Tuesday 12th of November 2019

विदेशबाट नेपालमा आएर मृत्यु भएका ११४ कामदारलाई ६ करोड क्षतिपूर्ति दिइने

काठमाडौँ — वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले श्रम स्वीकृतिको म्यादभित्र नेपालमै मृत्यु भएका एकसय १४ जना कामदारका परिवारलाई राहत स्वरुप क्षतिपूर्ति दिने निर्णय गरेको छ । यसको लागि ६ करोड ६६ लाख व्यवस्था गरेको छ ।

बोर्डका अध्यक्ष समेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको अध्यक्षतामा आइतबार बसेको बैठकले यो निर्णय गरेको हो ।

करार अवधिभित्र बिरामी भइ स्वदेश फर्किएर उपचारको क्रममा मृत्यु भएका तथा विदामा स्वदेश फर्किएको अवस्थामा बिरामी भै उपचारको क्रममा मृत्यु भएकालाई क्षतिपूर्ति दिने बाटो खुलेको बोर्डका कार्यकारी अधिकृत राजन श्रेष्ठले बताए ।

बोर्डले करार अवधिभित्र कोमामा उपचाररत तथा पक्षघातबाट हिडडुल गर्न नसक्ने अवस्थामा रहेकालाई नेपालमा ल्याई उपचार गर्नको थप अध्ययन गर्नको लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल बनाएको छ ।

कार्यदलमा स्वास्थ्य, अर्थ, परराष्ट्र, कानुन मन्त्रालय, सम्बद्ध क्षेत्रका अनुभवी चिकित्सकहरु, वैदेशिक रोजगार व्यवसायी संघ र ट्रेड युनियनका तर्फबाट सदस्य र बोर्ड सचिवालयका तर्फबाट सदस्य सचिव रहने गरी एक कार्यदल गठन गरेको छ ।

कार्यदलले विभिन्न देशका अस्पतालमा उपचाररत गम्भिर प्रकृतिका बिरामीहरुको संकलित तथ्यांकहरु माथि छानबिन गरी नेपाल ल्याउने प्रक्रिया/मापदण्ड, नेपालमा उपचारका लागि आवश्यक पर्ने नीतिगत तथा कानुनी संयन्त्र लगायत अनुमानित खर्च विवरण सम्बन्धमा विस्तृत अध्ययन गरी सुझाव पेश गर्नेछ ।

दक्षिण कोरिया, साउदी अरब, कतार, कुवेत, युएई लगायतका मुलुकका विभिन्न अस्पतालमा २८ जना नेपाली कामदार उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्