Tuesday 25th of June 2019

‘प्रकृतिले बनाई दिएको नेपाल यति सुन्दर छ कि त्यो बाहिर खोजेर पाइँदैन’

रामप्रसाद खनाल बहुआयामिक व्यक्तित्व हुनुहुन्छ– गायक, लेखक, पत्रकार, संगठनकर्ता, व्यवसायी आदि । उहाँ एक दशकभन्दा लामो समयदेखि अमेरिकामा बस्दैआउनुभएको थाहा थियो, तर केही समययतादेखि काठमाडौं हुनुहुन्छ भन्ने थाहा थिएन ।

नेपाल समाचारपत्रले हरेक आइतबार अन्तर्वार्ता विशेष अंकका रुपमा प्रकाशित गर्ने निर्णय गरेपछि हरेक साता कुनै न कुनै ‘नेपाली डायस्पोरा’ ले यसमा स्थान पाउनुपर्छ भन्ने हामीले सोच बनायौं । संयोगवश यसको प्रारम्भ अत्यन्त उपयुक्त व्यक्तिबाट भयो, कामना प्रकाशन समूहका पुराना शुभचिन्तक रामप्रसाद खनालबाट ।

फोनमा सम्पर्क भएपछि हामीले आग्रह ग¥यौं, ‘प्रवासमा रहेर सफलता हासिल गर्ने नेपालीको प्रतिनिधिका रुपमा तपाईंलाई हामी अन्तर्वार्ता गर्न चाहन्छौं, विधि पनि त्यहीअनुसारको प्रयोग गरौं है’ । रामप्रसादजीले सहमति जनाउनुभयो । हामीले एनआरएन, राजनीतिक र कला गरी तीन विधामा उहाँलाई प्रश्न पठायौं । उहाँले विस्तारित रुपमा त्यसको जबाफ दिनुभयोः सम्पादक ।

रामप्रसाद जी, अमेरिकामा के गर्दै हुनुहुन्छ ? 
अमेरिकामा म विभिन्न व्यवसायमा संलग्न छु ग्रोसरी स्टोर, ग्यास, स्टेशन, सुपरमार्केट र रियल स्टेटको विजनेसहरु गर्दैछु । तर नेपालमा हुँदाझैं गीत–संगीत, कला, साहित्य, पत्रकारितालाई पनि निरन्तरता दिइरहेको छु । यसबाहेक म त्यहाँ विजनेस कन्सल्ट्यांटका रुपमा समेत कार्यरत छु ।

एनआरएनका लागि दोहोरो नागरिकताका पक्षमा हुनुहुन्छ ? 
हो, हामी एनआरएनहरु दोहोरो नागरिकताको पक्षमा छौं । त्यसले हामी एनआरएन र देश दुवैलाई फाइदा पुग्छ भन्ने हाम्रो ठहर छ । दोहोरो नागरिकता भयो भने एनआरएनहरुले स्वदेशमा लगानी गर्ने ग्यारेण्टी हुन्छ, हामीलाई मात्र होइन देशलाई झन बढी फाइदा पुग्छ । स्वदेशी पुँजी विदेश पलायन हुँदैन । अरु देशमा पनि हेर्नुस् न दोहोरो नागरिकता छ नि त ।

दोहोरो नागरिकताका नकारात्मक पक्ष पनि त छन् नि ? 
दोहोरो नागरिकताका सबै सकारात्मक पक्ष मात्रै छन् त म पनि भन्दिनँ तर हेर्नुस् न भारतमा दोहोरो नागरिकताले देशलाई कति फाइदा पुगेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी हुन् वा त्योभन्दा अगाडिका मनमोहन सिंह वा अन्य प्रधानमन्त्री, सबैले एनआरआई अर्थात् गैरआवासीय भारतीयलाई लगानीमा आकर्षित गर्दै देशको ठूलो कायापलट गरे । विदेशमा बस्ने हरेक भारतीयहरु त्यहाँको नागरिकता भए पनि भारतलाई बढी माया गर्छन्, लगानी गर्छन् । धेरै देशमा दोहोरो नागरिकताले फाइदा नै बढी पु¥याएको देखिन्छ । नेपालमा पनि यसलाई हामीले सकारात्मक रुपले हेर्न जरुरी छ ।

