Tuesday 12th of November 2019

कुमार पौडेल मुठभेडमै मारिएका हुन् : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको बताएका छन् । विप्लव समूहलाई समाप्त पार्न सरकारले कसैलाई निर्देशन नदिएको भन्दै उनले पौडेलको मृत्युबारे छानविन गर्ने पनि बताएका छन् ।

पौडेल यही असार ५ गते अन्दाजी २ बजे लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम किनारामा रहेको उत्तर-दक्षिण बाटोमा प्रहरीको गोलीबाट मारिएका थिए ।

संसदको राज्यव्यवस्था समितिको सोमबारको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले प्रहरीको जवाफी कारबाहीमा पौडेल मारिएको दाबी गर्दै प्रहरीको बचाउ गरे । मन्त्री थापाले भने, ‘अनटेस्ट मोटरसाइकल सहितका दुईवटा मोटरसाइकलमा आइरहेका चार जना व्यक्तिहरुले प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल छाडी प्रहरीलाई लक्षित गरी आफूहरुसँग रहेको हतियारबाट फायर गरेकोले प्रहरी टोलीले आत्मरक्षाको लागि जवाफी फायर गर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको र घटनास्थलबाट बरामद परिचयपत्रको आधारमा निज विप्लव समूहको सर्लाही जिल्ला इञ्चार्ज वागमती नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४७ को कुमार पौडेल भएको खुल्न आएको छ ।’

विप्लव समूहले लालबन्दी र हरिऔन इलाकाका स्थानीय जनप्रतिनिधि, व्यापारी, व्यवसायी एवम् सर्वसाधारण व्यक्तिहरुलाई धेरै समय अगाडिदेखि जबर्जस्ती चन्दा माग्ने, चन्दा नदिएमा ज्यान मार्ने लगायतका धम्कीहरु दिने र जनमानसमा आतंक सिर्जना गर्ने गरेको मन्त्री थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्