Wednesday 16th of October 2019

सिंहदरबारको मूलढोकामै लेन उल्लंघन

काठमाडौं । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि कानुनको उल्लंघन गर्ने तथा नियम पालना नगर्ने प्रवृत्तिलाई निरुत्साहन गर्न प्रहरी सक्रिय भएको छ । भन्द्रकाली मन्दिरतर्फबाट सिंहदरबार पश्चिम मूलद्वार पृथ्वीनारायण शाहको सालिक हुँदै राम शाहपथतर्फ मोडिने सवारी चालकले सडक अनुशासन(लेन) उल्लंघन गरेमा जरिवाना गर्ने कार्यलाई प्रहरीले तीव्र तुल्याएको हो ।

सिंहदरबारको मुलढोकामै सवारी चालकको नाममा हुने कानुन उल्लंघनलाई नियन्त्रण गर्न साँझ बिहान मात्र होइन, तातो घाममा छातीमा क्यामेरा भिरेका तथा हातमा जरिवाना गर्ने रातो रसिद बोेकेर खडा भएका प्रहरी देखिन्छन् । लेन क्रम गरे÷नगरेको केहीले चियो गर्छन् भने केहीले उल्लंघन गरेर भाग्न खोज्नेलाई नियन्त्रणमा लिएर जरिवानाको रसिद बोक्ने नेर पु¥याइ दिने गरेको देखिन्छ ।

सधैँजसो जाम हुने उक्त ठाँउमा पछिल्लो समय सार्वजनिक विदाको दिनबाहेक दैनिकरूपमा सडक लेन उल्लंघन गर्ने करिब १५० सवारी साधनका चालकलाई कारवाही गरिँदै आएको महानगरीय ट्राफिक महाशाखाको तथ्यांकले पुष्टि गरेको छ । शुक्रबार उपत्यकामा सडक लेन उल्लंघन गर्ने २७४ सवारी साधनमध्ये १५० सिंहदरबार अगाडि कारवाहीमा परेका हुन् ।

अघि पछिको तुलनामा बढी जाम हुने बिहान ९ देखि ११ र बेलुकी ४ देखि ६ बजेको बीचमा सडक नियम उल्लंघन गर्नेलाई नियन्त्रणमा लिने निकै चियो गरेर प्रहरी उभिएको त्यहाँ देखिन्छ । उक्त समयमा त्यहाँ छ÷सात जनाको संख्यामा प्रहरी खट्ने गरेको पाइन्छ । सडक लेन उल्लंघन गर्ने सवारी साधनलाई ५ सय जरिवाना गरिँदै आएको छ ।

सडक लेन उल्लंघन गर्नेमा मोटर साइकल चालकको सङ्ख्या अधिक अर्थात् ९० प्रतिशतभन्दा रहेको तथ्यांकले देखाएको छ । सडक अनुशासनलाई बेवास्ता गरी अरूलाई पछिपार्दै सवारी साधन हुइक्याउने शिक्षित युवापुस्ता नै ट्राफिक प्रहरी कार्यालय पुगेर जरिवाना बुझाउने सूचीमा अग्रस्थानमा छन् ।

सिंदरबारपछि सडक लेन उल्लंघन गर्नेबाट जरिवाना असुल्ने चोक भनेको थापाथली, बानेश्वर, त्रिपुरेश्वर, महाराजगञ्ज, कोटेश्वर, माइतीघर, कलंकी, पुतली सडक हुन् । जानेर होस् वा नजानेर चालकले सडक अनुशासनमा रहनुपर्छ भन्ने कुरालाई हेक्का नगरी छिटो अघि बढ्न खोज्दा कारवाहीको दायरामा पर्ने गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिए ।

सडक अनुशासन उल्लंघन गर्ने र नियन्त्रणमा लिने बसेको प्रहरीबीच सिंहदरबार अगाडि पैदल यात्रुले बाटो काट्ने स्थान (जेब्रा क्रसिङ नजिक) सधैँजसो वादविवाद भइरहेको देखिन्छ । कतिपय चालक भने प्रहरीले भत्ता पाउने आशाले अनाश्वयक रूपमा दुःख दिने काम गरेको भनी आक्रोश व्यक्त गरेको पाइयो । महाशाखाले सडक लेन पहिलो पटक उल्लंघन गर्ने चालकलाई ५ सय, दोस्रो पटक गर्नेलाई एक हजार र तेस्रो पटक गर्नेलाई एक हजार ५ सय जरिवाना गर्दै आएको छ । यसअघि त्यस प्रहरीले सडक लेन उल्लंघन गर्ने चालक एवं सर्वसाधारणलाई जुन ठाउँमा लेनको अवज्ञा गरेको हो त्यही एक घन्टा नियन्त्रणमा लिई सडक अनुशासन पालनाबारे ज्ञान दिने कार्यक्रम सञ्चालन गरेको थियो ।

विशिष्ट व्यक्तिको नाममा कतिपयले सडक लेनको पालना त परै जाआस्, प्रवेश निषेध भनी लेखिएको बोर्डको बेवास्ता गरेर ‘साइरन’ दिँदै मोटर हुँइक्याउने प्रवृत्तिलाई आम जनताले मन पराएको देखिन्न । उनीहरूले कानुनी राज्यको दुरुपयोग भएको रूपमा लिएका छन् । प्रहरीको पछिल्लो सक्रियाताले कम्तिमा पनि मुलुकको प्रशासनिक प्रमुख केन्द्रकै ढोका अगाडि पृथ्वीनारायण शाहले औँला ठड्याएको सालिक र भद्रकाली क्षेत्रमा कानुनको परिपालनामा योगदान पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्