Thursday 23rd of January 2020

प्रहरीको कुटपिटमा मृत्यु भएको वृद्धको शव अझै उठ्न सकेन

बैतडी । प्रहरीको कुटपिटमा गएराती एक वृद्धको मृत्यु भएको भन्दै आफन्तहरुले शव उठाउन दिएका छैनन् । पाटन नगरपालिका ६, भकुडाका स्थानीय ६५ वर्षीय कमलकान्त पन्तको प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै आफन्त र स्थानीयहरुले शव उठाउन दिएका छैनन् । गएराती मृतक पन्तका छोरा लवदेव पन्तले मदिरा सेवन गरि स्थानीय पन्त थरकी महिलासंग अभद्र व्यवहार गर्दै कुटपिट समेत गरेको भन्दै प्रहरीलाई खबर आएपछि प्रहरी उक्त महिला भएको स्थानमा पुग्दा लवदेव आफ्नो घर गएको र घर गई लवदेवलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा मृतक कमलकान्तले अवरोध गरेपछि प्रहरीले कुटपिट गर्दै छोरा लवदेवलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

ईलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक ईन्द्र गिरीले प्रहरीले कुटपिट गरेको स्वीकार गरेका छन् । उनले लवदेवलाई नियन्त्रणमा लिन खोज्दा अवरोध गरेपछि डिउटीमा रहेका प्रहरीले सामान्य लठ्ठी र हातले एक झापड हानेकने गिरीले स्विकार गरेका छन् । तर पन्तको मृत्यु कुटपिटबाट नभई अन्य कारणले भएको हुन सक्ने भन्दै पोष्ट मार्टम पछि सबैकुरा खुल्ने प्रहरी निरिक्षक बोगटीले बताए ।

उता, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) नेत्रमणी गिरीले घटनाबारे अनुसन्धान भैरहेको भन्दै पोष्ट मार्टम पछि मात्रै अन्य कुराहरु जानकारीमा आउने बताए । उहाँले यदि कुनै प्रहरीको कुटाईबाट मृत्यु भएको रहेछ भने उक्त प्रहरीलाई कानुनी अनुसार कारवाही गरिने बताए ।

सुदूरपश्चिम प्रहरी प्रदेश कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक (डिआईजी) सुरज केसीले कुटपिटबाट मृत्यु भएको भए कुटपिटमा संलग्न प्रहरीलाई कारवाही गरिने जनाएको छ । उहाँले घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी नेत्रमणी गिरीलाई घटनास्थल पठाई सकेको बताउँदै प्रहरी नायब महानिरिक्षक केसीले प्रहरीले दिएको प्रतिबेदन र शवको पोष्ट मार्टम रिपोर्ट पछि मात्रै कारवाहीको प्रकृया बढाईने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्