Sunday 25th of August 2019

जीएमले घूस मागेको भिडियो अख्तियारमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिटर ट्याक्सी सञ्चालनको ठेक्का लगाउने विषयमा नागरिक उड्डयन प्राधिकरण, त्रिअवि कार्यालय र ठेकेदारबीच कुरा नमिल्दा अन्ततः मदिराले लठ्ठ भएको अवस्थाको भिडियो, आर्थिक लेनदेन गर्दै गरेको दृश्यसहितको भिडियो अख्तियार दुरुपयोग अनुसन्धानमा पुगेको खबर छ । ठेकेदारहरूले ठेक्का रोक्काका लागि अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेपछि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको र आदेशको अवधिभर अख्तियारले कारवाही स्थगित गरेको स्रोतले जनाएको छ ।

मिटर ट्याक्सी ठेकेदारहरूसंग आर्थिक मोलमोलाई गरेको साँढे दुई घण्टाको भिडियोका मुख्यपात्रहरू, नागरिक उड्डयन प्राधिकण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्री र निर्देशक हेम दाहाल रहेको स्रोत बताउछ ।एयरपोर्टमा विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले सात वर्षदेखि मिटर ट्याक्सी सञ्चालनको ठेक्का पाउँदै आएको थियो । तर, विमानस्थलस्थित नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले सो ठेक्का रद्द गरी अर्को ठेक्का आह्वान गर्न खोजेपछि ठेकेदार र प्राधिकरण प्रशासनबीच विवाद हुँदै आएको छ ।

ठेकेदारहरूले ठेक्काको म्याद थपका लागि माग गरेका थिए । तर, महाप्रवन्धक क्षेत्रीले हाल त्यहाँ चलिरहेका सबै पुराना ट्याक्सी हटाई नयाँ खरिद गरिनुपर्ने र प्रति ट्याक्सी डेढदेखि दुई लाख रुपैयाँ आफूलाई कमिशन दिनुपर्ने माग गरेको पीडित पक्षको भनाई रहेको स्रोत बताउछ । अहिले त्रिअविमा दुई सयवटा मिटर ट्याक्सी सञ्चालनमा छन् । हाल त्रिअविमा ट्याक्सीको ठेक्का परेको कम्पनीका सञ्चालक विजय स्वाँर, पुरुषोत्तम सिंखडालगायतका छन् ।

महाप्रवन्धक क्षेत्रीले ठेक्काको निरन्तरता वा ठेक्का रद्द गर्न नमानेपछि ठेकेदारहरूले महाप्रवन्धक क्षेत्री र हेम दाहाललाई एक रेष्टुरेष्टमा डिनरका लागि बोलाए । डिनर खाने क्रममा त्यहाँ भएका सबै कुराकानी स्मार्ट भिडियोमार्फत रेकर्ड गरिएको समाचार सार्वजनिक भएको छ । त्यसमा महाप्रवन्धक क्षेत्रीले दुई वटा गाडी र ५० लाख नगद माग गरेको अडियो र भिज्युवल दुबै रेकर्ड अख्तियारमा पुगेको स्रोत बताउछ । स्रोतका अनुसार, उक्त भिडियो ठेकेदार पुरुषोत्तम सिंखडाको मोबाइलमा रेकर्ड गरिएको थियो । सोही भिडियोमा तत्कालै केही रकम माग गरिएको र माग गरिएजति रकम नभएका कारण चेक दिइएको दृश्य पनि रेकर्ड भएको छ । (साँघु साप्ताहिक)

प्रतिक्रिया दिनुहोस्