Wednesday 16th of October 2019

वडा सदस्यमाथि गोली प्रहार

धादिङ । बेनीघाट रोराङ गाउँपालिका ८ का सदस्य रामजी चेपाङमाथि गोली प्रहार गरिएको छ । गोली टाउकोमा लागेर सख्त घाइते भएका चेपाङलाई उपचारका लागि काठमाडौंस्थित नर्भिक अस्पतालमा पुर्‍याइएको छ । गोठीभञ्जयाङस्थित आफ्नै घरमा बुधबार राति खाना खाइरहेको अवस्थामा उनलाई गोली हानिएको थियो ।

चितवनको राप्ती नगरपालिका १३ गाम्दा निवासी इन्द्रबहादुर चेपाङले गोली हानेको परिवारजनले आरोप लगाएका छ्न् । २ महिनाअघि गाम्दामा सञ्चालित कुमार चेपाङ छात्राबासमा बस्ने २ जना चेपाङ किशोरीलाई बलात्कार प्रयास गरेपछि मुद्दा लागेर फरार रहेका इन्द्रले नै २ नाले भरुवा बन्दुकले गोली प्रहार गरेको प्रारम्भिक सूचना प्राप्त भएको प्रहरीले जनाएको छ । बलात्कार मुद्दामा आफूलाई पक्राउ गर्न प्रहरीलाई सहयोग गरेको रिसइबीमा गोली हानेको हुन सक्ने परिवारजनले बताएका छ्न् ।

प्रतिक्रिया दिनुहोस्