Sunday 19th of May 2019

रोयल क्यासिनोमा पटेलको २४ करोड डुब्यो, नयाँ समुहद्वारा कब्जा

[mashshare]

काठमाडौं । सर्बोच्च अदालतको अन्तरिम आदेशबाट सञ्चालनमा रहेको गिल्ट इन्भेस्टमेन्ट प्रालिद्वारा संचालित क्यासिनो रोयल गत हप्तादेखि नयाँ समुहले कब्जा गरेको छ ।

दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सञ्चालित रोयल क्यासिनो भारतीय नागरिक आशिष पटेलले खरिद गरि आफु निकट कर्मचारी जयन्ती थापामगरको नाममा सुरेन्द्र बहादुर सिंहबाट नामसारी गरेका थिए । रोयल क्यासिनोको मालिक भएपछी थापामगरबिरुद्द सम्पती शुद्धिकरण विभागमा मुद्दा पनि परेको छ ।

करिब ८ महिना आशिष पटेलकै निर्देशनमा क्यासिनो संचालन भएपछी बिना लगानी आफ्नो नाममा आएको क्यासिनोबाट जयन्तीले फाईदा लिने निर्णय गर्दै पट्टेललाई धोका दिई गोकर्ण लामिछाने,अनिशलगायतलाई क्यासिनो रोयल चलाउने जिम्मा दिएकी छन् ।

उनले भारतीय नागरिक पटेललाई क्यासिनो भित्र प्रवेश नदिन कर्मचारीलाई निर्देशन दिदै अनलाइन मोनिटरिङ सिस्टमबाट समेत हटाई क्यासिनो कु गरेकी छन् । जयन्तीले पटेलका प्रतिनिधिहरु एक्जुकेटिभ डाइरेक्टर निशान्त पटेल, फुर्ड एण्ड बेभरेजका प्रशान्त पटेल, मार्केटिङ प्रमुख वसन्त सापकोटा र फाइनान्स प्रमुख अपी जोशीलगायतका पटेल नजिकका कर्मचारीलाई जवर्जस्ती निस्काशन गरि नयाँ समुहलाई क्यासिनोको जिम्मा लगाएकी छन् ।

स्रोतका अनुसार जयन्तीले नयाँ समुहबाट दुई करोड पचास लाख नगद लिईसकेकी छन् भने बाँकी तिन करोड पचास लाख प्रति महिना पचास लाखका दरले लिने सर्तमा क्यासिनो जिम्मा लगाएको उनी निकट स्रोतले वतायो ।

एकातर्फ सरकारलाई बुझाउनुपर्ने कर र बक्यौता रकम नबुझाई अटेर गरेर बसेकी सो क्यासिनोको सञ्चालक जयन्तीले पछिल्लो समयमा पर्यटन विभागलाई पठाएको पत्रबाट चित्त नबुझेपछि तत्काल बाँकी बक्यौता र कर चुक्ता गर्नु/ गराउनु भन्दै दोस्रो पत्र पठाएपछि जयन्ती अप्ठ्यारोमा परेकी थिइन ।

क्यासिनो अर्को समुहलाई जिम्मा लगाएर रकम लिई जयन्ती भने बिदेश पलायन हुन खोजेको उनीमाथि आरोप लागेको छ। । अहिले क्यासिनोका पीडित कर्मचारीहरुले पर्यटन बिभाग,कुमारी चोक तथा केन्द्रिय तहसिल कार्यालय,राजस्व कार्यालय र नेपाल सरकारलाई जयन्ति थापामगर बिदेश भाग्न लागेकोले उनको पासपोर्ट कब्जा गरेर राखी सरकारलाई तिर्नुपर्ने राजस्व १३ करोड २८ लाख ५९ हजार ४ सय १४ र मजदुरहरुको १७ करोड भन्दा बढी तलब र संचयकोष तत्काल चुक्ता गराउन आग्रह गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको पर्यटन विभागले गिल्ट इन्भेष्टमेण्ट प्रालि दरवारमार्गको नाममा दोस्रो पत्र पठाई बक्यौता चुक्ता गर्न निर्देशन दिएको छ ।

सो विभागले पठाएको पत्रमा सर्वोच्च अदालतको मिति २०७२/११/१५ को अन्तरिम आदेशबमोजिम होटल याक एण्ड यति दरबारमार्ग, काठमाडौंमा त्यस कम्पनीद्वारा सञ्चालित क्यासिनो सम्पूर्ण शेयर साबिक सञ्चालक सुरेन्द्रबहादुर सिंहको नामबाट जयन्ती थापाको नाममा कम्पनी रजिष्ट्रार कार्यालयको मिति २०७५/५/१७ को निर्णयअनुसार लगत कायम भएपछि पनि कर नबुझाएकोमा तत्काल बुझाउन दोस्रो पत्र पठाएको हो ।

