Tuesday 23rd of July 2019

शिक्षकलाई सूत्र: गणितको पाठमा कथाको प्रयोग

काठमाडौं । शिक्षक एक कलाकार हो र शिक्षण उसको कला हो । कुनै पनि पाठ शिक्षण गर्दा सहज तरिका अपनाउनु उसको कर्तव्य हो । शिक्षण गर्दा विशिष्ट किसिमका शैक्षिक सामग्री नै बनाएर देखाउनुपर्दछ भन्ने धारणा राखियो भने त्यो कला उसको लागि बोझ् हुन जान्छ ।

तर कक्षाकोठा र विद्यार्थीसँग उपलब्ध हुनसक्ने शैक्षिक सामग्रीहरू नै प्रयोग गरेर कथा, खेल, नाटक आदि विधिद्वारा शिक्षण गर्न सकेमा त्यो शिक्षण प्रभावकारी हुन्छ भन्ने मेरो अनुभव छ ।

गणितको कुनै पाठ पढाउँदा पाठमा प्रवेश गर्नुअघि बालबालिकालाई कसरी अवधारणा दिने भनेर तयारी गर्ने हो भने उनीहरूलाई गणित गाह्रो लाग्दैन, सरल लाग्छ । गणित शिक्षकले सबभन्दा ध्यान दिनुपर्ने पाटो नै यही हो भन्ने मलाई लाग्छ । अर्थात् गणितका खास विधि र प्रक्रियाको अवधारणा स्पष्ट पार्ने कुरालाई उच्च महत्वपूर्ण दिइनुपर्छ ।

यस सन्दर्भमा कक्षा–३ का बालबालिकालाई कसरी कुनै पनि संख्यालाई नजिकको दशमा शून्यान्त गर्न सकिन्छ भन्ने पाठ शिक्षण गर्दा कथात्मक शैली प्रयोग गरेर अवधारणा बुझउन सकिन्छ । यसो गर्दा विद्यार्थीहरू रमाउँछन् र सिकाइ प्रक्रियामा सक्रिय पनि हुन्छन् । परिणामतः उनीहरूले पाठ सहजै बुझन सक्छन् । यो मेरो अनुभव हो, र विश्वास पनि । शून्यान्तरका सम्बन्धमा निम्न अनुसार क्रियाकलाप गर्न सकिन्छ :-

सर्वप्रथम त यो पाठ पढाउँदा विद्यार्थीलाई ० देखि १०० सम्मका संख्याको ज्ञान हुनु जरूरी हुन्छ । कुनै पनि निर्धा्रित संख्या कुन दश भित्र पर्न जान्छ भन्ने थाहा नपाउने बालबालिकाले संख्यालाई शून्यान्त गर्न सक्दैनन् ।

जस्तै, १६ संख्या १० र २० को बीचको अङ्क हो भन्ने जानकारी उनीहरूमा हुनु आवश्यक हुन्छ । यसैगरी, २२ संख्या २० र ३० को बीचको अङ्क हो भन्ने थाहा हुनुपर्दछ ।
यो पाठको अवधारणा स्पष्ट पार्न निम्नानुसार चित्र बनाएर वा चित्र प्रयोग गरेर कथात्मक तरिकाबाट शिक्षण गर्न सकिन्छ :-

१. माथिको चित्रमा राम घरबाट विद्यालय जान लागेको छ । ऊ घरबाट निस्कने बित्तिकै, अचानक पानी पर्‍यो । तर ऊसँग छाता छैन भने ‘अब राम के गर्छ होला ? कसले भन्न सक्छ होला’ भनेर प्रश्न सोध्ने बित्तिकै बालबालिकाहरू ‘म भन्ने म भन्ने’ भन्न थाल्छन् । सबै विद्यार्थीको उत्तर पालैपालो सुन्नुपर्छ । उनीहरूबाट कारण सहित थरीथरीका जवाफ आउन सक्छन् । अन्त्यमा, घर नजिकै भएको हुँदा अथवा राम भएको ठाउँबाट विद्यालय टाढा भएकोले ऊ घर नै जान्छ भनेर प्रष्ट पार्ने ।

२. यही कथालाई अर्को ढंगबाट पनि प्रस्तुत गर्ने । राम विद्यालय नजिक पुग्दा पानी परेछ भने उसले के गर्छ होला भनेर सोध्ने । विद्यार्थीले विद्यालय नजिकै छ, तसर्थ ऊ विद्यालय नै जान्छ भनेर उत्तर दिन केहीबेर लगाउँदैनन् । अर्थात् उनीहरूमा टाढा र नजिकको धारणा बसिसकेको हुन्छ ।

