Monday 22nd of July 2019

प्रहरी हिरासतकाे शाैचालयमा सारीकाे पासाे लाएर आत्महत्या !

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका स्थित रहेको इलाका प्रहरी कार्यालय महेशवारीको थुनुवामा (हिरासत) एक महिला झुण्डिएर आत्महत्या गरेकी छिन् ।

मोबाइल चोरीको आरोपमा शनिबार लहानबाट पक्राउ गरी २५ वर्षीया सुमनदेवी ठाकुरलाई लहानबाट करिब १० किलोमिटर दक्षिण इलाका प्रहरी कार्यालय महेशबारीको हिरासतमा पठाएको थियो ।

आइतबार बिहान ७ बजेतिर महिला थुनुवा (हिरासत) सँगै जोडिएको शौचालयको भेन्टिलेसनको रडमा साडीको पासोमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

एसपी चतुर्वेदीका अनुसार इलाका प्रहरी कार्यालय लहानको हिरासतमा राख्न ठाउँ नभएको कारण ठाकुरलाई पक्राउ गरी इलाका प्रहरी कार्यालयको थुनुवामा पठाइएको थियो ।

सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर घर भएकी २५ वर्षीया ठाकुरले लहानस्थित एउटा मोबाइल पसलमा मोबाईल बेच्न आएकी थिइन् । उनलाई मोबाईल बेच्ने क्रममा विशेष सुराकको आधारमा लहानको प्रहरी टोलीले मोबाईल चोरीको आरोपमा पक्राउ गरेको उनले बताए ।

घट्ना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्