Monday 22nd of July 2019

आर्कटिकमा बरफ पग्लिंदैः जीवको कङ्काल भेटियाे, मानव जीवनमा नयाँ सङ्कटको सङ्केत

काठमाडौँ । जलवायु परिवर्तनका कारण पृथ्वी तातिरहेको छ । यस्तोमा ध्रुवीय क्षेत्रमा जमेको बरफ पग्लिरहेको छ । समुद्रको सतह बढिरहेको छ । तर, खतरा यतिमा मात्र सीमित छैन । बरफ पग्लेसँगै अन्य धेरै किसिमका खतराको सामना मानिसले गर्नुपर्ने भएको छ ।
वैज्ञानिक सु नताली यस्ता खतराको बारेमा पहिले नै जानकारी दिन चाहन्छिन् ।

सन् २०१२ मा उनी पृथ्वीमा सधैं बरफले ढाकिरहने क्षत्र अर्थात् पर्माफ्रस्टको बारेमा अनुसन्धान गरिरहेकी थिइन् । अनुसन्धानकै सिलसिलामा उनी रुसको डुवानी क्षेत्रमा गइन् । यो साइबेरियाको बरफले ढाकिएको क्षेत्र हो । यो हजारौं वर्षदेखि बरफले ढाकिएको छ ।
तर, हाल जलवायु परिवर्तनका कारण यहाँको बरफ तीव्र गतिमा पग्लिरहेको छ । सूले त्यहाँको बरफ पग्लेर जमिनमा दबेका नयाँनयाँ वस्तु देखा परेको बताइन् ।

हाल वैज्ञानिक नताली अमेरिकाको द वूड्स होल रिसर्च सेन्टरमा कार्यरत छिन् । उनी हालसालै पुनः साइबेरिया भ्रमणमा गइन् । उनले तीव्र गतिमा बरफ पग्लिएको देखिन् । बरफ पग्लेर साइबेरियाको जमीन धस्सिएर त्यहाँ ठूलाठूला भवन अट्ने खाल्डो परेको सू बताउँछिन् ।

साइबेरियाको उक्त क्षेत्रमा बरफ पग्लेर त्यहाँ हजारौं वर्षपहिले गाडिएका मेमथजस्ता जीवको कंकाल देखा परेको छ । यी जीव प्लिस्टोसिन युगको समयमा अस्तित्वमा थिए । हाल यी जीव लोप भइसकेका छन् ।

१५०० अर्ब टन कार्बन

जलवायु परिवर्तनको असर यहाँ नाङ्गो आँखाले देख्न सकिने र यो निकै डरलाग्दो रहेको सू बताउँछिन् ।

सधैं बरफले ढाकिने जमिन पग्लेर छर्लङ्ग देखिने भएको छ भने त्यहाँ लुकेका रहस्य पनि बाहिर आइरहेका छन् । यो नै जलवायु परिवर्तनको सबैभन्दा नयाँ खतरा हो जसमा वैज्ञानिकहरूको ध्यान गएको छ ।

बरफ पग्लिनाले त्यसभित्र रहेका जङ्गलको थुप्रो र कयौँ रोगका कीटाणु बाहिर आइरहेका छन् । बरफको बाक्लो सतहभित्र लुकेको विषालु मिथेन ग्यास र पारा पनि बाहिर आएर मानिसलाई नोक्सान पुर्याउन सक्छन् ।

पर्माफ्रस्ट अर्थात् बरफको बाक्लो सतहभित्र करीब १५०० अर्ब टन कार्बन कैद रहेको वैज्ञानिकहरूको अनुमान छ ।

यो वातावरणमा हाल रहेको कार्बनको दुई गुणा हो जुन हाम्रो जंगलहरुमा बन्द छ । कार्बन नै पृथ्वीको तापक्रम बढाउने मुख्य कारण हो । नतालीका अनुसार सन् २१०० सम्ममा सधैँ बरफले ढाकिएका क्षेत्रको ३० देखि ७० प्रतिशत बरफ पग्लिन सक्छ । हामीले यसलाई रोक्न तत्काल प्रयास सुरु गर्नुपर्ने उनी बताउँछिन् ।

