Monday 14th of October 2019

क्रसर डनको कनेक्सन नेतादेखि डीआईजीसम्म

पोखरा । देशभर प्राकृतिक विपत्तिले ठूलो धनजनको क्षति भएको छ । पहाडी जिल्लाहरूमा जथाभावी माटो परीक्षणविना नै डोजर कुदाएर सडक खन्दा पहिरोले बस्ती नै पहिरोको जोखिममा परेका छन् । चुरे क्षेत्रमा नदी दोहनले बाढीले तराईका समथर फाँटहरू कटान गरी अपूरणीय क्षति पु¥याएको छ । पछिल्ला दिनमा नदी दोहन गरी क्रसर उद्योग संचालन गर्ने क्रम बढेको छ । विकासका नाममा नदी दोहन गर्ने यही क्रमले ठूलो प्राकृतिक संकट निम्त्याइरहेको छ । उदाहरणका लागि गोरखाको दरौंदी नदीको दोहनलाई लिन सकिन्छ ।

गोरखा जिल्ला समन्वय समितिकै निर्देशनमा मापदण्ड मिचेर दरौंदी नदीको दोहन भइरहेको स्थानीय जनताको गुनासो छ । क्रसर सञ्चालकहरूले दरौंदी खोलाको धार फर्काएर स्काभेटरमार्फत् ढुंगागिट्टी उत्खनन् गरिरहेका छन् । मापदण्ड विपरीतका क्रसर उद्योगलाई गोरखाका ठूला दुई पार्टीकै नेताले संरक्षण गर्दैआएको आरोप छ । गोरखामा गोरखकाली क्रसर उद्योगका संचालक सुरेन्द्र कुँवरले मापदण्डविपरीत नदी दोहन गरी ढुंगा गिटी उत्खनन् गर्दैआएका छन् ।

क्रसरका डन कुँवरलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद सुरेन्द्र पाण्डे, नेकपाका केन्द्रीय सदस्य चुडा खड्का र गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको संरक्षण रहेको जनगुनासो छ । कुँवरको क्रसर उद्योगमा उनीहरूको समेत लगानी रहेको चर्चा हुने गरेको छ । चुडा खड्का नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका निजी सचिव समेत भइसकेका प्रभावशाली हैसियत राख्ने नेता हुन् ।

कुँवरले अवैध क्रसर उद्योग राखेका छन् । गोरखा नगरपालिका–१० छेवेटारमा सञ्चालित गोरखकाली क्रसर उद्योग बन्द गरी यथाशीघ्र जानकारी गराउन उद्योग सञ्चालक सुरेन्द्र कुँवरलाई बैशाख अन्तिममा घरेलु तथा साना उद्योग विकास समितिले पत्र काटेको थियो । तर उक्त पत्रलाई बेवास्ता गर्दै उनले अवैध क्रसर उद्योग संचालन गरिरहेका छन् । नेपाली कांग्रेसका नेता पाण्डे र नेकपाका चुडा खड्काको संरक्षण उनलाई भएकाले घरेलुले पत्र काट्दा पनि उनले उद्योग संचालन गरिरहेको स्रोतको दावी छ ।

उद्योगको नवीकरणसमेत २०७४ मंसिर ४ गते समाप्त भइसकेकाले उद्योग बन्द गर्न घरेलुले पत्र काटेको थियो । उक्त पत्र गण्डकी प्रदेशस्थित मुख्यमन्त्री, उद्योगमन्त्री, गोरखा नगरपालिका, जिल्ला प्रशासन, प्रहरी कार्यालय र अख्तियारमा समेत जानकारीका लागि बोधार्थ पठाइएको थियो । उक्त उद्योग साविकको देउराली गाविस –८ को कित्ता नम्बर ५२९ मा दर्ता छ । तर, क्रसर सञ्चालक सुरेन्द्र कुँवरले दर्ता भएको ठाउँमा क्रसर संचालन नगरी ठाउँसारीको आवश्यक कागजपत्रबिनै छेवेटारमा उद्योग सञ्चालन गरेको पाइएपछि घरेलुले पत्र काटेको थियो । उनले वातावरणीय प्रभाव मूल्यांकनसमेत नगरीे विद्यालय र स्थानीयवासीको खेतलाई समेत असर पर्ने गरी क्रसर चलाएका छन् ।

