Sunday 19th of May 2019

काठमाडौं महानगरमा छैन गतिलो बधशाला, उपभोक्ताको चुल्होमा अस्वस्थ मासु

[mashshare]

काठमाडौ । अस्वस्थ मासु उपभोक्ताको चुल्होमा पाकिरहेका बेला काठमाडौं महानगरपालिका बधशाला बनाउन असफल भएको छ। बधशाला बनाउने बजेट उपयोग गर्न नसक्दा फ्रिज हुने अवस्थामा पुगेको छ।

महानगरपालिकाले बधशाला बनाउन छुट्याएको २ करोड रुपैयाँ बजेट फ्रिज हुने अवस्थामा पुगेको महानगरपालिका पशु विभागका प्रमुख हरि भण्डारीले बताएका छन्। काठमाडौंमा बनाउन नमिल्ने भएपछि बजेट फिर्ता हुने अवस्थामा पुगेको महानगरले दाबी गरेको छ। ‘निजी क्षेत्रसँग सहकार्य गरेर बनाउन खोजिएको थियो’, उनलले भने, ‘तर, कोही पनि सहकार्यका लागिआएनन्, त्यहीकारण बधशाला बन्न सकेन।’ महानगर आफ्नै निर्णय कार्यान्वयन गराउन असफल भएको हो। महानगरले धादिङमा बधशाला बनाउने निर्णय गरेको भण्डारीले बताए। त्यो निर्णय पनि विवादमा परेपछि बधशाला निर्माण योजना अलपत्र परेको उनी बताउँछन्।

‘महानगरसँग सहकार्य गर्न निजी क्षेत्रबाट कोही आएनन्’, उनले भने । २ करोडले मात्र बधशाला बनाउन नसकिने भएपछि प्रक्रिया अगाडि बढ्न नसकेको भण्डारीले बताए । उपत्यकामा पर्याप्त खुल्ला स्थान नभएकाले बधशाला बनाउन नसकिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले बताए। प्रयोगमा नआएको बजेटलाई बधशाला बनाउन नै खर्च गरिने उनले दाबी गरेका छन्।

डंगोलका अनुसार बाहिर जिल्लाबाट ल्याइने राँगा,खसी र कुखुरा राख्ने ठाउँ उपत्यकामा छैन। ‘काठमाडौं उपत्यकामा अस्वस्थ मासु उपलब्ध नहोस् भनेर बधशाला बनाउने निर्णय भएको थियो। तर ठाउँ अभावले बधशाला बनाउन सकिएन’, उनले भने। काठमाडौं उपत्यकामा दैनिक १० लाख किलोग्राम माछामासु खपत हुने गर्छ।

करिब ५० लाख मानिसको बसोबास रहेको उपत्यकामा स्वस्थकर मासु उपलब्ध गराउन ‘मिट मार्ट’ र कोल्ड स्टोर बनाउनुपर्ने डंगोलको भनाइ छ। सबैभन्दा बढी मासु होटलमा खपत हुने डंगोलले बताए। महानगरलपालिकाले खड्गी समाजलाई मिट मार्ट बनाउन आग्रह गरेको थियो। तर खड्गी समाजले आफैँले चलाउने भनेपछि बधशाला बन्न नसकेको डंगोलले बताए। खड्गी समाज पनि बधशाला बनाउन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्