएको, केही केन्द्रीय सदस्यलाई जिल्लाको नेतृत्व दिईएको, जुनिएरहरुलाई टपक टिपेर नेतृत्वमा लगेकाले पूर्व माओवादी केन्द्र र एमालेका कार्यकर्तामा व्यापक असन्तुष्टि छाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैशाख ८ गते आइतबार बसेको बैठकले बैठकले जिल्लाकाे नेतृत्व टुङ्गयाएकाे पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई बताएका थिए ।

केन्द्रीय सदस्य, सांसद, मन्त्री र जिल्ला सचिव एकै व्यक्ति बन्न सफल भएका छन्। ती भाग्यमानी व्यक्ति हुन् शालिकराम जमरकट्टेल (धादिङ) ।

नेकपाको जिल्ला नेतृत्व यतिसम्म भद्रगोल भएको छ कि केन्द्रीय सदस्यबाट सीधै जिल्ला कमिटी सचिवमा ‘बढुवा’ भए भनेर व्यंग्य समेत हुन थालेको छ। केन्द्रीय सदस्यबाट जिल्लाको नेतृत्व गर्ने भाग्यमानी नेताहरुमा गोपी अछामी (मोरङ), श्रवण यादव (धनुषा), डाचाराज वाग्ले (सर्लाही), युवराज भट्टराई (रौतहट), दावा तामाङ (सिन्धुपाल्चोक), हिमाल शर्मा (काठमाडौं), शालिकराम जमरकट्टेल (धादिङ) र दधिराम न्यौपाने (रुपन्देही) रहेका छन्।

बैशाख ९ गते कम्युनिष्ट पार्टीकाे स्थापना दिवस अघि नै जिल्ला अध्यक्ष र सचिवहरुकाे नामका विषयमा निर्णय लिइसक्ने नेकपाका शीर्ष नेताहरुले बताउदै आएका थिए ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले पाेलिटब्यूराे र जनबर्गीय संगठनकाे नेतृत्वका विषयमा केही दिनमै टुङ्गो लगाउने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्