संविधानले व्यवस्था गरेको दोहोरो नागरिकताको प्रावधान कसरी लागु गर्ने ? सरकारलाई केही सुझाव छ ? 
नेपालको संविधानले एनआरएनहरुका लागि एनआरएन नागरिकता स्वीकार गरेको छ । संसदले त्यससँग सम्बन्धित कानुन बनाउने काम गरिरहेको छ । यो सकारात्मक कुरा हो तर यहाँ केही नेता, सांसद, मन्त्री वा सरकारमा हाली मुहाली गरिरहेकाहरु दोहोरो नागरिकतासँग त्रसित छन् ।

एनआरएनहरुले कुप्लुकै पार्ने हुन् कि, हामीलाई सिध्याउने हुन् कि भन्ने डर छ उनीहरुमा, त्यो भ्रम मात्र हो । मताधिकार सहितको अधिकार दिए झनै राम्रो, नदिए ठिकै छ, अरु कुरामा सबै नेपाली नागरिकसहर रहेर लगानी गर्न वा अधिकार दिइए त्यसले देशलाई बढी फाइदा पुग्छ । नेपाल सरकार र सरोकारवालाहरुसँग विनम्र आग्रह छ सहजीकरण गर्नुुस्, एनआरएनलाई पाखा लगाउने होइन अगाडि लगाउनुस्, त्यसले विकास र समृद्धिलाई टेवा पुग्नेछ ।


एनआरएनका सन्दर्भमा अरु केही थप्नु छ कि ? 
कुनै पनि नेपाली रहरले विदेश गएको, बसेको छ जस्तो मलाई लाग्दैन । आफ्नै माटो, आफ्नै परिवेशमा, आफन्तजनसँग सँगै बस्न, देशभित्रै केही गर्न मन हुँदाहुँदै पनि आज करिव एक करोड नेपाली देश बाहिर छन् । पढ्ने विद्यार्थीदेखि पढाउने प्रोफेसर, राम्रो इन्जिनियर, डाक्टर, कलाकार, पत्रकार हर क्षेत्रका मान्छे रोजगारीका लागि, राम्रो अवसरका लागि विदेश जाने प्रचलन बढेको छ । हाम्रो एयरपोर्टले हरेक दिन बन्द बासकमा लाशहरु भि¥याउँछ, सरकार वैदेशिक रोजगारीका लागि श्रम सम्झौता गरेर दक्ष जनशक्ति बेच्छ । गाउँघर सुनसान छन्, उत्पादन शून्य हुदैछ ।

परनिर्भरता बढेको छ । गाउँघरमा बिरामी पर्दा अस्पताल पु¥याउने हातहरु छैनन् । बुढाबुढी बाउआमाको विजोग छ । खेतवारी बाँझिदै गएका छन् । संगठित भ्रष्टाचार, अनियमितता बढ्दो छ । विकृति विसंगति चुलिएका छन् । राम्रो कुरा होइन नराम्रो कुरामा हामी अगाडि बढिरहेका छौं । रेमिट्यान्सर वैदेशिक सहायताले मात्र धानिएको देशमा अब सरकारमा बस्नेहरुले नयाँ ढङ्गबाट सोचुन, एनआरएनहरुलाई स्वदेश फर्कन भाषणमा होइन व्यवहारमा प्रयत्न गरुन् । नत्र स्थिति अत्यन्त नाजुक छ । कहाली लाग्दो यो अवस्था चिर्न एनआरएनहरु र नेपाल सरकारका बीचमा समन्वय र समझदारी अनि आकर्षक प्याकेजहरु बनाउन जति ढिलो भयो देश झन वर्वाद हुनेछ । हामी मात्र होइन हाम्रा सन्ततिको भविष्य झनै अन्धकारमय हुनेछ ।

प्रसङ्ग बदलौ, नेपालको राजनीतिक व्यवस्थालाई कसरी हेर्नुहुन्छ ? 
म राजनीतिबाट पूर्ण अलग छु । एउटा स्वतन्त्र व्यक्ति भएर गीत, संगीत, कला, साहित्य र पत्रकारिता गरिरहेको छु । तैपनि एउटा सचेत नागरिक भएर हेर्दा देशको राजनीतिक अवस्था लथालिङ्ग, भताभुङ्ग देख्छु । जुनसुकै तन्त्र आए पनि जनताले, देशले खास कुनै परिवर्तन महशुस गर्न पाएका छैनन् । देश प्रयोगशाला भएको देख्छु । जुन जोगी आए पनि कानै चिरेकाजस्ता देख्छु ।

