Monday 16th of December 2019

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ मा भ्रष्टाचार !

हेटौंडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्वर ७ को वडा कार्यालय परिसरमै फलामे पर्खाल लगाउने क्रममा भ्रष्टाचार भएको स्थानीयले आरोप लगाएका छन् । उपमहानगरपालिका र श्रमदानसहित करिब १८ लाख लागत अनुमान गरिएको योजना उपभोक्ता समिति मार्फत निर्माण भएको थियो ।

उपमहानगरले योजना सम्झौता गर्दा ७२ देखि ७५ केजीसम्मका ६२ फलामे डण्डीसहित तथा सिमेन्टको पर्खाल बनाउनुपर्ने भनिएको थियो । तर स्थानीयले भने उपभोक्ता समितिले ३२ किलोग्राम तौल भएको डण्डी प्रयोग गरेको भन्दै विरोध गरेका थिए ।

यो पर्खाल निर्माण समितिका संयोजक नवराज खतिवडा हुन् । स्थानीयले कमसल निर्माण भएको भन्दै विरोध गरेपछि स्थानीयको बिरोध दबाउन संयोजक खतिवडाले स्थानीय दिनेश गौतमलाई ४० हजार घुस दिएको आरोप लगाएका छन् ।

संयोजक खतिवडाले बिरोध गर्नेहरुलाई मिलाउन भन्दै जबरजस्ती पैसा दिएकाले विषयमा अख्तियारमा उजुरी दिने तयारी पनि स्थानीयहरुको छ । तर निर्माण संयोजक खतिवडाले भने आफूले घुस नभै सापटी दिएको बताएका छन् ।

यति मात्रै नभई उपभोक्ता समितिले फर्जी बिल बनाएको पाइएको छ । निर्माण सामान खरिद नहुँदै हेटौँडा १० स्थित महालक्ष्मी इन्जिनियरिङ वर्कशपबाट सामान खरिद गरेको झुटो बिल वडा कार्यालयमा पेश गरेका छन् ।

कुनै पनि निर्माण सामान खरिद गर्नु अघि इष्टिमेट विल पेश गर्नुपर्ने हुन्छ । तर निर्माण समितिले २०७५ असार १४ मा नगदी कारोबार अर्थात खरिद बिल काटेको छ, भने पहिले काट्नु पर्ने इष्टिमेट बिल झन् पछि २०७६ जेठ २० गते मात्रै काटिएको छ ।

निमार्णका क्रममा कमजोरी हुँदा पनि वडा अध्यक्ष राजन थापाले भने निर्माण सम्पन्न भएको भन्दै भुक्तानीका लागि उपमहानगरलाइ्र्र सिफारिस गरेका छन् ।

निमार्णमा कमजोरी भएको भन्दै आवाज उठाउँदै आएका स्थानीयले वडा अध्यक्षले सिफारिस गरेपछि वडा अध्यक्षकै भूमिका माथि स्थानीयले आशंका गरेका छन् । वडा अध्यक्ष भने काम सकिएकाले सिफारिस गरेको जवाफ दिन्छन् ।