Thursday 27th of June 2019

ट्रमा सेन्टरको बेहाल: बिग्रिएका उपकरण बनाउन प्रशासन उदासीन

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा भएका अधिकांश मेसिन बिग्रिएर बेहाल अवस्थामा पुगेको छ । विपन्न जनताले सर्वसुलभ रकममै स्वास्थ्य सेवा पाउन् भनेर खोलिएको सरकारी अस्पताल ट्रमा सेन्टरमा बिग्रिएका उपकरण महिनौँ दिनसम्म बन्न सकेका छैनन् । अझै कति समय लाग्ने हो एकिन छैन ।

सेन्टरमा भएको सिटि स्क्यान मेसिन ८ महिना अगाडिदेखि बिग्रिएर थन्किएको छ । त्यस्तै अन्य स्वास्थ्य उपचारका उपकरणहरू पनि बिग्रिएर थन्किएको महिनौँ भईसक्यो । अप्रेसनपछि स्टील राख्न हड्डीमा प्वाल पार्ने ‘ड्रिल’ मेसिन, भेन्टिलेटर, जेनेरेटर, अटो क्लेभ मेसिन, एसी लगायत उपकरणहरू बिग्रिएर थन्किएका छन् । अत्यावश्यक उपकरणहरू बिग्रिदा विरामीहरूले अस्पतालबाट पाउने सेवा प्रभावित भईरहेको छ । लामो समयदेखि उपकरण बिग्रिँदा पनि अस्पताल प्रशासनले भने मेसिन बनाउन चासोका साथ लागेको देखिदैन ।

यता, उक्त सेवा पाउनुपर्ने बिरामी भने अहिले निजी अस्पतालमा महंगो रकम तिरेर उपचार गराउन बाध्य भएका छन् । ट्रमा सेन्टरले त्यहा आएका बिरामीलाई नजिकै रहेको वीर अस्पतालमा रिफर गर्ने दाबी गरेपनि अधिकांश निजीमै जाने गरेका छन् । विर अस्पतालमा ति सेवा लिन त्यही आएका बिरामीकै लामो लाइन हुने भएकाले बाध्य भएर बाहिर जानुपर्ने अवस्था रहेको छ । सांसदहरूले प्रतिनिधिसभा बैठकमा सरकारी अस्पताल निजी अस्पतालमा बिरामी रिफर गर्ने एजेन्सी जस्तो भनेर आवाज उठाईरहेका वेला ट्रमा सेन्टरमा यो अवस्था फेला परेको हो ।

यता, अस्पताल प्रशासनले भने सरकारी कामकारवाहीमा हुने ढिलासुस्तीकै कारण बिग्रिएका उपकरण बनाउन नसकिएको जवाफ दिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. प्रमोद यादवका अनुसार यस विषयमा मन्त्रालय र मन्त्रीलाई जानकारी गराईसकेको बताए । उसो त सिटी स्क्यान यसअघि पनि बिग्रिएको थियो । बिग्रिएको कन्ट्रोल प्यानल फेरीएपछि करिब चार हप्ता चलेपछि बिग्रिएको थियो । त्यसपछि यो सञ्चालनमा आउन सकेको छैन । स्क्यान बिग्रिएपछि अन्य उपकरण पनि क्रमशः बिग्रिदै गएका हुन् ।

सरकारी संयन्त्रका कारण स्क्यान मेसिन बनाउन समय लागेको अस्पतालका वरिष्ठ चिकित्सक तथा तत्कालीन निमित्त निर्देशक डा. विनोद शेरचनले भने । ‘स्क्यान मेसिन मात्रै बनाउन लगभग ६० हजार डलर लाग्छ । त्यसको पैसा निकासा गर्न सेन्टरले मन्त्रालयलाई र मन्त्रालयले अर्थ मन्त्रालयलाई भन्नुपर्छ, त्यसपछि पनि अर्थले छुट्याउनुपर्छ’, उनले भने,‘लामो प्रोसेस छ, सरकारी काम हो, टेन्डर गर्नुपर्छ यी र यस्ता विभिन्न सरकारी प्रोसेसले गर्दा ढिला भएको छ ।’

निर्देशक डा. यादव ट्रमा सेन्टरमा आएको लगभग दुई महिना भयो । उनले पनि आउनेबित्तिकै रकम माग गरेपनि अहिलेसम्म निकासा नभएको जानकारी दिए । निर्देशक यादवले रकम निकासा भए सिटिस्क्यान मेसिन एक महिनामा बन्ने बताए । सेन्टरले सबै उपकरण बनाउन २२ करोड रकम माग गरेको छ । सो रकम उपलब्ध भए तीन महिनाभित्र सबै उपकरण तयार हुने बताइएको छ । २२ करोडमध्ये १४ करोड पहिलाको दुई वर्षदेखिको सप्लायर्सहरूले गरेको कामको रकम तिर्न बाँकी रहेको निर्देशक यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्