Thursday 27th of February 2020

सुन्दरताको रानी ‘रानीखर्क’

काठमाडाैं । हुम्लाको नाम्खा गाउँपालिका नेपालकै क्षेत्रफलको हिसाबले ठूलो गाउँपालिका हो । यो पालिका क्षेत्रफलको हिसाबले ठूलो भौगोलिक क्षेत्र ओगटेको भएता पनि यहाँको हरेक भौगोलिक क्षेत्र र ठाउँ उति नै मनमोहक रहेका छन् । जहाँ जाउँ उतै प्रकृतिले टपक्कै फुर्सदले कोरेको ठाउँजस्तै देखिने गर्दछ । अजंगका पहाडका बीचमा सम्म परेर वर्षा याममा हरियो र हिउँद याममा सेतो कार्पेट प्रकृतिले ओछ्याएजस्तो भान हुने गर्दछ । त्यहाँ पाइने हरेक जीवजन्तु, पशुपंछी, बोटविरुवाले त्यत्ति नै सुगन्ध र रमणीय बनाउने गरेका छन् ।

यस लेखनमा आज म अति नै पर्यटकीय क्षेत्रको सम्भावना भएको ठाउँ रानी खर्कको बारेमा लेख्न लागेको छु । यो नाम्खा गाउँपालिकाको वडा नं. ३ को खगालगाउँ र चाला क्षेत्रको जेठ महिनादेखि चौंरीलाई गर्मी छल्नको लागि खर्क लिने चलन रहेको छ । चौंरीलाई एका बिहानै घरबाट नाकै ठोकिने ठाडो उकालो पाटन क्षेत्रमा पालनको लागि लिने कार्य हरेक वर्षको नियमित काम हो । सोहीअनुसार एक दिनको कडा हिँडाइपछि रानीखर्क लिईएको छ ।

रानीखर्क अर्थात् अति नै सुन्दरताले भरिएको रानीजस्तै लाग्ने गर्दछ । जो कोही जति पटक त्यस ठाउँमा पुग्ने गर्दछ, रानी जस्तै सुन्दर मनमोहक दृश्यको साथमा आफूलाई प्रस्तुत गर्ने गरेको छ । रानीको उमेर बढ्दै जाँदा सुन्दरमा केही ह्रास त आउला तर नाम्खाको रानीखर्क जतिसुकै उमेर ढल्कँदै गएता पनि अझ सुन्दरता थपिँदै गएको महशुस हुने गर्दछ । कहिल्यै बुढ््यौलीले नछुनुे यो खर्क स्वर्गजस्तै लाग्ने गरेको छ ।

समुद्री सतहबाट तीन हजार ५ सय १५ मिटरको उचाइमा रहेको यो खर्कमा असार महिनासम्म विभिन्न प्रजाति र रंग भएका चौंरीको वासस्थान रहेको छ । स्थानीय भेडा बाख्रापालकले बने ढाकिने सेता काला बथानले छुट्टै आनन्द दिने गरेको छ । पश्चिममा अपि सैपालमा हिउँले सेतै ढाकेको छ । फेदीमा तीन हजार ५ सय ७८ मिटरको उचाइमा रहेको तालमा कुनै बखत हिउँले मात्र पुरिएको हुन्थ्यो । आजकल जलवायु परिवर्तनको कारणले त्यो तालमा संग्लो पानी मात्र देख्न सकिन्छ । मैदानैभरि गोठालोको पालका रंगले अझ मनमोहकता थपेको छ । दिउँसो सैपाल हिमालबाट खस्ने हिउँ पहिरोको गड्याङगुडुङ आवाजले रक स्टारले बजाएको गीतको धुनजस्तै सुन्न सकिन्छ ।

