Tuesday 31st of March 2020

कलंकी–कोटेश्वर सडकको डिजाइनको त्रुटि सच्याइने

काठमाडौं । सरकारले कलंकी–काटेश्वर सडक निर्माण गर्दा डिजाइनमा भएको त्रुटि सच्याउने भएको छ। साढे ९ किलोमिटरको यो सडक निर्माण गर्दा मुख्य लेन छुट्टयाउन डिभाइडर निर्माण गरिएको थिएन। चक्रपथ विस्तार आयोजनाले मुख्य लेन छुट्टयाउन मेडियन निर्माण गर्ने तयारी गरेको छ। आयोजना प्रमुख अमृतमणि रिमालका अनुसार विस्तारित चक्रपथमा डिभाइडर निर्माण नगरिएकाले पनि दुर्घटना बढ्दो क्रममा रहेको बताए।

उपत्यकाको भित्री र बाहिरी बस्ती छुट्टयाउने चक्रपथ सहरी रणनीतिक सडकका रूपमा छ। तर, यो सडकको डिजाइन गर्दा सुरक्षाभन्दा पनि गतिशीलतालाई प्राथमिकता दिइएको छ। जापानी सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको कोटेश्वर–सूर्यविनायक सडकमा मुख्य लेन छुट्टयाउन डिभाइडर निर्माण गरिएको छ। तर, कलंकी–कोटेश्वरमा भने डिभाइडर छैन।

सडक विभागले कलंकी–कोटेश्वर खण्डलाई यात्रु र सवारी सुरक्षित राख्न र्‍यापिड इन्जिनियरिङ कन्सल्टेन्सी सर्भिसलाई अध्ययन गर्ने जिम्मा दिएको थियो। कन्सल्टेन्सीले नवनिर्मित सडकमा पूर्वाधार थप गरेर सुरक्षित बनाउन सकिने निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ।

प्रतिक्रिया दिनुहोस्