Saturday 25th of January 2020

विद्यार्थीसंग त्रिपन्न करोड ठग्ने सत्र लाख धरौटीमा छुुटे

काठमाडौं । विद्यार्थीबाट अवैध तरिकाले ५३ करोड रुपैयाँ असुल गरेर ठगी गरेको आरोप लागेका गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याललाई जिल्ला अदालत कास्कीले १७ लाख रुपैयाँ धरौटीमै छाडेको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले उनलाई २०७६ बैशाख ९ मा १७ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

अर्याल संचालक रहेको गण्डकी मेडिकल कलेजले तोकिएको भन्दा प्रति विद्यार्थी १५ लाख रुपैयाँ बढी लिएको बिषयमा १५ दिनभन्दा बढी आन्दोलन भएको थियो ।

विद्यार्थीहरुले आफूहरुसंग लिएको बढी रकम फिर्ता हुनुपर्ने माग राखेर आन्दोलन गरेपछि प्रहरीले गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई पक्राउ गरेको थियो । तर अर्याललाई भने प्रहरीले पक्राउ गरेको थिएन । अर्याललाई प्रहरीले थाहा पाएर पनि पक्राउ नगरी जोगाएको आरोप लागेको थियो । प्रहरीले मुद्दा छिटोछिटो बुझाएर अर्याललाई अदालतमा हाजिर गर्ने मौका दिएकाले पनि उनलाई पक्राउ नगर्ने प्रहरी नियत उदांगो भएको छ ।

मुद्दा पेश गरिसकेपछि अदालतमा पनि सेटिङ गरी एक दिन पनि हिरासतमा नबसी १७ लाख धरौटीमा रिहा भएका थिए । गण्डकी मेडिकल कलेजमा अध्ययनरत १८ जना विद्यार्थीले अर्यालसहित खनाल र शर्मासहित १० जनाविरुद्ध प्रहरीमा ५३ करोड रुपैयाँ ठगी गरेको जाहेरी दिएका थिए । स्टाफ नर्स, एमबीबीएसलगायत शैक्षिक कार्यक्रममा तोकिएको भन्दा बढी शुल्क उठाएको उजुरी दिएपछि प्रहरीले खनाल र शर्मालाई पक्राउ गरे पनि अर्याललाई पक्राउ नगरी चलखेल गर्ने मौका दिएको थियो । पछि अदालतमा मुद्दा पेश गरिसकेपछि अर्याल बिचौलियामार्फत् ठूलै रकम खर्च गरी १७ लाख धरौटीमै छुट्न सफल भएका छन् ।

जिल्ला अदालत ललितपुरका न्यायाधीश विश्वमंगल आत्रेय, तनहुँका न्यायाधीश ओमकार उपाध्याय, काठमाडौंका बाबुकाजी बानिया“लाई न्यायसम्पादनमा त्रुटि देखिएपछि कारबाही गर्ने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले विद्यार्थीसंग ५३ करोड रुपैयाँ ठग्ने खुमा अर्याललाई १७ लाख धरौटीमा छाड्ने न्यायाधीश लालकाजी श्रेष्ठलाई के गर्ने हुन् भन्ने जिज्ञासा न्यायक्षेत्रमा पैदा भएको छ । यसअघि सिक्टा सिंचाई आयोजनाको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट २ अर्ब १३ करोड ७६ लाख ८० हजार रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरिएका ठेकेदार विक्रम पाण्डेलाई विशेष अदालतले ४ करोड धरौटीमा छाडेको थियो । सिक्टा सिंचाईमा बिगो दाबी गरिएभन्दा धेरै कम धरौटीमा छाडिएको बारेमा मिडियाबाजी भएपछि विशेष अदालतका न्यायाधीशहरु चण्डी ढकाल, नारायण पोखरेल र रत्नबहादुर बागचन्द मुद्दै नहुने अदालतमा सरुवा भएका थिए ।

प्रहरीलाई आधा करोड भेटी !

तोकिएको शुल्कभन्दा बढी उठाएर ५३ करोड रूपैयाँ असुल गर्ने कलेजका अध्यक्ष खुमा अर्यालसहित १० जनाविरूद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी गरिसकेपछि कास्की प्रहरीले अर्याललाई खोज्दै नखोजी हतार हतार अदालतमा मुद्दा दर्ता गरेको थियो । मुद्दा पेश गर्दा कमजोर बनाएर पेश गरिएको आरोप छ । अर्यालले कास्की प्रहरीका प्रमुख ओमबहादुर रानालाई ठूलो प्रलोभनमा हतार हतार मुद्दा दर्ता गरिएको आरोप पीडित विद्यार्थीहरुको रहेको छ ।

खुमा अर्यालले मुद्दा कमजोर बनाएर दर्ता गरेबापत प्रहरीमा आधा करोड रुपैया“ नै खर्च गरेको सूचना गण्डकी प्रदेशका डीआइजी दानसिंह बोहरा र आइजीपी सर्वेन्द्र खनालसमक्ष पनि पुगेको स्रोत बताउछ । तर गृहमन्त्री रामबहादुर थापा र उपराष्ट्रपति पुत्र दिपेश पुनसंग कनेक्सन भएका कारण घुस लिएको थाहा पाए पनि कास्की प्रहरी प्रमुखमाथि एक्सन लिने अवस्था डीआईजीपी बोरा र आइजीपी खनालमा नभएको प्रहरी स्रोत बताउ“छ ।

त्यसो त कास्की प्रहरीका प्रमुख रानामाथि कास्की र तनहुँको सीमा कोत्रे क्षेत्रमा अवैध नदी दोहन गर्न छुट दिएर क्रसरवालाहरुसंग शुभ लाभ लिने गरेको आरोप पनि छ । डाँडाको को नाक, कोत्रे, गण्डकी नदी नजिकको सेतीनदीको अवैध दोहन गर्न छुट दिएर पनि उनले क्रसरवालाहरुसंग असुल्ने गरेको आरोप छ ।(साँघु साप्ताहिक)

प्रतिक्रिया दिनुहोस्