होचो हिमाल नजिकै बुकी, घाँस र फुलै फुलले टम्म परेको रंगिन फाँट आँखाले नभ्याउन्जेल सम्म धीत मर्नेगरी हेर्नको लागि यहाँ अति नै राम्रो मानिएको छ । यो क्षेत्र हरेक जडिबुटीको भण्डार पनि हो । बाजुरा, हुम्लाका सबैजस्तो गाउँपालिकाको वासिन्दा, पशुपालकको यो अति नै रोजाइमा रहेको ठाउँ हो । जटामसी, गुच्चीच्याउ, पदमचाल, पाँचऔँले, सेतो चिनी, विष, यार्सागुम्बालगायतका जडीबुटी यो क्षेत्रमा स्थानीयले संकलन गर्ने गरेका छन् । अति नै जडिबुटीको भण्डार, बाजुरा हुँदै बग्ने कवाडी नदीको मूल पनि अपि सैपालको हिउँ र हिमताल हो । रानी खर्कको हरेक भागलाई छिचोल्दै बाजुरा जिल्लातिर यो हिमनदी बग्ने गरेको छ । खर्कको चारैतिरबाट निस्कने मुल, त्यसले बनाएका अनेकौँ झरनाको फेदमा बस्दा एउटा साहित्यकारले कति रचना गर्थे होला भन्ने सोच्न पनि सकिन्न ।

रानीखर्क बाजुरा बझाङ र हुम्ला जिल्लाको व्यापारिक केन्द्रसमेत हो । व्यापारीले घोडा र भेडाबाट ढुवानी गरिएको खाद्यान्न सामाग्री यहाँ किनबेचसमेत हुने गर्दछ । जडीबुटी संकलन गरी स्थानिय व्यापारीले यहाँबाट चीन र भारतमा समेत निर्यात गर्ने गरेका छन् । गाउँपालिकाले यस क्षेत्रको प्रचारप्रसार गरी आगामी दिनमा पर्यटकीय हबको रूपमा विकास गर्न लागिएको नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामाले बताउनुभयो । करिब ६ महिना नाम्खाका वासिन्दाको रोजीरोटीको रूपमा रहेको रानीखर्कलाई सैन पनि भन्ने गरिएको छ । हालसम्म त्यति धेरै बाह्य पर्यटकलाई यस क्षेत्रमा ल्याउन नसकिएको भएता पनि यहाँ आउने बाटोको विकास गरी आगामी दिनमा यसलाई विकास गरिँदै लगिने समेत लामाको भनाइ रहेको छ । आन्तरिक पर्यटकको लागि भने रानीखर्क हरेक वर्ष धानीनसक्ने खालको बहाव हुने गरिएको छ । जडिबुटी संकलन र पशुपालनको लागि यो क्षेत्रमा स्थानीय वडापालिकाले केही कर उठाउने गरेको भएता पनि आगामी दिनमा अझ यसलाई व्यवस्थित गरिने अध्यक्ष विष्णु लामाको रहेको छ ।

जडीबुटी, वन्यजन्तु अध्ययन गर्न, प्राकृतिक सुन्दरता लिनको लागि यो ठाउँ अति नै उपयुक्त रहेको छ । हालसम्म त्यस स्थलमा कुनै पनि अन्न बालीको खेती नगरिएको भए पनि उच्च हिमाली भेगमा गरिने नाफल (गहुँ) र आलुको खेती गर्न सकिने अति नै सम्भावना रहेको छ । हाल त्यहाँ ६ महिना बिताउने पशुपालक, जडिबुटी संकलक र अन्य व्यापारीले भने खाद्य ढुवानी घरबाट नै गर्ने पाइएको छ । सैनको फाँटमा जता पनि पाल टाँगेर बस्न सकिने सम्भावना रहेको छ । प्रशस्त पानीको स्रोत रहेको यस क्षेत्रमा पर्यटकले सैपाल हिमालको दृश्य, तालको दृश्य, प्राकृतिक सुन्दरताको अवलोकन गर्न सकिने सम्भावना रहेको छ ।

सडक र बाटोको राम्रो व्यवस्था हुन सकेमा ठूला बजेटका फिल्म, वित्तचित्र, म्युजिक भिडियो सुटिङको लागि अति नै राम्रो ठाउँ मानिएको छ । सिमकोट विमानस्थलबाट रानीखर्क पुग्नको लागि १० मिनेटको हेलिकोप्टर उडान पछि पुग्न सकिने दूरीमा रहेको छ । अचम्म त के छ भने सैपाल हिाल बाजुरा, हुम्ला र बझाङ तिनै जिल्लाबाट अवलोकन गर्न सकिन्छ । हालसम्म कोही हिमाल आरोहीले यस हिमालमा आरोहण गर्न सकेका छैनन् । यसको उचित प्रचार–प्रसार र प्रवर्धन गर्न सकेमा गाउँपालिकाको आयआर्जनमा समेत टेवा पुग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्