Saturday 22nd of February 2020

‘सानो मन’ को स्याड भर्सन गीत

काठमाडौं । प्रदर्शनरत् नेपाली चलचित्र ‘सानो मन’ को स्याड भर्सन गीत सार्वजनिक भएको छ । निकिता थापाको एकल आवाज रहेको उक्त गीतमा सुयोग सोताङको शब्द तथा संगीत रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा चलचित्रकी अभिनेत्री शिल्पा मास्केलाई गायिकाको भूमिकामा प्रस्तुत गरिएको छ । चलचित्रमा उनले अभिनेता आयुष्मान देशराज जोशीसँग बिताएका पल सम्झिएर भावुक हुँदै उनले स्टेजमा आफ्नो प्रस्तुित दिएकी छन् ।

चलचित्रमा यो गीत कथावाचनको रूपमा प्रयोग गरिएको छ । शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको ‘सानो मन’ ले हलमा अपेक्षाकृत व्यापार गर्न नसके पनि दर्शकबाट निकै राम्रो प्रतिक्रिया प्राप्त गरेको निर्माण टोलीले जिकिर गरेको छ ।

सुयोग गुरुङले दर्शकले चलचित्र रुचाउनु नै यसको सफलता भएको जिकिर गरे । उनले चलचित्रको ‘वर्ड अफ माउथ’ निकै राम्रो रहेको प्रतिक्रिया दिए ।

चलचित्रमा आयुष्मान र शिल्पाका साथै सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारको अभिनय छ । युवाहरूको मनोविज्ञानलाई यथार्थपरक शैलीमा प्रस्तुत गरिएको चलचित्रमा आयुष्मान र शिल्पाको प्रेमले दर्शकलाई निकै भावुक बनाउँछ । चलचित्रका केही संवाद निकै मर्मस्पर्शी र सजिलै जिब्रोमा झुन्डिने खालका छन् ।

आलोक शुक्लाको डिओपी रहेको फिल्मलाई सुयोग गुरुङ र मिलन श्रेष्ठले सम्पादन गरेका छन् । समिर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको चलचित्र ओपिजी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाइ टेक इन्टरटेन्मेन्टले संयुक्त लगानी गरेका छन् । यो चलचित्रका निर्मातामा योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर रहेका छन् । रित बोहरा मुख्य सहायक निर्देशक हुन् भने प्रोडक्सन म्याजेनर यम प्रसाद ओली हुन् ।