Thursday 23rd of January 2020

कोठाभित्र यस्तो अवस्थामा भेटियो विप्लवका कार्यकर्ताको शव

काठमाडौ । काठमाडौंको बैद्यखानास्थित एउटा घरमा बम पड्किँदा मृत्यु भएका विप्लवका कार्यकर्ताको शव पुरिएको स्थानलाई नेपाली सेनाले घेराबन्दी गरेर अनुसन्धान गरेको छ ।

आइतबार दिउँसो बैद्यखानास्थित एउटा घरमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरू बसेको घरको कोठामा बम पड्किएको थियो । बम बनाउँदै गरेको अवस्थामा बिष्फोट भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

बम कति शक्तिशाली र कुन प्रकारको थियो भन्ने विषयमा नेपाली सेनाको विशेषज्ञको टिमले अनुसन्धान गरिरहेको छ ।

भित्र र बाहिरबाट सिमेन्टीले प्लास्टर गरिएको कच्चीघरमा भएको बम बिष्फोटपछि माथिको छत खस्दा नेकपाका कार्यकर्ताको शव पुरिएको अवस्थामा रहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डिएसपी काजीकुमार आचार्यले जानकारी दिए ।

‘नेपाली सेनाले बम बिस्फोट भएको स्थानलाई आफ्नो तरिकाले कारबाही र अनुसन्धान गर्दै छ’, उनले भने, ‘एकजना घाइतेलाई उपचारका लागि अस्पतालमा लगिएको छ ।’

बम बिस्फोट भएको कोठामा विप्लवका पाँच जना रहेको प्रारम्भीक अनुमान प्रहरीको छ । बम बिस्फोट हुनेवित्तिकै तीन जना व्यक्तिहरू फरार भएका छन् । उनीहरूको खोजतलास गरिएको प्रहरीले जनाएको छ ।

बनाउँदै गरेको बम बिष्फोट हुँदा घाइते भएका अखिल क्रान्तिकारी त्रिचन्द्र क्याम्पस ईकाइ अध्यक्ष रविन केसी घाइते अवस्थामा कोठाबाट बाहिर आएका थिए ।

रगतै रगतको अवस्थामा बाहिर आएका अध्यक्ष केसीलाई तत्काल अस्पताल लगिएको थियो । मृत्यु भएका विप्लवका कार्यकर्ताको सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्