देश र जनताको भलो सोच्ने एकजना नेता पनि देख्दिनँ । हामी त बाहिर बस्छौं, हामीले भन्दा तपाईंहरु देशभित्रै बस्नेहरुले बढी बुझ्नुभएको छ । मैले त यो लुटतन्त्र, गलगाँंड तन्त्र भयो भन्ने मात्रै सुन्छु जता पनि । कस्तो देश कस्तो बनाए हेर्नुस् त भन्दै आक्रोश पोखेको मात्र सुन्छु । दुई तिहाइको सरकार पनि विगतका सरकारभन्दा झन खत्तम भयो भनेको सुन्छु । वास्तविकता के छ तपाईं यही बस्ने–भोग्नेहरुले नै जान्नुस ।

आफू देश छोडेर पलायन हुने तर नेपालमै रहेका नेपालीले गरेको कामलाई राष्ट्रियताको कसीमा घोट्दै खोट लगाउने गर्नुहुन्छ भनिन्छ नि ? 
रहरले कोही पलायन हुँदैन । देश, काल, परिस्थितिको उपज हो अरु देशमा जानुपर्ने वाध्यता । तर देशभित्र बस्ने नेपालीले भन्दा देश बाहिर बस्ने नेपालीले नेपाललाई बढी माया गर्ने गरेको देखेको छु, भोगेको छु मैले । देशभित्र बस्दा भन्दा देशबाहिर बस्दा देशको माया झन बढी हुँदो रहेछ । संसारका ३५ भन्दा बढी राष्ट्र घुमें म कार्यक्रमका सिलसिलामा मैले अनुभव गरेको, देखेको तीतो यथार्थ यही हो ।

राष्ट्रियता तव मात्र बुझिन्छ जब देश बाहिर बसिन्छ । विदेशमा बस्ने हरेक नेपालीले नेपाललाई असाध्यै माया गर्छन् । नेपालमै बसेर काम गर्ने होउन् वा विदेशमा बस्ने नेपाली होउन् । राम्रो गरे जसले गरे पनि राम्रै भन्नुपर्छ, नराम्रो गरे नराम्रै भन्नुपर्छ । मेरो व्यक्तिगत अझ तीतो अनुभव के छ भने राष्ट्रियताजस्तो पवित्र शब्दलाई नेपालको फोहोरी राजनीतिमा रमाइरहेका किरारुपी कुरुप मान्छेहरुले आफ्नो अनुकूल, पार्टी र गुट अनुकूल परिभाषा गर्दैछन्, स्वार्थीहरुले राष्ट्रियताका व्यापार गरिरहेका छन्, राष्ट्रियताको भावना हराउँदै गएको छ । यो यथार्थता हो ।

विदेशमा बसेर नेपालको राजनितिमा चलखेल गर्ने एनआरएन हरुको बानीलाई कसरी हेर्नुहुन्छ ? 
एनआरएन भनेर सबैलाई खराव भन्दै एउटै घानमा राख्न त नमिल्ला । तर तपाईंले भनेझैं चलखेल गर्ने, गर्न चाहने पनि छन् त्यो निकृष्टताको पराकाष्ठा हो भन्छु म । एनआरएनभित्रै पनि फोहोरी नेपाली राजनीतिले जरा गाडेको छ त्यो सत्य हो । नेपालको फोहोरी राजनीतिले एनआरएन पनि विशाक्त हुँदै गएको छ, त्यो सबैले देखे जानको कुरा हो । हामी नेपाली चन्द्रमामा पुग्यौं भने पनि सुध्रिन्छौं जस्तो देख्दिनँ म । हामी कोही कांग्रेस भयौं, कोही नेकपा भयौं, कोही राप्रपा भयौं, कोही मधेशी, पहाडी, जातजाति भयौं तर नेपाली हुन छाडिसकेका छौं, यो साह्रै दुखद कुरा हो ।


