Tuesday 18th of February 2020

‘विकट’को परिचय बदल्दै नरैनापुर

काठमाडाैं । आठ स्थानीय तह रहेको बाँकेमा अन्य गाउँपालिकाभन्दा विकासमा घेरै अघिदेखि पछाडि पर्दैआएको गाउँपालिका हो, नरैनापुर । विगतदेखि नै नरैनापुरले ‘विकट’को उपमा पाउँदै आएको छ । बाटोघाटो, बिजुली बत्ती, वित्तीय सेवा लगायतको सेवासुविधा पर्याप्त नभएका कारण नरैनापुर गाउँपालिका विकट मानिएको हो । तर, अहिले यो गाउँ पालिकाले विस्तारै आफ्नो परिचय बदल्ने प्रयास गरिरहेको छ ।

कुनै पनि स्थानको विकास भएको त्यो वेला देखिन्छ, जति बेला गाउँका बाटाहरू पक्की बन्छन्, गाउँमा विद्यालय, स्वास्थ्य चौकी र खानेपानीको व्यवस्था हुन्छ । यो गाउँमा अहिले नयाँ बाटाहरू बन्नाका साथै सडक विस्तारलाई अभियानकै रूपमा अघि बढाइँदा सडक सञ्जालले सबै गाउँ टोल र बस्तीहरू जोडिँदै छन् ।

एक वर्ष पहिले मात्रै पनि नेपालगञ्जबाट नरैनापुर जान गाडीमा चार घण्टासम्म लाग्ने गथ्र्यो । बाटोको अवस्था दयनीय हँुदा हिँडडुल गर्न नै मुश्किल पर्ने नरैनापुरका सडक स्थानीय सरकार आएपछि सुधारिँदै गएका छन् । साना तथा ठूला सडकहरू बन्ने क्रममा छन् । केही सडकहरू पक्की बनेका छन् भने केही सडकमा ग्राभेल तथा माटो पटान गरिएको छ ।

सडकलाई सुरूदेखि नै फराकिलो बनाउने सोचका साथ विकास निर्माणका कामहरू भइरहेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । ‘गाउँपालिकामा धमाधम सडक बनिरहेका छन् । गाउँगाउँमा ६ मिटर चौडाइका पक्की सडकहरू बन्न थालेपछि स्थानीय पनि खुसी भएका छन,’ अध्यक्ष शाहले भने ।

कालाफाँटाका स्माइल खाँले जनप्रतिनिधि आएपछि नरैनापुरको विकासमा तीव्रता आएको बताए । गाउँगाउँमा फराकिला सडक बनेको देख्दा आफूहरू दंग परेको उनले बताए । वडा नं ५ जमुनीमा हुलाकी सडक हुँदै गाउँ जोड्ने ५०० मिटर लम्बाइ र छ मिटर चौडाइ रहेको पक्की सडक गत वर्ष नै बनिसकेको छ ।

गाउँपालिकाले यस वर्ष नालीसहित थप एक किलोमिटर पक्की सडक बनाएको छ । सडक बन्ने भएपछि नरैनापुरका स्थानीय बासिन्दाले सडक क्षेत्रमा परेका घरटहराहरू आफैँले भत्काएका छन् । स्थानीय बासिन्दाको सहयोगमा नरैनापुरमा सडक विकासको काम गर्न सजिलो भएको गाउँपालिकाका अध्यक्ष शाहले जानकारी दिए ।

उनले भने, सुरु–सुरुमा घर भत्काएर सडक बनाउन आनाकानी गरेका स्थानीयले गाउँमै गाडी छिर्ने पक्की बाटो बन्ने भएपछि गाउँपालिकालाई सडक बनाउन साथ दिएका छन् ।’ उनका अनुसार घर अगाडि गाडी नै गुड्ने पक्की सडक बनेपछि स्थानीय बासिन्दा अहिले खुसी भएका छन् ।

नरैनापुरका अधिकांश सडकहरू कृषि सडकका रूपमा विकास गरिने र त्यसबाट किसानले उत्पादन गरेको अन्नबाली सहजै सदरमुकाम नेपालगञ्जसम्म पु¥याउन सहज हुने विश्वास गरिएको छ । गाउँसम्म पुग्ने सडक अधिकांश सडक कच्ची भएकाले किसानको अन्नबालीलाई बजारसम्म पु¥याउन कठिन हुँदै आएको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतका अनुसार गतिलो र स्तरीय सडक अभावका कारण नरैनापुरमा साना तथा ठूला उद्योग खुल्न सकेका छैनन् जसका कारण पनि गाउँपालिकाको क्षेत्रभित्र पर्ने सबै सडकलाई स्तर वृद्धि गर्नुपर्ने बाध्यता रहेकै कारण सडक निर्माणलाई प्राथमिकता दिइएको हो ।

हुलाकी सडकबाट भारतीय सीमा जोड्ने पक्की सडक बनाउने योजनाअन्तर्गत ६ वटै वडामा गत वर्षदेखि पक्की सडकहरू निर्माण भइरहेका छन् । गाउँपालिकाका जनप्रतिनिधिलाई निर्वाचनताका मत माग्ने क्रममा सडक नभएकाले ट्याक्टरमा बसेर गाउँगाउँसम्म जानुपर्ने बाध्यता थियो ।