यदि जलवायु परिवर्तनलाई नरोक्ने हो भने ठूलो मात्रामा कार्बन वातावरणमा मिल्नेछ भने मिथेन पनि हावामा मिसिनेछ । यो मानवताको लागि नै खतरा बन्ने सक्ने नतालीको भनाइ छ ।

बरफ पग्लनाले विश्वभर १३० देखि १५० अर्ब टन कार्बन डाइ अक्साइड वातावरणमा मिल्नेछ । यो अमेरिकाले हरेक वर्ष वातावरणमा छोडिरहेको कार्बन डाइ अक्साइडको बराबर हो ।

गर्मी दुई गुणा बढ्नेछ

बरफ पग्लनाले जति कार्बनडाइअक्साइड निस्किन्छ, त्यो अमेरिकाले जति नै प्रदूषण फैलाउने एक नयाँ देश अचानक देखा परेजस्तै हुने र विश्वले हालसम्म यसको गणना नगरेको सू नतालीको भनाइ छ ।

सन् २०१८–१९ मा उत्तरी गोलार्धमा ध्रुवीय ध्रुवीय क्षेत्रमा आँधी आउने त्रास थियो । यो वर्ष जनवरीमा उत्तरी अमेरिकाको इन्डियानामा तापमान माइनस २९ डिग्रीसम्म झरेको थियो । उक्त समयमा आर्कटिकको बरफ तीव्र गतिमा पग्लेको कारण यस्तो भएको हो ।

गत वर्ष नोभेम्बरमा आर्कटिकको तापक्रम माइनस २५ डिग्री सेल्सियस हुनुपर्नेमा १।२ डिग्री सेल्सियस मात्रै थियो । अर्थात् आर्कटिक क्षेत्रको तापक्रम दुई गुणा बढिरहेको छ ।

जलवायु परिवर्तनसँगै बरफ पग्लनाले पृथ्वीको रङरुप नै बदलिन लागेको छ । हामीले यसको अहिलेसम्म सही ढंगले अनुमान पनि गर्न नसकेको नताली बताउँछिन् ।

३० हजार वर्ष पुरानो भाइरस

नर्वेको स्वालबर्डमा सन् १८९८ पछि पहिलोपटक सन् २०१६ मा तापक्रम जिरो डिग्री सेल्सियसभन्दा माथि पुगेको आँकडा छ । उत्तरी अमेरिकाको पर्माफ्रस्ट अर्थात् बरफले ढाकिरहने क्षेत्र अलास्कामा पनि बरफ तीव्र गतिले पग्लिरहेको छ । उक्त क्षेत्रमा बरफको सट्टा पानी देखिन लागेको छ । बरफमा कैद रहेका मिथेनजस्ता खतरनाक ग्यास वातावरणमा मिलिरहेका छन् ।

यी क्षेत्रमा गर्मी बढेसँगै मिथेन र कार्बन डाइ अक्साइडमात्र हावामा मिस्सिरहेका छैनन्, यसका कारण वर्षौंदेखि बरफमा दबिएर रहेका जीवाणु पनि बाहिर आइरहेका छन् । सन् २०१६ मा साइबेरियामा केही मानिसलाई अचम्मको रोग लाग्यो । सन् १९४१ मा फैलिएको साइबेरियन प्लेगले त्यहाँ फेरि आक्रमण गर्यो ।

जब यो रहस्यमय रोगले एक युवा र मृग प्रजातिका २५०० रेन्डियरको मृत्यु भयो । यी सबै एन्थ्रेक्स नामक रोगका शिकार भए । किनकि, यी सबै करीब ७५ वर्ष पहिले एन्थ्रेक्स रोगले मरेका रेन्डियरको कंकालको सम्पर्कमा आएका थिए । यी कंकाल ७५ वर्षपहिले बरफमा दबिएर रहेका थिए । बरफ पग्लेपछि यी खुलामा आए ।

