Thursday 19th of September 2019

युवकले आँचलको नग्न फोटो सार्वजनिक गरिदिएपछि

काठमाडौं । कालिमाटी महिला सेलमा आँचल (नाम परिवर्तन) आँशु थाम्न नसकी भित्र पसिन् । दुई वर्षअघि मात्र झापाका एक युवकसँग उनको विवाह भएको थियो । सम्बन्ध यतिबेला विच्छेद जस्तै छ ।

कारण, ती युवकले भित्री वस्त्र समेत नलगाएको तस्बिर सार्वजनिक गरिदिए ।
पहिल्यै अर्की पत्नी र एक छोरा हुँदाहुँदै ढाँटेर उनले आँचलसँग बिहे गरेका रहेछन् । आँचलले पछि मात्र थाहा पाइन् । सम्बन्धविच्छेद गर्छु भन्दा उनले आँचलको नग्न तस्बिर मात्र बाहिर ल्याएनन् ज्यान मार्ने धम्की समेत दिए । पीआर लिएका ती युवक अस्ट्रेलियामा अधिवक्ता छन् ।

आँचललाई अहिले आभाष भएको छ उनले यौन सम्बन्धका लागि मात्र आफूलाई फसाएका रहेछन् । आँचल ती युवकविरुद्ध जबरर्जस्ती करणी र साइबर अपराधमा मुद्दा दर्ता गर्ने मेलोमा छिन् ।

आँचलको केस छिनोफानो नहुँदै ४ जना सेलभित्र पसे । उनीहरूको पनि वैवाहिक सम्बन्धकै मामिला रहेछ । पत्नी र छोराछोरी हुँदाहुँदै लोग्नेले कान्छी भित्र्याए । टेकु बस्ने सिर्जना र विनिता (दुवै नाम परिवर्तन) छोराछोरी देखाउँदै रुन थाले । उनीहरूले ‘हेर्नोस् म्याडम अब हामी कसरी बाँच्ने ।

बच्चा हुँदाहुँदै लोग्ने अर्कैसँग लाग्यो’ भन्दै सेलकी प्रमुख इन्स्पेक्टर चेतना पोखरेलसँग गुनासो गरे । काखमा छोरो च्यापेकी सिर्जनाले लोग्नेलाई नस्विकार्ने अठोट गरिन् । तर, विनिता अझै पनि लोग्ने स्विकार्ने तर उसले कान्छीलाई छाड्नु पर्ने ।

पर्सा घर भएर लैनचौर बस्दै आएकी चाँदनी (नाम परिवर्तन) को पीडा पनि कम थिएन । ठमेलमा होटल सञ्चालन गर्ने पति अर्की युवतीसँग लागेपछि उनी विक्षिप्त भइन् । महानगरीय प्रहरी वृत्त लैनचौरमा आइतबार यसबारे छलफल भएको थियो । सहमतिमा चाँदनी डेरा फर्किए लगत्तै उनीमाथि कुटपिट भयो । प्रहरीले फेरि पक्राउ गरी घटना सेलमा पठायो ।

पर्साबाट चाँदनीका सासु ससुरा आए । ससुराले छोराको गल्ती नै हो भनेर ठहर गरे पनि उनको गुनासो अर्कै थियो । उनले भने, ‘घरभित्रको कुरा किन बाहिर ल्याइन् बुहारीले ।’ चाँदनीको पतिको मोबाइलमा अर्की युवतीसँग आपत्तिजनक अवस्थामा बसेको फोटो थियो । उनी भन्दै थिइन्, ‘मलाई त उहाँले यो केटी बहिनी भन्दै हुनुहुन्थ्यो तर बहिनीसँग यस्तो फोटो खिचाउने संस्कार हाम्रोमा छैन ।’

यी तीन घटना महिला सेलमा सोमबार दिउँसो एक घण्टामा आएका थिए । यस्तो गुनासो र उजुरी सेलमा दैनिक २०–३० वटा आउँछन् । प्रहरीले अधिकांशलाई सम्झाइबुझाइ गरेर पठाउँछ । अलि विशेष घटनाको मात्र अनुसन्धान गरेर मुद्दा चलाउने गरेको छ । विशेष गरी मानव बेचबिखन, बहुविवाह, बालविवाह, जबरजस्ती करणी, करणी उद्योग र घरेलु हिंसाका घटना आउँछन् ।

सेल प्रमुख पोखरेल भन्छिन्, ‘राजधानीभित्रै महिला हिंसाले जरा गाडेको छ । बुझ्ने र पढे लेखेकाले बेइज्जती हुने डरले उजुरबाजुर गर्दैनन् । तर आर्थिक अवस्था कमजोर भएका प्रहरीमा आउँछन् ।’ यस वर्ष मात्र राजधानीमा प्रहरीले महिला हिंसाका ११ सय ८० उजुरी सुनुवाइ गरेको छ । बहुविवाहका ६०, जबरजस्ती करणीका १२० र मानव बेचबिखनका २५ घटना सेलमा दर्ता भएका छन् ।

‘मलाई लोग्नेले कुटपीट गर्‍यो, खान लगाउन दिएन, सासुससुराले घरबाट निकालिदिने धम्की दिन्छन् भन्ने जस्ता उजुरी दैनिक आउँछन्’, इन्स्पेक्टर पोखरेलले भनिन्, ‘घरभित्रको झगडा सकभर मिलाएरै पठाईन्छ । मुद्दा चलाउनै परे मात्र चलाउँछौं ।’ गत वर्षको तुलनामा यस्ता घटनाको संख्या कम भए पनि सामाजिक चेतनाको स्तर अझै कमजोर रहेको तथ्यांकले बताउँछ ।

प्रतिक्रिया दिनुहोस्