Tuesday 12th of November 2019

लौ आयो ‘नाचौँ मितिनी’ गीति क्यासेट

काठमाडौँ । गीतकार दिनेश अधिकारीको शब्द तथा गायिका इन्दिरा भट्टराईले स्वर दिनुभएको ‘नाचौँ मितिनी’ गीति क्यासेट सार्वजनिक भएको छ ।

कलाकारद्वय नितु कोइराला र सम्झना बुढाथोकीको मुख्य अभिनय रहेको उक्त क्यासेटमा घर माइतीको सम्बन्धलाई निकट बनाउन तीज पर्वको महत्व दर्साइएको छ । संस्कृतिका रुपमा महत्व रहेको हिन्दू नारीको तीजका विभिद पक्षलाई देखाउन खोजिएको छ ।

यहाँ आज आयोजत कार्यक्रममा गीतकार अधिकारीले उक्त क्यासेटको विमोचन गर्दै महिला समुदायले स्थानीय माटोको स्मरण गर्ने, माइतीसँग मिलन हुने सांस्कृतिक पर्व तीजले विविधतामा एकता थप्ने विश्वास ब्यक्त गरेका छन् । दशैँ, तिहारजस्ता पर्वका बारे गीत लेखेको बताउँदै उनले चेलीको बालापनलाई महत्व दिएर देखाउन उक्त गीत रचना गरिएको बताए ।

गायिका भट्टराईले विभिन्न राजनीतिक आन्दोलनमा महिला सहभागिता भएको भए पनि उनीहरुमाथि हिंसा हुने गरेकामा चिन्ता व्यक्त गरिन् । नीतिगत रुपमा निर्णायक स्थानमा पुग्न महिला समुदायलाई कठिन रहेको अहिलेको अवस्थामा नारीका ब्यथा, पीडालाई तीजका गीतमार्फत बाहिर ल्याउने गरिएको बताइन् ।

सङ्गीतकार सन्तोष श्रेष्ठले उक्त गीतमा चयन गरिएका शब्द गाउँले जनजीवनमा प्रयोग हुने भएकाले राम्रो रहेको बतउँदै त्यसमा भरिएको सङ्गीत तथा छायाङ्कन हेर्दा गाउँ घरको झझल्को पाइने मौलिकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्