Saturday 25th of January 2020

आज असार १५, यसरि मनाइँदै छ धान दिवस

काठमाडौं । ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको सुरुवात अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ। कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्ष भरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ।
‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ। मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही-चिउरा खान्छन्। यसबेला दही-चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ।

असार १५ लाई नेपाली समाजमा दही-चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही-चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ। शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ।
दही खुवाएर बिदा गरे शुभ प्राप्त हुने सांस्कृतिक मान्यता छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्य वर्द्धक मानिन्छ गुरु गोरखनाथले नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भनिन्छ। आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्य कर्मीकोमा जानु नपर्ने बताइएको छ। दहीले पाचन शक्ति पनि बढाउँछ।
पखाला लागेका बेला दही-चिउरा खाएमा औषधिको काम गर्छ। यसैले दही-चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ। यसरी असार १५ नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ। असार १५ का दिन आज गाउँ ठाउँका हुने खानेले बेठी लगाएर धान रोपाइँ गर्छन्। यसरी धान रोपाइँ गरे खेतबाट सह बसी मनग्य उत्पादन हुने विश्वास रहेको छ। रासस
मानो रोपेर मुरी फलाउने दिन’ अर्थात् आज असार १५। कृषकहरुले काम गर्दै दही-चिउरा खाएर मनाउने यो दिन गैरकृषकका लागि भने ‘खाने पर्व’का विकसित हुँदै गएको छ।

सांस्कृतिक महत्व बोकेको दहीचिउरा स्वास्थ्य दृष्टिकोणले कस्तो छ? कसले खाँदा फाइदा हुन्छ? कसरी खाँदा स्वास्थ्यलाई लाभ पुग्छ? यीलगायतका विषयमा पोषणविद् सोफिया उप्रेतीसँग गरेको कुराकानीको संपादित अंश उनकै शब्दमाः
चिउरा कार्बोहाइड्रेडको स्रोत हो। दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, पोटासियम र भिटामिन पर्याप्त मात्रामा प्राप्त गर्न सकिन्छ। यही कारण धेरै काम गर्ने दिन अर्थात् असार १५ मा दहीचिउरा खाने प्रचलन चलेको हुनुपर्छ।
असार १५ मा गर्मी पनि बढेको हुन्छ। गर्मीमा धान रोप्दा पसिनाको माध्यमबाट जाने पानीलाई समेत यसले परिपूर्ति गर्ने भएकाले दहीचिउरा खाने चलन बसाएको हुनुपर्छ हाम्रा पुर्खाहरुले। दहीचिउरा चाँडो तयार पार्न सकिने मिठो र पोषिलो खाजा भएकाले पनि कामको चाप भएका बेलाको खाना वा खाजाका रुपमा यसलाई रोजिएको हुनुपर्छ।

दहीचिउरा खान असार १५ लाई नै कुर्नुपर्छ भन्न छैन। अरुबेला पनि दहीचिउरा खाँदा स्वास्थ्यका लागि लाभदायक हुन्छ। यो जुनसुकै उमेर समूहले पनि खान सक्छौं। जुन बेला पनि खान सकिन्छ।
दूध फाटेर बन्ने दहीमा क्याल्सियम, सोडिमय, पोटासियम र भिटामिन पाइन्छ। यसमा शरीरमा फाइदा गर्ने गुड ल्याक्टोब्यासिलस ब्याक्टेरिया समेत हुन्छ। चिउरामा भने कार्बोहाइड्रेड, आइरन र प्रोटिन पाइन्छ।
धानलाई भिजाएर ओखल वा मिलमा कुटेर तयार गरिएको खाद्यपदार्थ नेपाली खाना चिउराको ठूलो महत्व छ। चिउरालाई चोखो खाद्यपदार्थका रुपमा पनि लिइन्छ।

हिजोआज चिनी हालेर गुलियो बनाएर दही खाने चलन छ। चिनी हाल्नुभन्दा सिजन अनुसारका फलफूल केरा, आँप आदि मिसाएर खाँदा उपयुक्त हुन्छ। यसरी खाँदा हामीले थप भिटामिन र खनिज पदार्थ पनि पाउन सक्छौं।
यदि गुलियो बनाएर खाने हो भने पनि प्रकृतिक गुलियो सखर, खुदो मिसाइयो भने स्वास्थ्यका लागि लाभदायी हुन्छ।
हाम्रा विभिन्न पारम्परिक अचार अथवा तरकारीसँग दहीचिउरा खादा अझ पूरक र पोषिलो हुन्छ।
दहीले चिसो लाग्ने भएकाले राति सुत्ने बेलामा खानु हुँदैन भन्ने मान्यता छ। तर, ठिक्कको तापक्रममा राखिएको दही जुन समयमा खाए पनि केही फरक पर्दैन। दही फ्रिजबाट निकालिएको भएमा चाहिँ चिसो लाग्न सक्छ। दहीले कहिल्यै बिरामी पार्दैन, यदि कुनै हानिकारक किटाणुले यसमा प्रवेश पाएका छैनन् भने।
मधुमेह भएका बिरामीहरुले चिनी मिसाएको दही खानु हुँदैन। बजारको दहीमा मिठो बनाउन चिनी हाल्ने प्रचलन छ। त्यसैले सकेसम्म आफ्नो घरमा बनाएको दहीमा चिउरा मिसाएर खाँदा राम्रो। दैनिक खानामा एक कचौरा दही खाँदा स्वास्थ्यका हिसाबले राम्रो मान्न सकिन्छ।

दहीका फाइदा
– दहीले मांशपेसी र हाड बलियो बनाउन मद्दत गर्छ।
– रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
– दही बनाउने ल्याक्टोब्यासिलस ब्याक्टेरियाले पाचन प्रक्रियामा सहयोग पुग्छ।
–दहीमा क्याल्सियम र मिनरल बढी मात्रामा पाइन्छ।
– पेट गडबडी हुँदा अर्थात् पखाला लागेको समयमा दहीको सेवन गर्दा पखाला कम हुन्छ।

चिउराका फाइदा
– चिउरा पकाउनु नपर्ने भएकाले हामीले जुनसुकै परिकारका साथ खान सकिन्छ।
– प्रशस्त कार्बोहाइड्रेड भएकाले काम गर्न शक्ति प्रदान गर्छ।
– फलामको ओखलमा कुटेको चिउरामा आइरनको मात्रा बढी हुन्छ।

प्रतिक्रिया दिनुहोस्