गाउँपालिका अध्यक्ष शाहले निर्वाचनका क्रममा भोगेका पीडा स्मरण गर्दै भने, ‘सडक स्तरीय थिएनन् । ट्र्याक्टरमा बसेर टाढाटाढाको गाउँसम्म प्रचारप्रसार गर्न जाँदा निकै दुःख झेल्नुपरेको थियो तर, अहिले नरैनापुरको अवस्था निकै फेरिएको छ । सडकहरूको स्तरोन्नति गरिएपछि नरैनापुरका गाउँहरूमा आउजाउ गर्न समस्या छैन ।’

उनका अनुसार मुख्य सडकमध्ये केही कालोपत्रे भइसकेको छ । गाउँमा ६÷६ मिटरका सडकहरू बनिरहेका छन् । ‘सबै भित्री गाउँका सडकहरू गाडी सहजै जान मिल्ने गरी नालीसहितको बनाइरहेका छौँ,’ अध्यक्ष शाहले भने, । वडा नं ५ कै नयाँ बस्तीमा पनि यसै वर्ष पक्की बाटो बनेको छ । यस आर्थिक वर्षमा मात्रै नरैनापुर गाउँपालिकामा पिसिसी सडक ३.५ किलोमिटर निर्माण भएको छ । त्यस्तै, ग्राभेल तथा कच्ची बाटो ५ किलोमिटर, एक किलोमिटर नाला निर्माण र तीनवटा स्ल्याब कल्भर्ट निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए ।

कच्ची बाटो भएको ठाउँमा सडक चौडा गरी नालीसहितको पक्की बनाउने र सडक नै नभएको ठाउँमा नयाँ सडक बनाउने काम भइरहेको उनले बताए । भारतीय सडक भएर जानुपर्ने वडा नं २ रोशनपुर्वामा पनि यसै वर्ष कच्ची सडक निर्माण गरिएको छ । आगामी वर्ष ग्राभेल बिछ्याउने योजना रहेको वडा नं २ का अध्यक्ष मसुद अहमद शाहले बताए ।

सडक नहुँदा जनतालाई आवतजावतमा निकै समस्या पर्ने गरेको उनले बताए । त्यस्तै, वडा नं ५ को मटेहिया महादेवनगर जाने सडक निर्माण पनि भर्खरै सकिएको छ । सडक सञ्जालले गाउँपालिकाका सबै वडा, गाउँ र बस्तीलाई नजोडेसम्म विकास सम्भव नहुने भएकाले सडक निर्माणलाई प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष शाहले बताए ।

नेपालगञ्जदेखि नरैनापुरको कट्कुइँया जोड्ने ४४ किलोमिटर लामो हुलाकी सडक पनि धमाधम बनिरहेको छ । हुलाकी सडकमा कालोपत्र गर्नेे काम हाल वडा नं ६ गंगापुरको भोजपुरसम्म सम्पन्न हुँदैछ । यो सडक बनेपछि नरैनापुरदेखि नेपालगञ्जसम्मको सडक सम्पर्क सहज बन्ने छ । प्रत्येक वडाको हुलाकी सडकबाट सीमा जोड्ने पक्की सडक निर्माण गरिएको छ ।

गाउँपालिकाले वडा नं २ रोशनपूर्वामा तीन किलोमिटर लम्बाइ र चार मिटर चौडाइको सडक निर्माण थालेको छ । नेपाली गाउँ भए पनि बाटो नहुँदा भारतीय भूमि भएर पुग्नुपर्ने रोशनपूर्वामा सडक निर्माण कार्य सकिने क्रममा रहेको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए ।

‘सडक निर्माणका क्रममा स्थानीय बासिन्दाको अवरोधका कारण केही ढिलाइ भएको हो,’ बस्नेतले भने, ‘अध्यक्ष आफैँले स्थानीय बासिन्दासँग छलफल गरेर सडक निर्माणको कामलाई अघि बढाएपछि निर्माण कार्य सकिँदैछ ।’ यस वर्ष नयाँ ट्र्याक खोलेका सडकहरूलाई आगामी वर्ष सकेसम्म कालोपत्र नै गर्ने गाउँपालिकाको योजना छ ।

त्यस्तै, वडा नं ६ गंगापुरका पाँच वटा गाउँ जोड्ने आठ मिटर चौडाइको सडक निर्माण पनि भइरहेको छ । करिब एक किलोमिटर सडक बनाउने काम पनि चलिरहेको छ । अहिले करीब चार मिटर मात्रै चौडा रहेको सडकलाई आठ मिटर फराकिलो बनाउन थालिएको छ । सहरी विकास आयोजनाअन्तर्गत ७० लाख रूपैयाँ लागतमा यो सडक बन्न लागेको हो । उक्त सडकले गंगापुरदेखि जमुनी हुँदै कोहला गाउँलाई जोड्नेछ ।

‘एक दुई वर्षभित्रै नरैनापुरले ‘विकट’को उपमा बदल्नेछ,’ अध्यक्ष शाहले भने, ‘हामी नरैनापुरलाई विकट होइन निकट बनाउने अभियानमा लागिरहेका छौँ ।’ आफ्नै कार्यकालमा नरैनापुरलाई सुगमको सूचीमा पार्ने विश्वास पनि उनले गरेका छन् । अहिले भइरहेको कामको गति हेर्दा उनले विश्वास पूरा हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्