३. अब राम घर र विद्यालयको बीच बाटोमा पुग्दा पानी प¥यो भने के गर्छ भनेर प्रश्न सोध्ने । यसरी प्रश्न गर्दा घर जाने समय र विद्यालय जाने समय बराबर लाग्छ । यस्तो अवस्थामा विद्यार्थीले दुवैखाले उत्तर दिने सम्भावना रहन्छ । त्यसबेला, राम एक असल विद्यार्थी हो, ऊ पढ्नको लागि विद्यालय जान हिंडेकोले ऊ विद्यालयतिर नै जान्छ भनेर प्रष्ट पार्ने । अर्थात् कुनै पनि संख्या बीचमा छ, त्यसलाई शून्यान्त गर्दा अगाडिको अङ्कतिर शून्यान्त गरिन्छ, पछाडि फर्किइँदैन भन्ने धारणा दिनुपर्दछ ।

४. उक्त कथालाई घर, राम र विद्यालयको स्थानमा संख्या रेखा बनाएर पनि शून्यान्त गर्न सिकाउन सकिन्छ । जस्तै :-

५. उपयुक्त संख्या रेखामा रामलाई विभिन्न संख्यामा राख्दै शून्यान्त गर्न सिकाउन सकिन्छ । जस्तै १२, १३, १५, १६, १७, १८, १९ आदि संख्यामा रामलाई राखेर शून्यान्त गर्न सकिन्छ । संख्या १५ मा रामलाई राख्दा घर र विद्यालय जान बराबर दूरी हुने हुँदा असल विद्यार्थी विद्यालय जान्छ अर्थात् अगाडि बढ्छ भनेर १५ लाई नजिकको दशमा शून्यान्त गर्दा २० हुन्छ भनेर ज्ञान दिने ।

यसैगरी २० देखि ३० सम्मका संख्या, ३० देखि ४० बीचका संख्यालाई क्रमशः सिकाउँदै ९० देखि १०० सम्मका संख्यालाई नजिकको दशमा शून्यान्त गर्ने शिक्षा दिन सकिन्छ ।

६. यो पाठलाई खेल विधिबाट पनि रुचिपूर्ण तरिकाले शिक्षण गर्न सकिन्छ र विद्यार्थीले सहजै पाठ सिक्न सक्दछन् । जस्तै :
(क) कक्षामा भएका ११ जना विद्यार्थीलाई लहरै उभ्याएर नामको ठाउँमा संख्या नाम दिएर पनि शून्यान्तको धारणा दिन सकिन्छ ।


जस्तै राम १० हो । श्याम ११, हरि १२, रेनु १३, गीता १४, सीता १५, निशा १६, पारु १७, हीरा १८, हेमु १९, र कृष्ण २० हुन् ।

यो उदाहरणमा हरि १२ लाई नजिकको दशमा शून्यान्त गर्दा राम (१०) तिर जान्छ वा कृष्ण (२०) तिर जान्छ भनेर छलफल गर्न लगाउने । यसरी नै १४ सम्मको संख्या र नाम भएका विद्यार्थीहरू राम (१०) भएको तिर शून्यान्त हुन्छन् ।

१५ देखि १९ सम्मका संख्या र नाम भएका विद्यार्थी २० तिर शून्यान्त भएर जाने बारेमा कक्षामा प्रयोगात्मक तरिकाले देखाउन सकिन्छ । हरिलाई नजिकको १० मा शून्यान्त गर्दा कता जान्छ भनी विद्यार्थीलाई प्रश्न गर्दा राम १० हो ऊ नजिक छ, तसर्थ ऊ १० तिर जान्छ भन्ने कुरा प्रष्ट पार्ने । माथिका नाम र संख्यालाई पालैपालो शून्यान्त गर्न लगाएर विद्यार्थीलाई यो पाठको धारणा दिन सकिन्छ ।

यसरी धारणा बुझेपछि उनीहरूले गणितको पाठमा भएका प्रश्न वा समस्या सजिलै हल गर्न सक्छन् । अवधारणा नबुझई एकैचोटि समस्या समाधान गर्न लगाए उनीहरूले पाठ राम्ररी बुझदैनन् । र, माथिल्लो कक्षामा पनि उनीहरूलाई गणित विषय गाह्रो लाग्छ । संख्यालाई शून्यान्त गर्ने पाठ कक्षा–४ र कक्षा–५ मा पनि भएको हुँदा कक्षा–३ मा राम्रोसँग धारणा दिन सकेमा कक्षा–४ मा नजिकको सयमा शून्यान्त र कक्षा–५ मा नजिकको हजारमा शून्यान्त गर्न सिकाउन सजिलो हुन्छ ।

सीतादेवी वोहरा (पञ्चकन्या आभूवि, लम्टगीन मार्ग, बालुवाटार, काठमाडौं)
शिक्षक मासिकबाट

प्रतिक्रिया दिनुहोस्