Monday 22nd of July 2019

सकियो ‘गोर्खे’ को छायांकन

काठमाडौं । शंकर महर्जनले निर्देशन गरेको चलचित्र ‘गोर्खे’ को छायांकन सकिएको छ । चलचित्र कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति तथा तीर्थराम कोजु र हरि थापाको निर्माणमा तयार भएको हो । ललितपुरको चापागाउँस्थित बज्रबाराही मन्दिरको जंगलमा सिनेमाको केही दृश्य खिच्दै इन्डक्ल्याप गरिएको निर्माण पक्षले जनाएको छ ।

उक्त चलचित्रको पाल्पा, बर्दघाट, धम्पुस, पोखरा र काठमाडौं लगायत स्थानमा छायांकन गरिएको निर्देशक महर्जनले जानकारी दिए । हिमाल केसीको द्वन्द्व निर्देशन रहेको यो चलचित्रले गोर्खे बन्ने सपना बोकेका ५ युवाको कथालाई समेटेको निर्माता हरि थापाले बताए ।

सौरव लामा र निरज कँडेलको छायांकन रहेको यो चलचित्रको कथा भने काजी लिम्बुले लेखेका हुन् । करिब ४५ दिनमा छायांकन सकिएको निर्माण पक्षले जनाएको छ । केही दिनअघि यसै चलचित्रको एक गीत ‘सिन्के अचार’ सार्वजनिक भएको थियो । उक्त गीतमा शिव बिकको कोरियोग्राफी रहेको छ । छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको यस चलचित्रमा रवीन्द्रप्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरुङ, आश्मी लामा, आश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ, बाल्दिप राई लगायतको प्रमुख भूमिका रहेको छ ।

नेपाल प्रदर्शन मिति तय नभएको यो चलचित्र अस्ट्रेलिया र अमेरिकामा च्यारिटी सो हुने निर्माता हरि लामाले जानकारी दिए । उनले भने, ‘हामीले नेपालमा प्रदर्शन मिति तय गरेका छैनौँ । तर, विदेशमा केही सो गरिसकेपछि नेपालमा रिलिज मिति तय गर्नेछौ ।’ मित्र डी गुरुङको सम्पादन रहेको यस चलचित्रको वितरण जिम्मा भने सुनिल मानन्धर लिएको निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्