Thursday 14th of November 2019

खुर्पा प्रहार गरी आमाको हत्या

काठमाडौं । केही समय अघि भक्तपुरकी विवाहित एक युवतीले आफ्नै आमालाई मार्नका लागि १२ लाखको सुपारी दिएको समाचारले समाजमा तरंग नै फैलायो । यो घटनामा ति युवतीमाथि आफ्नै आमालाई मार्न उनले कसरी परपुरुषको प्रयोग गरिन् ? आमालाई मार्नुको कारण के थियो ? श्रीमान छाडेर अर्कैसँग लाग्नुकोकारण के थियो जस्ता विभिन्न प्रश्नहरु उब्जिए ।

यो घटनामा युवतीकै संलग्नता रहेको खुलिसके पनि अझै धेरैको मनमाम छोरीले नै मार्न लगाएकी हुन् त ? भन्ने प्रश्न भने खेलिरहेकै छ । यो घटनामा छोरीको संलग्नताको विषयमा समाज पत्याउन तयार छैन । तर, यथार्थ यहि हो, त्यसैले हामी पत्याउन बाध्य छौं ।

यस्तै घटना पर्सामा पनि भएको छ । पर्सामा एक युवकले आमाको हत्या गरेका छन् । भैंसीको निहुँमा विवाद हुँदा वीरगन्ज महानगरपालिका–२४, रामगढवाका अन्दाजी २१ वर्षीय गुड्डु यादवले ४० वर्षीया आमा शोभादेवी यादवको हत्या गरेको प्रहरीले जनाएको छ ।

दश पन्ध्र दिन पहिले हराएको भैंसीको निउँमा भनाभन हुँदा मंगलबार गुड्डुले खुर्पाले हानेर आमाको हत्या गरेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो ।

मृतक यादवको तालु, घाँटी र हातमा गहिरो चोट लागेको छ । यता, घरमा विवाद बढेपछि आमामाथि झम्टिन लागेका गुड्डुसँग हतियार खोस्न खोज्दा खुट्टा भाँचिएर घरमा नै रहेका बाबु भोलन यादव पनि घाइते भएका छन् ।

गुड्डुले आमालाई लखेटी लखेटी घरभन्दा पर पु¥याई धारिलो हतियार प्रहार गरेको हत्या गरेको प्रहरीको भनाई छ । प्रहरी घटनास्थल पुग्दा समेत गुड्डु खुर्पा बोकैरै बसेका थिए । हत्यामा संलग्न गुड्डुलाई नियन्त्रणमा लिई पर्सा प्रहरी कार्यालय पठाइएको छ भने मृतक शोभादेवीको शव पोष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्