Thursday 14th of November 2019

काठमाडौंबाट झण्डै ११ हजार लिटर घरेलु मदिरा बरामद

काठमाडौं । काठमाडौंका बूढानीलकण्ठ नगरपालिका र गोकर्णेश्वर नगरपालिकाका बिभिन्न स्थानबाट प्रहरीले १० हजार ९ सय लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

आइतबार दिउँसो करिब ३ बजेदेखि साँझ साढे ६ बजेसम्म प्रहरीले बूढानीलकण्ठ नगरपालिकाका वडानम्बर १०, ११ र १२ तथा गोकर्णेश्वर नगरपालिकाको त्रिवेणी चोक लगायतका स्थानमा छापा परेर अवैध मदिरा नियन्त्रणमा लिएको थियो ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख नरेन्द्र चन्दको कमाण्डमा महानगरीय प्रहरी प्रभाग कपनसमेत संयुक्त टोली परिचालन गरिएको थियो । सो टोलीले तयारी मदिरा अन्दाजी २ हजार ४ सय लिटर, कच्चा मदिरा ८ हजार ५ सय लिटर, मदिरा बनाउन प्रयोग गरिने साना-ठूला ४० वटा ड्रम र प्लास्टिकका साना ३० थान बाँटा बरामद गरेको थियो ।

बरामद मदिरा र कच्चा पदार्थ स्थानीयबासी, वडा प्रतिनिधि र सञ्चारकर्मीहरुको रोहबरमा सोही स्थानमा पोखेर नष्ट गरिएको थियो । अन्य अनुसन्धान कार्य पनि बौद्ध प्रहरीले गरिरहेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्