Thursday 2nd of April 2020

ऐतिहासिक लमजुङ दरबार अपहेलित

काठमाडाैं । १६औँ शताब्दीमा निर्माण भएको भनेर दाबी गरिँदै आएको लमजुङ दरबार नेपालकै पुरानो दरबारमा पर्दछ । बाइसे चौबिसे राज्य अस्तित्वमा रहेका वेला गोरखा दरबार, पाल्पा दरबार, नुवाकोट दरबार, भक्तपुर दरबारजस्तै यो दरबार बनेको थियो । शासक र राज्य व्यवस्था फेरिएसँगै पुराना दरबारहरूको महत्व घट्दै गयो । मुलुककै पुरानो मानिएको बेंसीसहर नगरपालिका–३ गाउँसहरमा रहेको लमजुङ दरबार पनि उपेक्षित रह्यो र अहिले यो जीर्ण अवस्थामा पुगेको छ ।

यो दरबार समुद्री सतहदेखि १ हजार ४ सय ४५ मिटर उचाइमा रहेको छ । शाहवंशीय शासनको उद्गमथलो हो लमजुङ । त्यसैको विरासत पनि हो लमजुङ दरबार । कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई विसं १५४० मा लमजुङका खजेदुरा, सुकराम क्याउसा, माघे दुरा, कुश्माखर घिमिरे, लक्ष्मण दुराले लमजुङको पहिलो चौबीसे राज्यका राजा स्थापना गरिएको थियो ।

त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हालेका तत्कालीन घलेराजाका सेनाले कालु शाहको हत्या गरिदिएको ऐतिहासिक कथन छ । यो घटनापछि उनीहरूले नै कुलमण्डलका कान्छा छोरा यशोबह्मा शाहलाई पुनः कास्कीकोटबाट ल्याएर राजकाज अघि बढाए । उनलाई १५ असार रविबारका दिन १५ घडीको सिंह लग्नमा विसंं १५५० मा राजगद्दीमा आसीन गराएको ऐतिहासिक शिलालेखमा उल्लेख छ ।

उनको मृत्युपछि उनका जेठा छोरा नरहरि शाह विसं १५९८ मा राजा भए । उनी पछि क्रमशः चुडा शाह (१६४५), अचित शाह (१६६२), नरेन्द्र शाह (१६९३), केहरिनारायण शाह (१७३३), भीम शाह (१७९४), रिपुमर्दन शाह (१७९८) र वीरमर्दन शाह (१८०२–१८३९) गरी नौ पुस्ताले सो दरबारबाट शासन चलाएका थिए । लमजुङका अन्तिम राजा वीर शाह थिए । विसं १८३९ कात्तिक १९ गतेसम्म शाहवंशले लमजुङ दरबारमा राजा भएर राजगद्दी सम्हालेको स्थानीयवासीहरू बताउँछन् ।

शाहवंशीय राजा आएपछि समेत धेरै समयसम्म घलेराजा अस्तित्वमा रहेको जानकारहरू बताउँछन् । त्यतिबेलाको पश्चिम नेपालको लमजुङ–कास्की क्षेत्रमा फैलिँदै गएका खस आर्य समुदाय र लमजुङका खजेदुरालगायतका दुराहरूको पहलमै लमजुङमा घलेराजाको सट्टामा शाहका सन्ततिलाई ल्याएर राजा बनाएको गाउँसहरका एक जानकार स्थानीयवासी देवबहादुर गुरुङ बताउँछन् । शाहवंश आउनुअघि यहाँ घलेराजाले राजकाज चलाएका थिए ।

नरहरि राजा भएका वेला यशोबह्माका छोराहरू झगडामा उत्रिएपछि कान्छो छोरा द्रब्य शाह राईनासकोटको गोठमा बसे । उनी लमजुङ दरबारमै हुर्किएपछि सो गोठमा बसेका हुन् । पछि उनले १६१६ सालतिर गोरखाको लिगलिगकोटको दौड जितेपछि लिगलिगकोट र माझकोट कब्जा गरी गोरखा राज्य खडा गरे र त्यही राजा भएर बसे । द्रव्य शाहको ११औं पुस्ता पृथ्वीनारायण शाह हुन् ।

पृथ्वी नारायण शाहले बाइसे चौबीसे राज्यलाई एकपछि अर्को गरी गाभेर राज्य विस्तार गर्न थाले । विभिन्न राज्यहरू कब्जा गरे पनि लमजुङ भने स्वतन्त्र रहेको थियो । विसं १८३९ मा पृथ्वी नारायण शाहकी बुहारी राजेन्द्र लक्ष्मी शाहको पालामा लमजुङ नेपाल राज्यमा गाभिएको जानकारहरूको भनाइ छ । त्यसबेला गोरखा र लमजुङको तार्कुघाटमा लडाइँ हुँदा लमजुङ हारेपछि नेपाल राज्यमा गाभिएको थियो ।

