Wednesday 26th of February 2020

गुपचुप छुट्छन् इसाई धर्म प्रचारक, नेताहरूको दवाव

दाङ । दाङ प्रहरीले केही महिनाअघि धर्म परिवर्तन गराउँदै हिंडेका पाँच जना इसाई धर्मका प्रचारकलाई दाङमा पक्राउ गर्‍यो ।

अमेरिकी र भारतीय नागरिक २ जनासहित ३ जना नेपालीलाई धर्म प्रचार गरेको आरोपमा दाङको घोराहीस्थित एक होटेलबाट केही थान बाइबल, बाड्न तयार गरिएको पैसा राखेका खामसहित प्रहरीले पक्राउ गरि अनुसन्धान र्गयो। तर अनुसन्धान धेरै दिन चलेन । प्रहरीले ‘दबाब’ का कारण सबैलाई छाडिदियो ।

केही दिनअघि बर्दियामा पनि दुई जना विदेशी नागरिक धर्म प्रचारकै मुद्धामा पक्राउ परे । उनीहरु पनि सहज छुटे । रुपन्देहीमा पनि धर्म प्रचारको मुद्धामा पक्राउ परेका विदेशीलाई प्रहरीले मुद्धा बढाउन सकेन । त्यतिकै छाडिदियो । यी घटना उदाहरण मात्रै हुन् । धर्मप्रचारक पक्राउ पर्छन् तर चुपचाप छु्ट्छन् । धर्म प्रचारमा पक्राउ परेका बारे प्रहरीले तथ्याक समेत राम्रोसंग राखेको पाइँदैन ।

अनेक प्रलोभन देखाएर दाङमा धर्म परिवर्तन गरिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेपछि हंगामा भएको थियो । अमेरीकामा बसेर क्रिश्चियन धर्म प्रचारमा लगानी गरिरहेकी महिलासहित धर्म परिवर्तन गराउँदै हिँडेका पाँच जनालाई पक्राउ गरेपछि प्रहरीलाई दवाव थेक्न हम्मे पनि पर्‍यो ।

पक्राउ परेकी अमेरिकी नागरिक सिनक्वान्टा ओलिएना मेलाई भिसा रद्द गरी १० वर्षसम्म नेपाल आउन रोक लगाउने माग र आग्रहसहित अध्यागमन विभागमा पठायो । अन्य चार जनालाई दाङमै मुद्धा चलाइयो । तर प्रहरीको प्रयास सफल भएन । सबै उम्किए । अमेरिकी नागरिकलाई अध्ययागमन विभागले चुपचाप छाडिदियो ।

दाङमा मुद्धा चलेका भारतीय नागरिक गौरव श्रीवास्तव, क्रिश्चियन समाजका महासचिव डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र नेपालगञ्जका प्रमोद काफ्ले पनि सहजै थुना मुक्त भए । प्रहरी तथ्यांकमा प्रदेश ५ मा यो वर्ष यस्ता धर्म प्रचारक १२ जना समातिए। तर सबै जना सहजै उम्किए ।

प्रदेश ५ का प्रहरी प्रवक्ता तथा डीएसपी नवराज पोखरेलले धर्म प्रचार गरे पक्राउ गरिने बताए। ‘पक्राउ गरी मुद्धा चलाउने हो’, उनले भने, ‘कतिले मुद्धा खेपिरहेका छन् । कति छुटेका पनि छन् ।’ डीएसपी पोखरेलका अनुसार प्रदेशका केही जिल्लामा धर्मप्रचारक सक्रिय देखिएका छन् । ‘दाङ, बर्दिया, रुपन्देहीमा बढि देखिएको छ । सबभन्दा बढि बर्दियामै छ’, उनले भने, ‘विपन्न, गरिब र सहजै परिवर्तन हुन सक्ने समुदायमा धर्म प्रचार अभियान बढि देखिएको छ ।’

संविधानले धर्म परिवर्तन गराउने कार्यलाई अपराध मानेको छ । गाउँ शहरमा अनेक प्रलोभन देखाएर क्रिश्चियन धर्म प्रचार गरेको अभियोगमा दाङमा समातिएका पाँचै जना विना कारबाही छुट्नु उनीहरुका लागि हौसला भएको स्थानीय प्रमोद अधिकारीले बताए ।

पक्राउ परेकामध्ये अमेरिकी नागरिकलाई देश निकाला गर्न आग्रहसहित अध्यागमन विभागलाई पत्राचार गरिए पनि गुपचुप छोडनु परमपरागत धर्म संस्कृतिमाथिको आक्रमण जस्तै भएको स्थानीयको भनाइ छ । ‘दोशीले कारवाही भोग्नु पर्नेमा सम्मान पाए जस्तो भएको छ’, अधिकारीले भने ।

अमेरिकी नागरिकलाई नेपाल भ्रमणको अनुमति पत्र रद्द गर्दै देश निकाला गर्न र १० वर्ष नेपाल प्रवेशमा रोक लगाउन माग गरेको दाङ प्रहरी प्रमुख बेलबहादुर पाण्डेको भनाइ छ । ‘हामीले बुझाएपछि थप जानकारी हुँदैन’, पाण्डेले भने, ‘कतिपय विदेशी अर्कै कामका लागि भनेर नेपाल आउने र गाउँगाउँमा छिरेर धर्म प्रचार गर्ने गरेको देखिएको छ ।’

होटेलमा बस्ने, गाउँमा पुगेर धर्मप्रचार गर्ने र मानिसलाई आर्थिक तथा उपचारको प्रलोभन देखाएर प्रभावित बनाउने गरेको प्रहरीको भनाइ छ । दाङमा पछिल्लो समय ३० प्रतिशत क्रिश्चियन भइसकेको इसाई अगुवाको दावी छ ।

प्रतिक्रिया दिनुहोस्