Friday 21st of February 2020

दुई दिनमै कालोपत्रे उप्कियो

बुटवल । असारे विकासका खबरहरू देशभरबाट आइरहेका छन् । पानी पर्न सुरु हुनासाथ सुरु भएका असारे विकास काम सम्पन्न नहुँदै भत्कन पनि थालेका छन् । रुपन्देहीको तिलोत्तमा पनि यस्तै एउटा असारे विकासका कारण जनता आक्रोशित बनेका छन् ।

शारदा स्कुलदेखि वनवाटिकासम्मको सडक कालोपत्रे गर्दा चरम लापरबाही भएको स्थानीयहरूले बताएका छन् । यही वैशाखमा ठेक्का लगाए पनि मध्य असारबाट काम सुरु भएको उक्त सडक कालोपत्रेमा चरम लापरबाही भएको स्थानीयले बताएका हुन् ।

३ सय ३० मिटर कालोपत्रे सडक निर्माणका लागि प्रदेश–५ सरकारले अभियान्त कन्ट्रक्सनलाई वैशाखमा ४२ लाख रुपैयाँमा ठेक्का लगाएको थियो । तर, बैशाखमा ठेक्का सम्झौता भए पनि असारमा काम गर्दा कालोपत्रे गरेको तीन दिन नपुग्दै खाल्डा पर्न थालेका छन् । स्थानीय खिमलाल पाण्डेले ठेकेदारको लापरबाहीका कारण दुईदिनमै सडकमा खाल्डाखुल्डी पर्न थालेको बताए ।

‘धुलो उडाउने बेलामा समेत मेसिन प्रयोग गरिएन, नाङलोले धुलो उडाएर काम गरियो, पानी पर्दासमेत कालोपत्रे गर्दा यस्तो भयो’, उनले भने ।

तीन दिनअघि गरेको कालोपत्रे सडक सोमबारदेखि परेको पानीले खाल्डा पर्न थालेका छन् । सडक निर्माणको ठेक्का पाएका अभियान्त कन्ट्रक्सनका ठेकेदार सेजल नेपालले भने काम सम्पन्न नहुँदै स्थानीयहरूले आपूmमाथि लाञ्छना लगाएको बताएका छन् । दुई दिनदेखि लगातार पानी परेकाले काम गर्न नपाएको भन्दै उनले उक्त सडक निर्माणमा अझै सिलकोट र पिच फिनिसिङको काम बाँकी रहेको बताए । उनले काम नै सम्पन्न नभएको वेला स्थानीयहरूले आपूmमाथि रिसिबी साधेर आरोप मात्र लगाएको उनले बताए ।

‘उहाँहरूले खनाल स्टोरसम्म कालोपत्रे गर्न भन्नुभएको थियो, मैले त्यो सबै गरिनँ, रिसिबी साध्नका लागि उहाँले यस्तो आरोप लगाउनुभएको हो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्