मानिसले पहिले नै छुटकारा पाइसकेका स्पेनिश फ्लू, चेचक र प्लेगजस्ता रोग बरफ पग्लेपछि फेरि फैलिन सक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

सन् २०१४ मा फ्रान्समा गरिएको एक परीक्षणमा ३० हजार वर्षपहिले दबिएको एक भाइरसलाई फेरि तातो अवस्थामा राख्दा त्यो जीवित भएको थियो । यसले पनि आगामी दिनमा मानव जीवन संकटमा पर्ने सङ्केत गरेको छ ।

नर्वेमा रहेको डुम्सडे वाल्टमा हरेक दिन मानिसको काममा आउने केही वस्तु जम्मा गरी राख्ने गरिन्छ । विशेष गरी त्यहाँ धर्तीमा प्रलय आएमा फेरि रोप्नको लागि भनी विभिन्न बोटबिरुवाको बीउ जम्मा गरी राखिएको थियो । बरफको मुनि रहेको यो वाल्टमा सन् २०१६ मा पानी भरिनाले अधिकांश बीउ नष्ट भए ।

त्यस्तै, स्वीडेनमा पनि बरफको मुनि आणविक फोहोर जम्मा गरिएको थियो । त्यहाँको बरफ पग्लेमा आणविक फोहोर फेरि खुलामा आउन सक्छ र रेडियोएक्टिभ तत्त्व वातावरणमा मिलेर मानिसलाई धेरै हानि पुर्याउन सक्छ ।

पर्माफ्रस्टभित्र धेरै रहस्य हजारौं वर्षदेखि दबिएर सुरक्षित भएर रहेका छन् । यदि यी बाहिर निस्किने हो भने पृथ्वीमा भयावह अवस्था आउन सक्ने अनुमान छ ।

समुद्रको सबै पानी आर्कटिकमा पुग्ने गरी घुम्छ । नतिजास्वरुप विश्वभरको फोहोर आर्कटिकमा नै गएर जम्मा हुन्छ । आर्कटिकमा ठूलो मात्रामा प्लास्टिक जम्मा भइरहेको छ । जसरी ती प्लास्टिक खाने माछा मानिसको पेटमा पुगेसँगै प्लास्टिक पनि मानिसको पेटमा पुग्छ, त्यसरी नै पारा पनि मानिसको पेटमा पुग्न सक्छ जुन मानिसको लागि निकै हानिकारक छ ।

अमेरिकी जियोलोजिकल सर्वेका अनुसार ध्रुवीय बरफमा १६ लाख ५६ हजार टन पारा दबिएर रहेको छ । यो धर्तीको अन्य क्षेत्रमा रहेको पाराको १०० गुणा हो ।

आर्कटिकको बरफ पग्लेसँगै केही मानिसले यसको फाइदा पनि देखिरहेका छन् । त्यहाँ नयाँ रुखबिरुवा उम्रनेछन् जसका कारण हरियाली क्षेत्रको विकास हुनेछ । त्यस्तै समुद्री कारोबारको लागि नयाँ बाटो खुल्ने पनि सम्भावना देखिएको छ ।

तर, यसबाट हुने नोक्सान फाइदाको तुलनामा धेरै रहेको सू नताली बताउँछिन् । मानिसले अहिले नै आफूलाई सम्हाल्दै वातावरणको संरक्षणमा ध्यान दिनुपर्नेमा नताली जोड दिन्छिन् । प्रदूषण फैलाउने ग्यास उत्सर्जन कम गरेर पृथ्वीको तापक्रम बढ्न रोके मात्रै मानव जीवन सुरक्षित हुने उनको धारणा छ ।

बीबीसी

प्रतिक्रिया दिनुहोस्