Thursday 14th of November 2019

जेल जीवन पछि एनआरएनए अमेरिकामा देखिए बन्धु र टिपी

अमेरिका । कहाली लाग्दो त्यो क्षण संझदा अहिले पनि झस्कन्छन् बन्धु पोखरेल । केही सहयात्री भुइमा नै ढले । उनलाई पनि गोलीका छर्राले भेट्यो । रगताम्मे अवस्थामा पुलिसले बुटले हान्दै जेल हाल्यो । पञ्चायती व्यवस्था उखेल्न र तानासाही राजतन्त्रको पखेटा छिमोल्न निर्णायक मोडमा पुगेको २०४६ सालको जनआन्दोलनमा बन्धु अग्र मोर्चामा थिए ।

जनआन्दोलनको समय भन्दा धेरै पहिला देखि प्रजातान्त्रिक आन्दोलनमा बन्धु पोखरेल सक्रिय भएको स्मरण सुनाउँछन् सियाटल निवासी टी पी खनाल । “चन्द्र भण्डारी र बन्धु पोखरेल त्यो समयका विद्यार्थी नेता हुनुहुन्थ्यो । उहाँहरूको निर्देशनमा विद्यार्थीहरुले आन्दोलन उत्कर्ष तर्फ लगिरहेका थिए । हामी पनि उहाँहरूको योजनामा चल्थ्यौ ।” खनालले अगाडि थपे “नेपालमा प्रजातन्त्रका लागि यति धेरै सङ्घर्ष र कुर्वानी गरेका कमै नेताहरू अमेरिकामा आएका छन् ।” २०४२ सालको सत्याग्रह भन्दा अगाडि देखि राजनीतिमा सक्रिय बन्धु पोखरेल ने बि सङ्घको तर्फबाट पाल्पामा स्ववियू सभापति भए । ने वी सङ्घ अर्घाखाँची जिल्ला अध्यक्ष र नेपाली काँग्रेस अर्गखाची जिल्ला पार्टी सचिव पनि बने बन्धु ।

तर उनले राजनीतिलाई आय आर्जन र जीविको पार्जनको माध्यम कहिले पनि बनाएनन् । पोखरेलले यूएनएफपिएमा कार्यक्रम सञ्चालक र निर्देशक भएर काम गरे । पोखरलेल भन्छन् “राजनीतिक पृष्ठ भूमिबाट आए पनि त्यसको प्रभाव पर्न नदिई सङ्घ संस्था कसरी चलाउनु पर्छ भन्ने अनुभव छ मसँग ।” पोखरेलले अहिले एनआरएनए अमेरिकाको कोषाध्यक्षमा प्रतिस्पर्धा गर्न मनोनयन दाखिला गरेका छन् ।

एउटा संयोग नै मान्नु पर्छ बन्धुको नेतृत्वमा जनआन्दोलन र विद्यार्थी आन्दोलनमा लागेका सियाटल निवासी टि पी खनाल अहिले एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा उठेका छन् । खनाल भन्छन् “प्रजातन्त्रको खातिर राजनीतिमा लागियो । कर्मचारी र ट्रेड युनियन मुभमेन्टमा पनि लागियो । संस्थालाई कसरी राम्रो गर्न सकिन्छ भन्ने अनुभव छ । अहिले त्यसैलाई एनआरएनमा जोड्न अगाडि बढेको छु ।”

प्रतिक्रिया दिनुहोस्