अमेरिकाको राजनीतिमा नेपाली प्रभाव कस्तो छ ? 
अमेरिकामा करिव ३ लाख नेपालीहरु छौं हामी । जुन अमेरिका जस्तो विशाल देशका लागि नगन्य सङ्ख्या हो । अमेरिकी राजनीतिमा नेपाली प्रभाव खासै उल्लेखनीय छैन तर अमेरिकामा बसे पनि नेपालको फोहोरी राजनीतिको प्रभाव हामी त्यहाँ बस्ने नेपालीमा पनि प्रचुर देखिन्छ । त्यहाँ पनि यिनै कांग्रेस, कम्युनिष्ट, राप्रपा, मधेशी दलहरुको छायाँ छ । झन खत्तम छ । राजनीतिबाट अलग, स्वतन्त्र मान्छे म, मैले मजस्ता स्वतन्त्र बहुतै धेरैमान्छे देख्छु तर अधिकांश सब दलका भक्तबहादुरहरु झोलेहरु बढी देख्छु ।

राजनीतिका सन्दर्भमा अरु छुटेका कुरा केही छन् कि ? 
नेपाली फोहोरी राजनीतिले हामी देश विदेशमा बस्ने सबै नेपालीलाई विभक्त बनाएको छ । देश वर्वाद पारेको छ, हर क्षेत्र, वर्ग, समूह राजनीतिको फोहोरी नाली जस्तै बनेको छ, दलगत, गुटगत, राजनीतिले हाम्रो स्वर्गजस्तो देश नेपाल आज यस्तो दुर्गति व्यहोर्दै छ । देशले एउटा जिउँदो नेता, शासक खोजिरहेको छ । आपराधिक राजनीतिबाट मुक्ति खोजिरहेको छ, एउटा अर्को जङ्गबहादुर खोजिरहेको छ, जो देशका लागि केही गर्न सकोस् ।

अब सबैले फोहोरी राजनीतिबाट अलग रहेर, राष्ट्र र राष्ट्रियतालाई शिरमा राखेर सोच्नुपर्ने बेला आएको छ । देश वर्वाद पार्नेहरुलाई नेता मानेर तिनैका दास बन्ने, भक्तबहादुर बन्ने, व्यक्तिगत स्वार्थमा रनभुल्ल भएर आफ्नो मात्र होइन आफ्ना सन्ततिको भविष्य सयौं वर्षसम्म अन्धकार बनाउने हाम्रो आत्मघाति कदमबाट पछि हट्ने र भविष्यको लागि डट्ने बेला आएको छ, मलाई त्यस्तो लाग्छ ।


अब फेरि तपाईंको व्यक्तिगत जीवनतर्फ फर्काैं तपाईंको गीत, संगीत, कला, साहित्य र पत्रकारिता कसरी अगाडि बढ्दैछ ? 
हजुर, म अमेरिकामा बसे पनि मेरो नेपाली कर्मलाई मैले छोडेको छैन । त्यहाँ बसेर पनि मैले आफ्ना व्यवसायसँग सँगै गीत, संगीत, कला, साहित्य लोक संस्कृति र पत्रकारितालाई निरन्तरता दिइरहेको छु ।

गीति एल्वममहरु प्रकाशित गरिरहेको छु । कविता, गजल, मुक्तकका पुस्तक प्रकाशन गरिरहेको छु । अमेरिका बस्न थालेदेखि नै मैले नेपाल मदर डट कम मार्फत अनलाइन पत्रकारिता गरिरहेको छु । त्यसकोअलावा विभिन्न मिडियाहरुमा पनि लेखन जारी छ । नेपाली संस्कृतिका लागि उहीं बसेर पनि काम गरेको छु । नेपाली संस्कृतिका लागि उहीं बसेर पनि आफू सक्दो योगदान दिईरहेको छु भन्ने लाग्छ ।

नेपालमै बसेर पो तपाईं यस क्षेत्रमा बढी योगदान दिन सक्नु हुन्थ्यो कि ? 
१२ वर्षमा खोलो पनि फर्किन्छ भन्छन् । म अमेरीका बसेको पनि १२ बर्ष भएछ । म पनि अब नेपाल बसाइ बढाउने तयारीमा छु । नेपालमै बसेर गीत संगीत, साहित्य, कला संस्कृति र पत्रकारिता क्षेत्रमा सक्दो योगदान दिन मैले गत वर्षदेखि शुरु नै गरिसकें । हेरौं, समय परिस्थितिले कति साथ दिन्छ । आफ्नै देशमा बसेर काम गर्न पाए त त्यहाँभन्दा अरु के चाहियो र ! तर देशको अवस्था कसरी अगाडि बढ्छ त्यसमा पनि भर पर्दछ । हेरौं, आशा गरौं, राम्रोका लागि ।