कम्पनीको सेयर हस्तान्तरणका समयमा साबिक सञ्चालक र हालको सञ्चालकबीच कम्पनीले सरकारलाई बुझाउनुपर्ने बक्यौता भुक्तानी सम्बन्धमा के कस्तो व्यवस्था गरिएको छ, सो सेयर खरिदबिक्री सम्झौताको एकप्रति यथाशीघ्र विभागलाई उपलब्ध गराई कर चुक्ता गर्न समेत निर्देशन दिएको विभागले जनाएको छ ।

महालेखा परीक्षकबाट लेखापरीक्षणका क्रममा कायम भएको बेरुजु र क्यासिनो सञ्चालनबापतको रोयल्टी त्यसमा लाग्ने शुल्क तथा थप शल्क समेतको बक्यौता रकम यस विभागसँग समन्वय गरी १५ दिनभित्र चुक्ता गर्न निर्देशन दिईएको हो ।

क्यासिनो रोयलकी सञ्चालिका जयन्तीले पठाएको पत्रबाट चित्त नबुझेपछि पर्यटन विभागलाई पुनः पठाएको पत्रको जवाफ दिनुभन्दा अघि आफ्नो सम्पत्तिको स्रोत खुलाउन नसक्ने देखिएपछि नयाँ लगानीकर्ताको खोजीमा सक्रिय भएकी छिन् ।

जयन्तीले आफू सुरक्षित हुन र कारबाहीबाट बच्नकै लागि लामो समयदेखि विभिन्न क्यासिनो संचालन गरेको समुहलाई क्यासिनो रोयलमा लगानीकर्ताको रुपमा भित्र्याई भारतीय लगानीकर्ता पट्टेललाई धोका दिएको वताइएको छ।

सुरेन्द्रबहादुर सिंहसँग क्यासिनो रोयलको सबै सेयर खरिद गरेको भन्दै चर्चा भएसँगै थापाले हालसम्म ७३ करोड रुपैयाँभन्दा बढी रकमको स्रोत देखाउनुपर्ने र उनको सम्पत्तिमाथि छानबिन गरी कारबाहीको माग राख्दै सम्पत्ति शुद्धीकरण विभागमा उजुरी परेपछि सो कारबाहीबाट जोगिनकै लागि नयाँ समुहलाई क्यासिनोमा भित्र्याइएको छ ।

अहिले जयन्तीको गिरोहले केहि मजदुर नेताहरुलाई आर्थिक प्रलोभनमा पारि क्यासिनो कब्जा गरेको वताइन्छ । सो समुहले जयन्तीलाई लगानी गर्ने पर्दा पछाडिको क्यासिनोको बास्तबिक मालिक आशिष पटेललाई क्यासिनो प्रबेश बन्द गरेका छन् । पटेलले आफ्ना बिश्वाशपात्र जयन्तीको नाममा क्यासिनो रोयल पास गराएका थिए ।

लामो समयदेखि बाँकी रहेको बक्यौता र कर समेत सरकारलाई नबुझाई अदालतको आदेशको भरमा सञ्चालन हुँदै आएको राजधानीलगायत देशभरका क्यासिनोले व्यवस्थापन नै परिवर्तन गर्ने गरेको पाइएको छ । पछिल्लो समयमा ह्याप्पी आवर कम्पनी प्रालि नामक कम्पनीले कागजी रुपमा कम्पनीको सञ्चालक (मुख्य व्यक्ति) महिनैपिच्छे परिवर्तन गर्दै आएको छ ।

सरकार र क्यासिनो सञ्चालकबीच लामो समयदेखि रोयल्टी बक्यौता चुक्ता गर्न ताकेता गरेदेखि विभिन्न बहाना देखाएर राजस्व नबुझाउने क्यासिनो सञ्चालकहरुले विना अनुमति अबैधानिक काम गर्दै पनि आएका छन् । भारतको गुजरात अहमदाबाद घर भएका आशिष पटेल नेपालमा क्यासिनोमा लगानी गर्दा लुटिएको यो तेस्रो पटक हो ।

पटक–पटक क्यासिनोमा लगानी गर्दा पटेलको २४ करोड रुपैयाँ गुमेको छ । गत भदौ १७ गते सुरेन्द्र बहादुर सिंहको नामको गिल्ट इन्भेस्टभेण्ट प्रालि त्यही क्यासिनोकी कामदार जयन्तीको नाममा सेयर ट्रान्सफर गरे ।

पटेलले एफडीआई ल्याएपछि जयन्तीले कम्पनी छाड्ने कागज गरिन् । त्यही कागजको भरमा पटेलले १४ करोड रुपैयाँ लगानी गरे, तर फेरि पनि उस्तै घटना क्रम दोहोरियो । जयन्तीले अन्य व्यक्तिलाई क्यासिनो दिने सम्झौता गरेर क्यासिनोका संचालक पटेललाई क्यासिनो छिर्न रोक लगाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्