Monday 22nd of July 2019

सर्लाही घटनाकाे छानबिन गर्ने गृहमन्त्रीको बाचा, मुडभेडमा नभई नियन्त्रणमा लिएर मारेको सबैजसो सांसदहरु भनाई

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सर्लाहीमा चन्द समूहका जिल्ला इन्चार्ज कुमार पाैडेल मारिएको घटना छानबिन गर्ने बताएका छन् । सोमबार बिहान संसदको राज्य व्यवस्था समिति बैठकमा सर्लाही घटना बारेको छलफलमा गृहमन्त्री थापाले उक्त घटना प्रहरी मुडभेडमै भएको दाबी गर्दै छानबिन गर्ने बताए ।

बैठकमा उपस्थित सबैजसो सांसदहरुले सर्लाही घटना मुडभेडमा नभई नियन्त्रणमा लिएर भएको बताएका थिए।

सांसदहरु जनार्दन शर्मा, दिलेन्द्र वडू, झपड रावल, यशोदा सुवेदी, रामसराय यादव लगायतले उक्त घटना छानबिन हुनुपर्ने माग गरेका थिए।

सांसद शर्माले कानुनत उनलाई नियन्त्रणमा लिनुपर्नेमा यो घटनाले द्वन्द्व बढाउने बताए।

बैठकमा प्रहरी महानिरीक्षक सर्वेन्द खनाल पनि उपस्थित थिए। खनालले मृतक पौडेल विभिन्न घटनामा संलग्न भएको बताएका थिए।सांसद् तीर्था गौतमले यो घटनाले पुनः द्वन्द्व बढ्ने भन्दै बैठकमै रोएकी थिइन्।

गृहमन्त्री थापाले सरकारले वार्ता गर्न चाहे पनि चन्द समूहले नचाहेको बताए। .

नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज पौडेलको लालबन्दी-१ लखन्देही खोलादेखि पूर्वको जंगलमा बिहीबार दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएको थियो।