के तपाई अमेरिकामा सन्तुष्ट हुनुहुन्छ ? हुन त अमेरिकामा हर हिसावले स्टाब्लिष्ट भएर बस्नु भाको छ, सन्तुष्ट नै हुनुहुन्छ होला होइन ?
अमेरिकामा सबै कुरा छ । तर मेरो मन मुटु सधैं नेपालमा हुन्छ । सबै कुरा भएर पनि नेपाल मिस गर्छु म त्यहाँ । आफू जन्मेको माटो, आफ्नो माटोमा जति खुसी भइन्छ बाहिर त्यो नभइँदो रहेछ । प्रकृतिले बनाई दिएको नेपाल यति सुन्दर छ कि त्यो बाहिर खोजेर पाइँदैन । खुसी आफ्नै देशमा हुन्छ । तर कतिपय व्यावहारिक बाध्यता÷विवशताले गर्दा मान्छे आफ्नो माटो, आफन्तजनबाट टाढा विदेशिनुपर्ने रहेछ । मेरो हकमा कुरा यही हो बुझिहाल्नु भो होला ।


लोकगीत, दोहोरी गीत, लोक संस्कृतिको क्षेत्रमा स्थापित भैसकेको मान्छे, नेपाल टेलिभिजनको प्रभावशाली कार्यक्रम सञ्चालक । दर्शक–श्रोताले तपाईंलाई सम्झिरहेका छन्, तपाईं कत्तिको सम्झिनुहुन्छ ? 
म बाध्यता र विवशताले नेपाल छाडेर केही समयका लागि अमेरिका बसेको हुँ । मलाई थाहा छ मेरा दर्शक, श्रोताले मलाई मिस गरिरहनु भएको छ, त्योभन्दा बढी मैले मेरा दर्शक श्रोतालाई मिस गरिरहेको छु । नेपालमा पचास÷साठी हजार दर्शक श्रोताको बीचमा स्टेजमा गीत गाउने रामप्रसाद खनाल विदेशमा थोरै दर्शक÷श्रोतासँग चित्त बुझाउन बाध्य छ । यद्यपि म विदेशमा भए पनि मैले आफ्नो कर्मलाई निरन्तरता दिइरहेको छु र दिइरहनेछु ।

तपाईंका शिष्यहरु, तपाईले कलाकार बनाएका भाइ–बहिनीहरु अहिले राष्ट्रिय अन्तरौष्ट्रिय ख्याति प्राप्त कलाकार बनिसके । यस्तो देख्दा तपाईलाई कस्तो लाग्छ ? 
असाध्यै खुुसी लाग्छ । आफ्नो सफलतामा भन्दा आफूले सहयोग गरेका, अगाडि ल्याएका भाइ–बहिनीको सफलतामा म बढी खुसी हुन्छु ।

सूत्रमा व्यक्तित्व
-रेडियो नेपालको विशिष्ठ श्रेणीका लोक तथा दोहोरी गायक भएर सेवा गरिसकेका ।

-गीत संगीत, कला, साहित्य, पत्रकारिता र समाजसेवामा सक्रिय

-अन्तर्राष्ट्रिय कलाकार मञ्चको संस्थापक र हाल केन्द्रीय समितिको अध्यक्ष ।

-गीत, संगीत, कला, साहित्यलगायतका विषयमा हालसम्म १७ वटा पुस्तकका लेखक ।

– हालसम्म ४७ वटा गीति एल्वम प्रकाशित, राष्ट्रिय गीत, आधुनिक गीत, लोक गीत, दोहोरी गीत, भजन लगायतका सबै विधामा चिर परिचित । हालसम्म एकहजार दुई सयभन्दा बढी गीत रेकर्ड । करिब पन्ध्र सय कविता, गजल, मुक्तक प्रकाशित ।

– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्गटन डिसी मेट्रो कमिटीको अध्यक्ष भएर अमेरिका समाजको नेतृत्व गर्दैआएका व्यक्ति ।

– पच्चीस वर्षभन्दा लामो समयसम्म सक्रिय पत्रकारिता गरेवापत नेपाल सरकारद्वारा प्रख्यात त्रिशक्ति पट्टद्वारा विभूषित । गोरखा दक्षिण बाहुबाट समेत विभूषित ।

