Monday 16th of December 2019

यु्वा राजनितिज्ञ भु्वन आचार्य यस कारण मिडियामा चर्चित

पछिल्लो समय युवा समाजसेवी तथा स्वास्थ्य अभियान्ता भुवन आचार्य नेपाली छापा तथा डिजिटल मिडियामा चर्चित बनेका छन् । रामेछाप जिल्लाको साविक सुनारपानी गाविसको हाल मन्थली नगरपालिका वडा नं. ५ मा २०४६ सालमा जन्मिएका आचार्य ने.क.पा.का युवा वर्ग मध्येका सम्भावना बोकेका नेतामा पर्छन् । प्रायः जसो आजकाल देशका विभिन्न स्थानमा स्वास्थ्य शिविर तथा औषधि वितरणमा देखिने आचार्य राजनीतिमा करिब डेढ दशकदेखि लागिपरेका छन् । विद्यार्थी कालदेखि हाल सम्म राजनीतिमा सक्रियता बढाउँदै आएका आचार्यले तत्कालिन अनेरास्ववियू देखि नै काम गर्न सुरु गरेका हुन् ।

वि.सं. २०५९ सालमा भैरवि मा.वि. सुनारपानीमा पढ्दा देखिनै तत्कालिन नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको प्रा.क.मा बसेर काम गर्न सुरु गरेका आचार्य हाल राजनीति तथा समाजसेवामा चर्चित बनेका छन् । अनेरास्ववियूको प्रा.क. सँगै वि.सं. २०६० सालमा रामेछाप जिल्लाको तत्कालिन ने.क.पा. एमाले इलाका नं. ६ को सचिवको कार्यभार संहालिसकेपछि मात्रै राजनीतिमा आफूलाई सर्मपित गराएका आचार्य बताउँछन् । उनी भन्छन, ‘पहिला विद्यालय तहमा पढ्दाका ताका अनेरास्ववियूको प्रा.क.मा रहँदा राजनीति के हो ? भन्ने बुझाई प्रष्ट थिएन । विस्तारविस्तारै आफूभन्दा अग्रज नेताहरुको प्रशितक्षण तथा मार्गनिर्देशन पछि मात्रै राजनीतिको बारेमा प्रष्ट भएको हूँ । झन् विद्यार्थी जीवनको उत्तरार्धमा जब एसएलसी दिएपछि मलाई पार्टीले इलाका नं. ६ को सचिव पदको जिम्मेवारी दियो, तब मात्रै राजनीतिको लागि आफू पनि लायक छु भन्ने लाग्यो र हाल सम्म उस्तै गतिमा पार्टीका हरेक क्रियाकलाप र निर्देशनको पालना गर्दै आएको छु ।’

पार्टीले दिएको इलाका नं. ६ को सचिव पदको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेपछि वि.सं. २०६१ सालमा कोटेश्वर बहुमुखी क्याम्पस र वि.सं. २०६३ सालमा पशुपति बहुमुखी क्याम्पसमा समेत विद्यार्थी राजनीतिमा सक्रियता देखाएका थिए । वि.सं. २०६५ सालमा अनेरास्ववियू पशुपति क्याम्पस–रामेछाप सम्पर्क मञ्चको संस्थापक अध्यक्ष हुँदै क्याम्पस प्रा.क. को नेतृत्वको जिम्मेवारी समेत उनले लिएका थिए । पछि उनी २०६८ सालमा रामेछाप–काठमाण्डौ सम्पर्क मञ्चको सह–सचिव समेत हुन सफल भएका थिए ।

विद्यार्थी राजनीतिको यात्रामा पटक पटक नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको साङ्घातिक भौतिक हमलाबाट समेत आफूलाई अविछिन्न बचाउँदै पार्टी र समग्र नेपाली जनताको हित र खुशीका लागि होमिएका आचार्य पटक पटक गरी ६ महिना भन्दा बढी राजनैतिक बन्दीको रुपमा जेल समेत परिसकेका युवा नेता हुन् । उनी भन्छन्, ‘दर्शन र दिशा दुवै नभएका नेपाली काँग्रेसको युवा संगठन नेविसंघको बिल्ला भिरेका गुण्डाहरुको पटकपटकको हमलाबाट समेत आफूलाई बाचाइ राखेको छु । लाग्छ, नेपाली जनताको सेवा र देशको वृहत्तर हितको लागि नै मलाई समयले बचाइराखेको छ । हुन त जेल र नेल नखाई पाको नेता हुँदैन भन्ने मान्यता पनि छ सायद सोही भनाइको आाधारशीलामा मलाई पनि समयले पटक पटक गरी ६ महिना जेल हालिसक्यो । अब हेरुँ देशले मलाई आवश्यक ठानुन्ज्येल म यो यात्रामा अथक लागि रहने छु ।’

ने.वि.संघको एकपटकको हमलामा उनी सख्त घाइते भएका थिए । सो समयको यादमा गम्भिर बन्दै उनी भन्छन्, ‘एक पटक उनीहरुको हमलाबाट मैले ३ महिना केएसी हस्पिटल, सिनामंगलमा उपचारको क्रममा बिताउनु प¥यो । आफ्नो आफ्नो राजनैतिक आस्था र विश्वासमा सबै नागरिकहरुको सामुमा जाने हो । म पनि त्यस्तै क्रियाशीलतामा विद्यार्थीको हित र भविष्यका लागि राजनीतिमा क्रियाशील थिएँ तर मैले विद्यार्थी साथीहरुलाई गरेको सहयोग र मलाई अन्य साथीहरुले गरेको मायाको प्रभाव सहन नसकेर उनीहरुले मलाई हमला गरे । तर जे गरेपनि मेरो यो राजनैतिक यात्रा कहिल्यै रोकिँदैन ।’

विभिन्न हण्डर र राजनैतिक ठक्कर खाँदै अगाडि बढ्दै गरेका आचार्य वि.सं २०७१ सालमा त्रिभुवन विश्वविद्यालय राष्ट्रिय कमिटिका सदस्य पनि भएका थिए । २०७५ सालमा त्रि.वि. राष्ट्रिय कमिटिको सह–सचिव समेत हुन सफल भएका छन् ।

कुशल, इमान्दार तथा कर्तव्यनिष्ठ आचार्य हाल विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध भई समाज सेवाको पाटोमा अगाडि बढिरहेका छन् । नेपालमा ७७ वटै जिल्लाहरुमा स्वास्थ्य क्याम्प संचालन गरि स्वास्थ्य सेवाका क्षेत्रमा लागिपरेका उनी आफू भोलिका दिनमा स्वास्थ्य अभियान्ता बनेर सबै नेपालीहरुलाई स्वास्थ्यको पहुँचमा ल्याउने सपना सजाउँछन् । उनी भन्छन्, ‘कुनै नेपालीले सिटामोल पाएर अकाल मृत्युवरण गर्नु नपरोस् ।’

प्रतिक्रिया दिनुहोस्