Tuesday 23rd of July 2019

३३ वर्षमा पनि पत्ता लागेन गुठीको सम्पत्ति

काठमाडौं । गुठी संस्थान स्थापनाको ३३ वर्र्षको अवधिमा समेत देशभर रहेका गुठीहरूको संख्या, अवस्था र गुठीका सम्पत्तिको वास्तविक जानकारी थाहा हुन सकेको छैन। गुठी संस्थान ऐन, २०२१ मा राजगुठी तथा निजी गुठीको विवरण राख्नुपर्ने व्यवस्था छ।

संस्थानसँग राजगुठीको तथ्यांक रहेको भए पनि निजी गुठीहरूको अभिलेख संकलन तथा अभिलेखीकरण हुन सकेकाे छैन । संस्थानका उपप्रशासक सरोज थपलियाका अनुसार संस्थानसँग यसबारे स्पष्ट अभिलेख छैन। ऐनको दफा २१ ले स्पष्ट रूपमा निजी गुठीहरूको अभिलेख राख्ने जिम्मेवारी संस्थानलाई दिएको छ। सरकारले ‘निजी गुठीलाई राजगुठीमा परिणत गर्नेसम्बन्धी कार्यविधि, २०७४’ कार्यान्वयनमा ल्याई निजी गुठी सञ्चालन र व्यवस्थापनको जिम्मेवारीसमेत संस्थानलाई दिएको छ।

२०३३ सालमा स्थापना कालदेखि नै सोको जिम्मेवारी संस्थानले पाएको भए तापनि उद्देश्यअनुरूप काम गर्न नसक्दा यसबीचमा निजी गुठीहरूको अवस्थाबारे प्रश्न उठ्ने गरेको छ। निजी गुठी अतिक्रमणमा पर्ने गरेको, विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेका तथा जग्गाको दुरुपयोग बढेको गुनासो सर्वत्र आइरहेको छ।

संस्थानले भने स्पष्ट कानुनको अभावमा सम्भव नभएको बताएको छ। निजी गुठीमा विभिन्न महन्थ, मठाधीश, पुजारी तथा स्थानीयले अतिक्रमण गरी आफूखुसी उपयोग गर्दै आएको पाइएको छ। यसमा गुठी संस्थानकै जिम्मेवार अधिकारीहरूको भूमिकामाथि समेत प्रश्न उठ्ने गरेको छ। देशभर रहेका गुठी संरक्षण हुन नसक्नुमा मालपोत कार्यालयहरूको शंकास्पद भूमिका देखिएको छ।

राजगुठीको तथ्यांक रहेको भए तापनि निजी गुठीतर्फको तथ्यांक गुठी संस्थानसँग छैन। मालपोत कार्यालयहरूको भूमाफियासँगको नेक्ससका कारण गुठी जग्गाहरू विभिन्न व्यक्तिका नाममा गर्ने गरेको, विभिन्न स्थानका जग्गा गैरकानुनी रूपमा व्यक्तिका नाममा जानुले समेत पुष्टि भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्