-अमेरिकाबाट दिइने ‘म्यान अफ द ईयर २००४’ अन्तर्राष्ट्रियय पुरस्कारबाट सम्मानित ।

– अमेरिकामा एक्स्ट्रा अर्डिनरी एबिलिटीअन्र्तगत प्रदान गरिने विशेष ग्रीनकार्ड पाई बसोबास गर्दैआएका एनआरएन ।

गीत–संगीत, कला, साहित्य, लोक संस्कृति, पत्रकारिताका क्षेत्रमा बढेका विकृति देख्दा कस्तो लाग्छ नि ? 
मन मुटु दुखेर आउँछ । कुनै पनि क्षेत्रमा अुनशासन–मर्यादा भएन भने त्यसले समाज र संस्कृति बर्वाद पार्छ । विकृति, विसंगतिलाई निरुत्साहित गर्न हामी सबैले आ–आफ्नो ठाउँबाट भूमीका निर्वाह गर्नुुपर्छ । हामीले धर्म, कर्म हर चिज त वरवाद पा¥यौं तर आफ्नो संस्कृति, कला, साहित्यलाइ बर्वाद नपारौं । नेपाल भए नेपाली रहने छौं । नेपालीपन रहे मात्र हामी नेपाली रहने छौ ।

हालसम्म तपाईले प्रकाशित गर्नु भएका कृति, एल्वम कति पुगे ? 
गीत संगीत, कला, साहित्य, जीवन यात्रासमेत गर्दा १७ वटा पुस्तक प्रकाशित भए । ४७ गीति एल्वम प्रकाशित भए । वाह्र सयभन्दा बढी गीत गाइएछ, पन्ध्र सयभन्दा बढी कविता, गजल, मुक्तक प्रकाशित छन् । ३० वर्षभन्दा बढी पत्रकारितामा र करिव ४० वर्ष गीत संगीतमा बिताइएछ ।

तपाईको संलग्नता कता कता छ अहिले ? 
म विश्वकै पहिलो, स्वतन्त्र, कलाकारहरुको अन्तर्राष्ट्रिय छाता संस्था, अन्तर्राष्ट्रिय कलाकार मञ्चको अध्यक्ष छु । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्गटन डिसीको अध्यक्ष भएर दुई कार्यकाल सकेर भर्खर मात्र निवर्तमान भएंँ । त्यसबाहेक एनआरएन लगायतका विभिन्न संघ–संस्था र आफ्नै व्यवसायहरुमा संलग्न छु । मेरो बारेमा मेरो व्यक्तिगत वेवसाईट रामप्रसादखनाल डट कममा सबै कुरा हेर्न सक्नुहुन्छ ।

यस पटकको नेपाल बसाइमा के के गर्दै हुनुहुन्छ ? 
मैले तीन वटा गीतहरु भिडियोसहित रिलिज गर्दैछु, गीतहरुको सिडी, डिभीडी, कविताको नयाँ कृति बिमोचन पनि गदैैछु । यसबाहेक नेपालका कलाकारहरुको एउटा भेला गरेर हामीले अन्तराष्ट्रिय कलाकार मञ्चको नेपाल शाखा पुनर्गठन गर्दैछौं । समयले साथ दियो भने म आफ्नो एउटा एकल सांँझको तयारी पनि गर्दैछु । आफन्तजन, साथीभाइ सँगको भेटघाट, घुमघाम त छुट्ने कुरै भएन ।

तपाईं एउटा टेलिभिजनको सञ्चालनको तयारीमा पनि हुनुहुन्छ रे हो ? 
राष्ट्रिय–अन्तर्राष्ट्रिय मिडियाहरुमा काम गरियो । नेपाल टेलिभिजनमा धेरै वर्ष काम गरियो । भित्री मनदेखि एउटा राम्रो टेलिभिजन सञ्चालन गर्ने मेरो पुरानै ईच्छा र योजना हो । अहिले सरकारले नयाँ लाइसेन्स रोकेको रहेछ । हेर्दै जाउँ । समयले साथ दियो भने त्यो ड्रिम प्रोजेक्टका रुपमा छ । ढिलो–चाँडो एउटा अन्तर्राष्ट्रिय स्तरको नेपाली टेलिभिजन चलाउने ईच्छा छ ।

-नेपाल समाचापत्रबाट

प्रतिक्रिया दिनुहोस्