भूकम्प आपतकालीन सहायता आयोजनाले पालुङटार–लुईँटेल–आँपपिपल–भञ्ज्याङ–थालाजुङ–भच्चेक सडक स्तरोन्नतिका लागि लामा एण्ड अमर जेपी कम्पनीलाई ठेक्का दिएको र लामा एण्ड अमर जेपी कम्पनीले गोरखा नपा १० छेपेटारस्थित दरौदी किनारमा गोरखकाली क्रसर उद्योगलाई नदीजन्य पदार्थ (बालुवा, रोडा, गिट्टी) उत्खनन गर्न तत्काल जिम्मा दिएको थियो । यस्तो अवैध क्रसर बन्द गराउन गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत र गोरखा नगरपालिका वडा नम्बर १० का अध्यक्ष डीबी बस्नेत लाग्दा पनि नसकेको गुनासो प्रँप्त भएको छ । गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको संरक्षण पाएका कारण पनि कुँवरले अवैध रूपमा क्रसर संचालन गर्दैआएका छन् । नेकपा (साविक एमाले)का मोहन भट्टराई र सूर्य श्रेष्ठको पनि श्रीनाथकोटको खहरेमा क्रसर संचालित छन् । उनीहरूले पनि दरौंदी नदी दोहन गरी क्रसर संचालन गर्दैआएका छन् ।

गोरखामा एसपी भोला रावल सरुवा भएपछि उनले अवैध रूपमा संचालित क्रसर बन्द गरेका थिए । रावलले क्रसर बन्द गरेपछि तिलमिलाएका कुँवरले गण्डकी प्रदेशमा नयाँ डीआइजी विनोद शर्मा घिमिरे सरुवा भएपछि उनीसँग लाइन मिलाए । र, एसपी रावललाई दिउँसै मादक पदार्थ सेवनको आरोप लगाएर डीआइजी प्रयोग गरी सरुवा गरी ओम अधिकारीलाई लगेर कुँवरले क्रसर संचालन गर्ने वातावरण तयार गरेका छन् ।

७ महिनामात्र जागिर अवधि बाँकी भएका डीआइजी घिमिरेले क्रसर ब्यवसायी कुँवरहरूको प्रभावमा परी रावललाई मापसे गरेको र आफूसँग मोवाइलमा अभद्र ब्यवहार गरेको आरोपमा सरुवा गरेका छन् । आइजीपी सर्वेन्द्र खनालसँगै २०७६ माघ २८ मा अवकाश हुने एसपी घिमिरेले यो अवधिमा कुस्त कमाउने उद्देश्य राखेको प्रहरी अधिकृतहरू चर्चा गर्दछन् । पर्वत घर भएका घिमिरे बागलुङका नेकपा नेता देवेन्द्र पौडेलसँग कनेक्सन मिलाएर गण्डकी प्रदेशको प्रहरी प्रमुखमा सरुवा भएको स्रोत बताउछ ।

जागिर अवधि ७ महिनामात्र भएका उनी गोरखा र तनहुँमा क्रसर उद्योगहरूसँग असुली गर्ने योजनामा रहेको स्रोतको दावी छ । बागलुङमा लाइसेन्स बितरण हुने भएकाले त्यहाँ उनले आफ्ना निकट एसपी नवराज भट्टलाई सरुवा गरेका छन् । बागलुङमा सरुवा भएको ३ महिनामै एसपी कृष्णहरि शर्मालाई डीआइजी घिमिरेले हटाएर भट्टलाई पठाएका छन् । डीआइजी घिमिरेसँग पहिलादेखि नै कुरा नमिल्ने भएकाले उनी सरुवा हुनासाथ एसपी शर्मालाई प्रहरी प्रधान कार्यालयमा तान्न लगाएर एसम्यान मात्र हुन सक्ने भट्टलाई पठाएका छन् ।

एसपी शर्मा २०७५ फागुनमा बागलुङ सरुवा भएका थिए । उनलाई विनाकारण तानेर सवारी अनुमतिपत्र बितरण र जुवा अखाडा संचालनबाट हुने अतिरिक्त आम्दानीमा डीआइजी शर्माको आँखा लागेको प्रहरी स्रँेत बताउछ । पोखरामा हुँदैआएको जुवा खेल पछिल्लो समय प्रहरीबाट कम खतरा हुने देखेर बागलुङमा हुन थालेको छ । विगतमा पोखरामा हुने करोडौंको जुवा खेल पछिल्लो समय बागलुङतिर सरेको स्रोतले बताएको छ ।
साँघु

प्रतिक्रिया दिनुहोस्