तत्कालीन शासनकालका थुप्रै ऐतिहासिक उतारचढावको साक्षीका रूपमा रहेको लमजुङ दरबार दिनानुदिन जीर्ण बन्दै गइरहेको छ । पानी पर्दा दरबारको छानाबाट पानीभित्रै चुहिने गरेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख लोकराज अधिकारीले बताए । विसं ०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पनि दरबारको पुतली गारोलगायत अन्य भागमा क्षति पु¥याए पनि कुनै मर्मत नभएको उनको भनाइ छ । सरकार र राज्यका सम्बन्धित निकायले यस दरबारको मर्मत सम्भार, संरक्षण र सम्बद्र्धन र प्रबद्र्वन गर्न नसकेको स्थानीयवासी एवं बेसीशहर नगरपालिका–३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठ बताउँछन् ।

राज्यबाट चासो नदिँदा र आवश्यक प्रचारप्रसार पनि नहुँदा यस दरबारको ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्वसमेत नामेट हुने अवस्थामा पुगेको छ । उनले भन, ‘राज्य र सम्बन्धित निकायले नेपालको ऐतिहासिक धरहोर हो भनेर बुझ्न जरुरी रहेको छ । दरबारका सबैजसो भाग जीर्ण भइसकेकाले दरबार विलुप्त भए भावी पुस्ताले समेत थाहा नपाउने र इतिहास नै गुम्ने खतरा बढेको छ ।’

केही महिना अघि गाउँसहर क्षेत्रको ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय महत्व उजागर गर्न स्थानीय सरोकारवालाहरूको चाहना अनुरूप लमजुङ दरबार परिसरमा यशोबह्मा शाहको शालिक निर्माण गरिएको छ । लमजुङ उदिपुरमा रहेको श्रीजंग गणले शालिक निर्माण गरेको हो । बेंसीसहरदेखि उक्त दरबार जाने सिंढीको बाटो बेंसीशहर नगरपालिकाले बनाउँदै गरेको र केही महिनापछि निर्माण कार्य सम्पन्न हुने बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताए । राज्य र सम्बन्धित निकायबाट जति हुनु पर्ने हो त्यो भने हुन नसकेको जिल्लावासीको गुनासो छ । लमजुङ दरबारको शिरमा पुरानोकोट गढी रहेको छ ।

सो गढी क्षेत्रमा घरबस्तीका भग्नावशेष, मठमन्दिर, त्यतिवेला प्रयोग गरेका ढिंकीको ओखल, जातो, सिलौटोजस्ता सामग्रीहरू अहिले पनि देख्न पाइन्छ । ती ऐतिहासिक वस्तुहरूको संरक्षण हुन सके पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने थियो । मन्दिरहरू, ढिंकी, जातो र राजाका सेनाहरूले सुरक्षा दिने भवनहरू यतिवेला भग्न अवस्थामा रहेका छन् । सो दरबारमा राजाहरूले प्रयोग गर्ने गरेका सामग्रीहरूसमेत कोठामा थन्किएर बसेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । यस दरबारमा राजा भएका शाहवंशीय राजाहरूको तस्वीरहरू र केही सामग्री सशस्त्र द्वन्द्वका वेला तत्कालीन माओवादीहरूले जलाएर नष्ट पारिदिएको कार्यालय प्रमुख अधिकारीले बताए ।

उनले भने, ‘राज्यको बेलैमा चासो जान सकेको भए ती तस्बिर र सामग्रीहरू सुरक्षित रहन्थ्यो । नेपालको इतिहास बोकेको यस्ता ऐतिहासिक वस्तुहरूको संरक्षण गर्न राज्य र सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको छ ।’ शाहवंशीय राजाहरूको कुलदेवता मानिने लमजुङ कालिका मन्दिर पनि सोही परिसरमा रहेको छ । लमजुङ दरबारमा रहेको कालिका मन्दिरमा वर्षभरि पूजा हुने भए पनि मुख्यतया वर्षको दुईपटक पूजापाठ हुँदै आएको छ । चैतेदसैंको घटस्थापनादेखि अष्टमीसम्म र वडादसैँ घटस्थापनादेखि दशमीसम्म पूजापाठसँगै यहाँ ठूलो मेलासमेत लाग्ने गर्दछ । यहाँ सरकारी बलि पनि दिने गरिन्छ ।

विशेष पूजा हेर्न र पूजापाठ गर्न लमजुङ कालिका मन्दिरमा भक्तजनको निकै भिड लाग्ने गर्दछ । बाइस सुसारे पुजारीहरू अर्थात् बाइस जातिका पुजारीहरू लमजुङ दरबार परिसरमा रहेको लमजुङ कालिका मन्दिरमा रहेका छन् । अहिले पनि उनीहरूले पूजाआजा गर्दै आएका छन् । करिब १६ रोपनी क्षेत्रफलमा लमजुङ दरबार रहेको छ । जिल्लाको बेंसीसहरबाट आठ किलोमिटरको दुरीमा अवस्थित छ लमजुङ दरबार । या दरबार पुग्न गाडीबाट करिब ४५ मिनेट लाग्छ भने, पैदल हिँडेमा सवा एक घण्टादेखि दुई घण्टामा पुग्न सकिन्छ ।

ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्व बोकेको यस दरबारको संवद्र्धन, प्रवद्र्धन र जीर्णोद्धारमा राज्यको ध्यान पुग्न सकेको छैन । भावी सन्ततिहरूका लागि पनि यो दरबार सुरक्षित राख्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्