Tuesday 23rd of July 2019

आरु बेचेरै लखपति

कालिकोट । ‘लौ है ! आयो १० रुपैयाँको दाना, मात्र १० रुपैयाँ, आउनुहोस, खानुहोस, सस्तो पनि मिठो पनि ।’ अम्बिकाको आजभोलिको दिनचार्य यसरी नै आरु बेच्दै बितेको छ ।

खाँडाचक्र नगरपालिका– ११ बदालकोट बरातुका अम्बिका गिरीको खेतबारीमा आरु लटरम्म फलेका छन् । पाँच किसिमका आरुका बोटहरू फरक फरक सिजनमा फल्ने गर्दछन् । वैशाख महिनामा पाक्ने आरुलाई यो ठाउँमा देसी आरु भन्छन् । अहिले यही देशी आरु बेच्ने समय छ अम्बिकाको ।

शुक्रबार साझतिर उनले दुई डोका आरु टिपिन अनि शनिबार बिहानै १ डोको आरु बोकेर सदरमुकाम मान्मको यात्रा तय गरिन् । आरु मान्म बजारमा पुग्नै नपाइकन बाटो मै पैदल यात्रा गर्नेले किनेर सदरमुकाम मान्ममा आधा डोको मात्र आरु लिएर आइन् । सदमुकाम मान्मको प्रतिमाचोकमा उनले आरु बेच्छिन् ।

‘गर्मीका दिन, बेसिजनमा पाइने आरु, मानिसले एकैचोटी आरु किनेर सकिहाल्छन् ।’ अम्बिकाले भनिन् ‘ठूलो दाना आरुको १५ रुपैयाँ, अलि सानोको १० रुपैयाँ । बेसिजनमा पाइने आरु एकैचोटी कट्छ ।’ कर्णालीमा बोलिने खस भाषाको प्रयोग गदै उनले भनिन्‘ बेलिबाहा बेल्टी आरु नाफै टिप्याछौ आज अबेरै सकिगया, अब अ‍ैलै घर गइकन एक डोको आरु ल्याइ आउँदो । आरुअइ बेचिकन मेरा टुवाटइकन कापी, कलम, हडउँदा लाउन्या टाला यति मात्त होइन घरका जहानका खान्या चामल, ओक्तो मुलो सबै यही आरुबाट अद्दो छौँ ।’

अम्बिकाले यो सिजनमा आरु बेचेर दैनिक ४÷५ हजारको हाराहारीमा पैसा कमाउँछिन् । उनको बारीमा साउन, भदौसम्म पाक्ने आरुका बोट छन् ।

अम्बिका मात्रै होइन बरातुकै अर्की सपुरा गिरीको खेतमा यो सिजनमा पाक्ने आरु छन् । सपुरा र अम्बिका दुबैजना घरबाट सदमुकाम सँगै आउँछन् । तर, आरु बेच्दा भने उनीहरू फरक फरक ठाउँमा बस्छन् । सपुराले भनिन् ‘सँगै बस्दा हामबीच एक अर्काको आरु कमै कट्छ, छुट्टै बस्दा भने हामीका आरु सजिलै बिक्री हुन्छन् ।’

सपुरा आरु बेच्न जिरोप्वाइन्ट नजिकैको सानो चोकमा बस्छिन् भने अम्बिका प्रतिमा चोकमा बस्छिन् । उनीहरूले सिजनमा आरु बेचेरै एक महिनाको १ लाख ५० हजारसम्म आम्दानी गरिरहेका छन् ।

बरातु आरु खेतीले हैन सुन्तला पकेट क्षेत्रको रूपमा पनि चिनिन्छ । जिल्लाकै एक मात्र फलफुल र तरकारी उत्पादन गर्ने बरातुमा अहिले आरुको सिजन चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्