Tuesday 23rd of July 2019

हराउँदै साँखुको मौलिकता

काठमाडौं । राजधानीको आसपासका पुरातात्विक सम्पदाले भरिपुर्ण भएको स्थान हो साँखु । जहाँ केही वर्ष अघिसम्म मौलिक शैलीको घर बस्ति, मठ, मन्दिर,पाटि, पौवाले भरिपूर्ण थियो । जहाँ प्रबेशद्वारदेखि नै मौलिकता झल्कने सम्पदा र बस्तीले पर्यटकको मन लोभ्याउने गर्दथ्यो ।

०७२ को भुकम्पले नेपालका विभिन्न सम्पदा, बस्तीहरूलाई तहसनहस पा¥योे । त्यसबाट साँखुको मौलिक सम्पदा, बस्ती पनि अछुत रहन सकेन । साँखूमा भूकम्प अगाडि लिच्छविकालिन मल्लकालिन शैलिका घरहरु देख्न सकिन्थ्यो । सो बस्तीको प्रबेशद्वारबाट बज्रयोगिनी मन्दिर रहेको छ । सो प्रबेशद्वार भित्र हजारौ मन्दिर रहेको पाइन्छ ।

बस्तिको वरिपरी पुराना सम्पदाहरु रहेको देख्न सकिन्छ । तर सो सम्पदाको अस्तित्व संकटमा पर्दै गएको छ । ऐतिहासिक पोखरीमा समेत ढलान, पिल्लर उठाएका अबस्थामा देख्न सकिन्छ । मन्दिरमा ढलान देख्न सकिन्छ । साँखु पुरानो नेवारी बस्ती भएकाले एकै नासका घरहरु, आँखि झ्याल, नेवारी बस्तिको पहिचानकै रुपमा रहेको थियो । भूकम्प पछि सो बस्ति भत्किए सम्पदा ढले ।

भूकम्पको चार वर्ष नवित्दै अधिकांश मन्दिर घरहरु उठे तर बिडम्बना मौलिक, परम्परागत शैलीमा उठ्न सकेन । जुन लिच्छबिकालिन, मल्लकालिन शैलीका मठ, मन्दिर, पाटि, पौवा ती बस्तिका बनावट सबै फेरियो । नेवारी बस्तिको आँखिझ्याल, होचा ढोकाको ठाउँमा क्रंक्रिटका ढलान पिल्लर बनेर ठडिए । सिमेन्टको थुप्रो बनेर निस्कियो ।

सरकारले घोषणा गरेको सातओटा सम्पदा बस्तिमध्येमा साँखु पनि एक हो । पुननिर्माण भएको यहाँ अब क्रंक्रिटको पर्खाल मात्र देख्न सकिन्छ । साँखुलाई सरकारले सम्पदा बस्ती घोषणा गरिसकेको छ । सो बस्तिमा पुग्दा लाग्छ यो सम्पदा बस्ती होइन । आधुनिकताको नाममा मौलिकता मासिएको स्थानीयको भनाइ छ ।

सरकारले सम्पदा बस्तीमा एकै प्रकारको उचाईमा घर बनाउन मापदण्ड समेत बनाएको छ । सम्पदा बस्तीमा भवन निर्माण गर्दा ३५ फिट भन्दा माथि जान पाइदैन । भूकम्प अगाडि नै निर्माण भएका घरहरू भएकाले उचाई बढी देखिएको शंखरापुर नगरपालिका–७ का वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले बताएका छन् । अगाडिको भागमा सिमेन्ट नदेखिने गरी निर्माण गर्न नगरपालिकाले आदेश दिएको स्थानीयको भनाइ छ ।

इञ्जिनियरिङ पढ्दा सिमेन्ट, छडको घर बनाउने पढाइ हुन्छ । ढुंगा, माटाका घर बनाउन नगरपालिकाले स्वीकृत नदिने भएकाले जताततै सिमेन्ट प्रयोग भएको नगरपालिकाका एक इन्जिनियले बताए् ।

शंखरापुर नगरपालिका–६ र ७ मा पर्ने सम्पदा बस्तीका १५ प्रतिशत घर नक्सापास विनानै निर्माण गरेको पाइएको छ । आर्थिक, पारिवारिक कारण देखाउँदै आफुखुसी घर बनाउँदै आएको शंखरापुर नगरपालिका–७ का वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले बताए । सरकारले सम्पदा बस्तीका लागि आवश्यक मापदण्ड तोकिसक्दा समेत मापदण्ड अनुसार भवन निर्माण हुन सकेको छैन ।

नगरपालिकाले नक्सापास विना, मापदण्ड विपरित भवन निर्माण गर्नेलाई कुनै कारवाहीको प्रक्रिया अगाडि बढाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्